पूर्व सभासद इन्द्रमायाको जीवन संघर्ष


स्नातकोत्तर गरेकी इन्द्रमाया हातखुट्टा टेकेरै स्कूल जान्थिन् ।

प्रकाशित मिति :2017-08-18 15:57:07

–महिला खबर संवाद–

सुलिकोड गाउँपालिका–७ गोरखामा जन्मनुभएकी इन्द्रमाया गुरुङ शारीरिक रुपमा दुर्वल भएपनि निरन्तरको संघर्ष, मेहनत, लगाव र आत्मविश्वासले छुटै परिचय दिन सफल हुनुभएको छ । समयको फन्कोसंगै उहाँको परिचयमा थुप्रै विशेषण जोडिएका छन् । उहाँ पूर्व सभासद् तथा राष्ट्रिय आदिवासी जनजाती अपांग महिला संघकी महासचिवका साथै अखिल नेपाल क्रान्तिकारी अपांग संघको महासचिवको पनि हुनुहुन्छ । जन्मेको दुई वर्षमै अपाङ्गता हुनुभएकी इन्द्रमायाले यस अवस्थामा आइपुग्न थुप्रै संघर्ष र चुनौतिको सामाना गर्नुप¥यो । उहाँको जीवन संघर्ष बारे महिला खबरका लागि खेमा बस्नेतले गर्नुभएको कुराकानी :

दुई वर्षको छँदादेखि अपाङ्गता भए !

आमाले भने अनुसार, म जन्मँदा राम्रै थिएँ । दुई वर्षको हुँदा ज्वरो आएको थियो रे । त्यसपछि मेरा दुवै खुट्टा नचल्ने भए । खुट्टा चल्न छाडेपछि धाँमीझाक्री लगाउनुभएछ तर सन्चो भएन । अहिले ह्विलचियरमा हिँड्छु । गाउँमा हुँदा त सपनाकै कुरा थियो ।

स्कुल जाँदा हेर्नेको भीड लाग्थ्यो

म अपांग भएपनि आमाबुबाले मलाई स्कुल पठाउनुभयो । मैले पनि पढाईलाई निरन्तरता दिए । एसएलसीसम्मको पढाई स्थानीय सूर्यज्योती माध्यमिक विद्यालय ताकुमा गरे । स्कूल घरदेखि एक घण्टा उकालो जानुपथ्र्यो । बाटोमा म हात र खुट्टा टेकेर जान्थें । दिनहूँ दुई घण्टा उकालो ओरालो गर्दा हात र खुट्टा लछारिएर घाउ नै घाउ हुन्थें । कहिले काहीँ त बाटोमा लड्थें पनि । यति समस्या हुँदा पनि मैले पढाई छोडिन । मेरो अवस्था देखेर मलाई हेर्नेको बाटोभरी भीड लाग्थ्यो ।

साँझ मात्र पिसाब फेर्नु पर्ने बाध्यता

अहिले त विद्यालय, बाटो, शौचालय अपांगतामैत्री छैन भने त्यतिबेला हुने कुरै भएन । त्यसैले म विद्यालय जानु अघि सधैँ पिसाब गरेर मात्रै निस्कन्थें । अनि घर फर्किर मात्र पिसाब फेर्नुपर्ने बाध्यता थियो । पिसाब लागेपनि च्यापेरै बस्थे । पिसाब आउँछ भनेर पानी नै खादिनथें । यसैको असरले अहिले पत्थरी, पिसाब पोल्ने जस्ता स्वास्थ्य समस्या देखा परेको छ ।

खेल्ने र मेला जाने सपना मात्र

स्कुलमा साथीहरु खेलेको देख्दा एकदमै हौसिन्थें । तर, खुट्टै नहुँदा कसरी खेल्ने ? आफै चित्त बुझाउँथें । गाउँघरमा विभिन्न चार्डपर्वमा मेला लाग्थ्यो । हेर्न वा घुम्न जाने रहर सबै सपनामै सीमित हुन पुग्थ्यो ।

हातखुट्टा टेकेरै एसएलसीसम्म पढेँ

मलाई सधैँ पढेर केही गर्नुपर्छ भन्ने भावना आउथ्यों । तर छरछिमेक र आफन्तको कुरा  सुनेर केही गर्न सक्दैन की जस्तो पनि लाग्थ्यों । उनीहरु मलाई अपांगले के नै गर्ला र पढेर भन्थें । तर मैले हिक्मत हारिन । हातखुट्टाले टेकेरै एसएलसी पास गरे । त्यसपछि मैया प्रावि ग्याजी पढाउन थाले‌ । पढाइ छाडेको आठ वर्षपछि फेरी पढ्ने रहर जाग्यो । काठमाडौं आएर आरआर क्याम्पसमा भर्ना भएँ । सोही क्याम्पसबाट मैले राजनीतिशात्रमा मास्टर गरेँ ।

आमाबाबुको पाप फल म

समाज र आफन्तले मलाई मेरा आमाबुबाले पाप गरेकोले अपांग भएको भन्थें । मलाई प्रत्यक्ष नै भन्थे ‘तिमी तिम्रो आमाबाबुको पापको फल हौं ।’  त्यसबेला आमाबुबा र मैले प्रतिकार गर्न सक्दैनथ्यौ ।

जनवादी विवाह भयो

मलाई मेरो बिहे हुन्छ वा गर्छु भन्ने सोचेको पनि थिइन । मैले अपांगता भएका पुरुषले मात्र विवाह गरेको देखेको थिएँ । अपांगता भएका महिलालाई कसले बिहे गर्ला र भन्ने लाग्थ्यो । तर, नसोचेकै भयो । एक सबलाङ्ग व्यक्तिले मलाई बिहे गर्छु भन्नुभयो । सुरुमा विश्वास लागेन । तर, पछि उहाँसंग २०६५ सालमा जनवादी विवाह भयो । अहिले हाम्रो पाँच वर्षको छोरा छ । मलाई बच्चा नजन्माउन धेरैको दबाब आएको थियो । समाजमा अपांगता भएको व्यक्तिले जन्माएको सन्तान पनि अपांग र रोगी हुन्छ भन्ने मान्यता छ । तर, हाम्रो बच्चा अहिलेसम्म राम्रो छ ।

राजनीतिक यात्रा

२०५२ सालदेखि म राजनीतिमा चासो देखाउन थाले । मैया प्रावि ग्याजी पढाउदा त्यहाँ धेरैजसो कम्युनिष्ट विचारधाराका थिएँ । शिक्षकदेखि साथीहरु, आफन्तहरु पनि माओवादीमा लाग्नुभएको थियो । मलाई पनि पार्टीमा आउन र सहभागी हुन भन्थे । मेरो शारीरिक समस्याले पार्टीका कुनै क्रियाकलापमा सहभागी हुन सकीन । तर, जब म काठमाडौं आए त्यसपछि (२०६३ साल) माओवादीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी अपांग संघको स्थापना भयो । संघले अपांगता भएका व्यक्तिलाई पनि राजनीतिक अधिकार चाहिन्छ भनेपछि पार्टीले समानुपातिक सहभागिताको आधारमा मलाई सभाासद हुने अवसर दियोे ।

तर, दुरर्भाग्य २० बर्षपछि भएको एेतिहासिक स्थानीय तह निर्वाचनमा अपांगता भएकाहरुले स्थान पाएनन् । ५० प्रतिशत महिला सहभागिता त भनियो तर, अपांगता भएका महिला पनि समावेश गर्नुपर्ने व्यवस्था भएन । ऐनमा दलित वा अल्पसंख्यक भन्यो । त्यसमा पनि के मा उम्मेदवारी दिने प्रष्ट भएन । अब प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्वको माग गर्दै संशोधन हालेका छौं ।

बहु–अपांगता भएका महिलाहरु बढी समस्यामा

अपांगता भएका व्यक्ति सबैको समस्या छन् । त्यसमा पनि बुहअपांगता भएका महिलाहरु झन् बढी नै समस्यामा छन् । उनीहरु महिनावारी हुँदा आफ्नो समस्या भन्न नसक्ने, आफैलाई स्याहार गर्न नसक्ने, बलाकृत हुने, घरमै बाँधेर राखिने र पाठेघर नै अप्रेसन गरी फाल्दिने जस्ता समस्याहरुबाट पीडित भइरहेका छन् । उनीहरुलाई यौन तथा प्रजनन् अधिकारबाट बञ्चित गरिदै आएको छ ।

अपांगता भएका व्यक्तिलाई आत्मबल आवश्यक

अपांगता भएका व्यक्ति घरभित्र बाँधिएर राखिएका छन् । उनीहरुलाई हक अधिकारबाट बञ्चित गरिएको छ । यस खाले समस्या भोगिरहेका व्यक्तिलाई समाजमा सहज रुपमा धुलमिल दिन आवश्यक छ । उनीहरुलाई हौसला प्रदान गर्र्न, आत्मबल बढाउन र विभिन्न अवसरहरु प्रदान गर्न र समग्रमा उनीहरुको अधिकार सुनिश्चित गर्न समाजले सकारात्मक भूमिका खेल्न आवश्यक छ । जसले गर्दा अपांगता भएका व्यक्ति आत्मनिर्भर हुन सक्छन् । उसले समाज र राष्ट्रका लागि पनि ठूलो योगदान दिन सक्छन् ।

विधेयकले अधिकार सुनिश्चित गरेको छ

अपांगता भएका व्यक्ति सम्बन्धि बनेको विधेयक भर्खरै संसदले पारित गरेको छ । विधेयकले अपांगता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य जस्ता अधिकार सुरक्षित गरेको छ । उनीहरुबाट जन्मने बच्चाहरुको शिक्षा र बच्चा हुर्काउने व्यक्तिलाई भत्ताको व्यवस्था, अपांगता भएका महिलालाई छोरा सरह सम्पतीमा समान हक हुने र अपांगता भएका महिलाको प्रजनन अधिकार समेत सुनिश्चित गरेको छ । बहुअपांगता भएका व्यक्तिको पाठेघर फाल्न नपाउने व्यवस्था, महिला अपांगता भएकै कारण पुरुषले दोस्रो विवाह गर्ने नपाउने व्यवस्था स्पष्ट गरेको छ । साथै राजनीतिक क्षेत्रमा पाँच प्रतिशत अपांगता भएका व्यक्ति समावेश गर्नुपर्ने व्यवस्था पनि रहेको छ । यो सुशीको विषय हो ।

अधिकारको ग्यारेन्टी राज्यबाटै हुनुपर्छ

अपांगता भएका धेरै महिलाहरुलाई घरमै बाँधेर राख्ने र घर बाहिर निस्कन दिने गरेको छैन । समाज र घरपरिवारले उनीहरुलाई बोझका रुपमा लिने गरेका छन् । तर, राज्यले नै अपांगता भएका व्यक्तिका अधिकार ग्यारेण्टी गरेमा उनीहरु समाज र घरपरिवारका लागि बोझ हुँदैनन् । उनीहरुलाई रोजगारको अवसर दिए, अरुमा निर्भर भएर बस्नुपर्ने बाध्यताको अन्त्य हुन्छ । बौद्धिक अपांगता भएका महिलाका लागि छुट्टै पुर्नस्थापना गृहको स्थापना र राज्यबाटै हेरचाहको व्यवस्था हुनुपर्दछ । समग्रमा भन्नुपर्दा, अपांगता भएका व्यक्तिहरुका लागि शिक्षा, रोजगार, पुर्नस्थापना गृह, राजनीतिक अधिकारजस्ता कुराहरुको ग्यारेण्टी राज्यले नै गर्नुपर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: