बेन्चमा बस्न पाउँदा दंग छन् दलित प्राविका विद्यार्थी
समाचार प्रभाव
-महिला खबर-
काठमाडौं । एक हातमा बोरा र एक हातमा किताब बोकेर हिँड्नुपर्ने अवस्था रहेको पर्साको बहुवन स्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी यतिबेला डेक्स, बेन्चमा बसेर पढ्न पाउदा दंग परेका छन् ।
वि.स २०६३ सालमा स्थापना भएको उक्त विद्यालय १२ वर्ष वितिसक्दा समेत भौतिक पूर्वाधारबिना नै सञ्चालन हुँदै आएको थियो ।
विद्यालयको समस्या विषयमा महिला खबर लगायत विभिन्न सामाजिक सञ्जालमा समाचार प्रकाशन भएपछि आर्थिक सहयोग जुट्न थालेको थियो । विद्यालयलाई सहयोगका लागि विभिन्न दलित अभियन्ताहरु रोजन भुषाल, कमला हेमचुरी, आशिष परियार लगायत समेत एक जुट भएर लागि परेका थिए ।
विभिन्न दाताहरुबाट संकलित २ लाख ६४ हजार ६ सय रुपैँयाबाट विद्यालयमा ५४ वटा डेक्स र बेन्च हस्तान्तरण गरिएको छ ।
विद्यालयका शिक्षक मनोज रामले चिसो भँइमै बस्दै आएका विद्यार्थी डेक्स, बेन्च पाएसगैँ खुसी भएको बताउनुभयो । विद्यालयमा भौतिक पूर्वाधारको व्यवस्था भएसगैँ पठन पाठनमा समेत सुधार हुने उहाँको विश्वास छ ।
विद्यालयका प्रअ जादु शाह तेलीले सहयोगको अन्य रकमबाट विद्यालयको भौतिक पूर्वाधारमा खर्च गरिने भन्दै सहयाेगप्रति धन्यवाद दिनुभएको थियो ।
विद्यालयको समस्या बारेमा महिला खबरमा समाचार प्रकाशन भएसगैँ न्युज ट्वान्टी फोरको जनतासँग सिधा कुरामा प्रसारण भएको थियो । समाचारको प्रभावका कारण अमेरिकाबाट समेत ३ लाख रुपैँया सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।
यो पनि हेर्नुहोस्
Comment Here!