-अप्रिल अधिकारी-
रामेछाप । सुनापति गाउँपालिका ३, की गौरीमाया नेपाली ९८ वर्ष पुग्नुभयो । अहिलेसम्म नेपाली नागरिकताको बनाउन नसक्दा उहाँ राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनुहुन्थ्यो ।
बृद्ध अवस्थामा हातमुख जोर्न अर्काको घरमा काम गरेर बनिबुतो गर्दै आएकी गौरीमायाले मंगलबार नेपाली नागरिकता पाउनुभएको छ । नागरिकता परिचय पत्र हातमा परेपछि उहाँको मुहारमा खुसी छाएको थियो । उमेर पुगेर पनि नागरिकता नहुँदा पाउन नसकेको बृद्धभत्ता अब बाँचुन्जेल पाउँछु भन्ने एउटै खुशी उहाँमा पलाएको हो ।
जिल्ला सदरमुकामबाट नागरिकताको घुम्ती शिविर गाउँमा नै आउने खबर सुनेर छोरीका साथमा शिविरमा पुग्नु भएकी गौरीमाया प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले नागरिकता प्रदान गुर्न भएको थियो ।
बृद्धालाई नागरिकता दिएसँगै प्रमुख जिल्ला अधिकारीले बाटो खर्च स्वरुप एक हजार रुपैयाँ समेत दिएर सम्मानका साथ शिबिरबाट बिदाई गर्नुभयो । उहाँको श्रीमानको मृत्यु धेरै अघि भएको हो ।
श्रीमानको मृत्यु पश्चात गौरीमाया अर्काको घरमा काम गर्दैै गुजारा चलाउदै आउनुभएको छ । उहाँको सन्तानको नाम एक मात्र छोरी हुनुहुन्छ । छोरीको पनि विवाह भइसकेको छ । एक्लो बनेपछि उनी जहाँ काम ग¥यो त्यही खाने र बस्ने गर्दै आउनुभएको थियो । आमाको अवस्था कमजोर भएपछि छोरी मंगलमाया दर्जीले आफ्नै घरमा ल्याइ राख्नुभएको छ ।
छोरी मंगलमायाले आफ्नै सनाखतमा आमालाई नागरिकता दिलाउनुभएको हो । विवाहित छोरी बाहेक उहाँको अरु कोही नभएको अवस्थामा व्यवहारिकतालाई ध्यान दिएर उसको नागरिकता पाउने अधिकारलाई सुरक्षित गरि दिएको प्रमुख जिल्ला सुर्य बहादुर खत्रीले जानकारी दिनु भयो ।
Comment Here!