–
दोलखा । दोलखा गैरीमुदीकी ३० वर्षीया एक महिलाले ११ वर्षअघि प्रेमविवाह गरिन् । विवाह गरेको तीन महिनामा गर्भवती भएकी ती महिलालाई उनका पतिले हतारमा सन्तान जन्माउन नहुने र आम्दानीको स्रोत केही नभएको भन्दै गर्भपतन गर्न दबाब दिए । ‘मैले गर्भपतन गर्न मानेकी थिइनँ,’ उनले भनिन्, ‘गर्भपतन नभए कोठा छोडेर जाने धम्की दिए, गर्भपतन गर्न बाध्य भएँ ।
मुस्लिम समुदायका ती युवक बैदेसिक रोजगारका लागि मलेसिया हानिए । ‘कमाई राम्रै थियो, बेलाबेलामा घर खर्च पठाइरहेकै थियो,’ उनले भनिन्, ‘तीन वर्षमा फर्किए, माया पनि गरेजस्तो गर्ने तर यातना दिने गर्न थाल्यो ।’ कोठाबाट बाहिर निस्किन नदिने, कोहीसँग बोल्यो कि शंका गर्ने, रक्सी खाएर कुट्ने गर्न थालेको उनी बताउँछिन् । यही सिलसिला चलिनै रहयो । धर्म,जात नमिलेको भन्दै माइती पक्षकाले पनि छोरीलाई मात्र बोलायो । तर, ज्वाइँलाई भने ससुरालीमा भित्र्याएनन् ।
उनका पतिले पनि कहिल्यै घर लाने कुरै गरेनन् । ‘सुरुदेखि नै घर जाऊँ, विवाह दर्ता गरौं भन्दा पछिपछि भन्दै टारी नै रह्यो,’ उनले भनिन्, ‘११ वर्षमा एकपल्ट घर गएँ, फर्किएपछि कहिल्यै लान्छु भनेन । नागरिकता पनि माइतीपट्टिबाटै बनाएँ, बुबाले विवाह भएको छोरीलाई माइती पट्टिबाट नागरिकता नदिने भन्नुभएको थियो मैले मानिन्,’ उनले भनिन् ।
गत वर्ष उनका पतिले उनलाई कोठामा छोडेर हिँडे । विवाह गरेको ११ वर्षमा एकपल्ट घर पुगेकी ती महिलाले पतिको दबाबमा चारपल्ट भ्रूण हत्या गर्न बाध्य भइन् । दिनहुँ यातना दिँदा पनि आम्दानीको स्रोत केही नभएको, उनीप्रति आश्रित हुनुपर्ने र समाजको डरले प्रहरीमा उजुरी गर्न नसकेको उनले बताइन् । हाल उनी घरेलु कामदारका रूपमा कार्यरत छिन् । माइती पक्षको कसैलाई पनि पतिले छोडेर गएको कुरा भन्न सकेकी छैनन् । ‘विदेश जानुभएको छ भन्दै टारेकी छु,’ उनले भनिन् ।
त्यस्तै, सूर्यविनायक नगरपालिका ५, कटुन्जेकी २३ वर्षीया एक महिलाले ६ वर्षअघि अन्तरजातीय प्रेमविवाह गरिन् । उनको साथमा ५ वर्षीया छोरी छन् । मामा घरमा बसेर ११ कक्षामा पढ्दै गरेकी किशोरी मायाजालमा परिन् । मायाले जातभात हेरेन । जातको विषयले उनका पति पक्षमा ठूलै द्वन्द्व भयो । डेढ वर्षसम्म त पतिले साथ दिए । तर, दिन दोब्बर रात चौबर गर्दै सासू, ससुरालगायत घरपरिवारले कुटपिट र गालीगलौज गर्दै गए । केहीसीप नलागेपछि पतिलाई फकाइफुल्याई डेरामा बस्न थालें ।
बालिका छोरीलाई लिएर कोठा बस्न थालेका ती दम्पतीलाई दैनिक गुजारा चलाउन मुस्किल पर्यो । आल्मुनियमको काम गर्ने पति एक्कासि बदलिए । बिहानदेखि रक्सी खाने, काममा नजाने, राति आएर कुटपिट, गालीगलौज गर्न थाले । परिवारमा मिल्न नसकेको आरोप लगाउनुका साथै कोठा भाडा नदिने, खानै नदिने गर्न थाल्यो । ‘सानी छोरीलाई समेत झम्टिएर आउँछ,’ उनले गुनासो गरिन्, ‘छोरीलाई बचाउन खोज्दा मरुञ्जेल कुट्छ ।’ अन्तर्जातीय विवाह गरेको भनेर माइती पक्षले पनि वास्ता नगरेको उनले गुनासो गरिन् ।
कोठा भाडा नतिर्ने, खानेकुरा किनेर नल्याउने भएपछि उनी आफैं सिलाइकटाइ सिक्न जान थालिन् । सिलाइकटाइको कमाइले छोरीलाई शिशुकक्षामा भर्ना गरिन् । तर, उनका पतिले उनलाई कुट्न भने छोडेनन् । साढे तीन वर्षदेखि उनी पतिको यातना भोग्न बाध्य छिन् । टाउको फुट्ने गरी कुटेपछि प्रहरीमा उजुरी गरिन् । ‘प्रहरी चौकीमा लाँदासम्म कुट्दिन भनेर कबोल गर्छ,’ उनले दुखेसो पोखिन्, ‘घर छिरेपछि उही पारा, पाँच महिनादेखि कोठा भाडा तिरेको छैन । घरबेटीले कोठा छोडेर जा भन्दै झगडा गर्छ, छोरीका लागि पनि जिउनु छ,’ उनले भनिन् । ‘पुन: उजुरी गरिस् भने जिउँदो नरहने धम्की दिन्छ,’ उनको गुनासो छ । बालिका छोरीका लागि पनि यातना सहन बाध्य भएको उनले बताइन् ।
कोठा भाडा तिर्ने कुरा गर्यो कि थप यातना दिने उनी बताउँछिन् । ‘कोठा भाडा तिर्नुपर्छ भनेर नानीको बुबा कोठा छाडेर हिँडेको तीन साता भयो,’ उनले भनिन्, ‘फर्केर आएन ।’ छोरीलाई स्कुल पुर्याउन जाँदा सासूससुराले छोरी खोस्न आएको समेत उनी बताउँछिन् । घरपरिवारका द्वन्द्वका कारण उनकी पाँच वर्षीया छोरीलाई मानसिक असर परेको छ ।
साभार : कान्तिपुर दैनिक
Comment Here!