चिसो भुइँमा सुत्केरी


पीडितलाई बासको चिन्ता

प्रकाशित मिति :2017-08-21 10:35:09

-लक्ष्मी साहनवीन पौडेल-

भाद्र ५, २०७४- पसाहा खोलाछेवैका दुई दलित बस्ती अहिले खण्डहरजस्तै छन् । बाढीले यहाँका सबैजसो कच्ची घर भताभुंग बनाइदियो । अहिले बाढी क्रमश: घट्दै छ तर स्थानीयको सकस झन् बढ्दो छ । खास गरी सुत्केरी र नवजात शिशुको बिजोग छ ।

बाराको कलैया नगरपालिका–१४ बघवनमा बाढीले ओसिएको छाप्रामा नवजात शिशुका साथ सुत्केरी ।

कलैया उपमहानगरपालिका–१४ का भौरा र बघवन बस्तीमा गरी ५० परिवार बस्छन् । बाढी पसेपछि उनीहरू ज्यान जोगाउन विद्यालयमा सरे । तर, त्यो पनि उपयुक्त आश्रय भएन । डोम, पासवान, धन्खार जातिको यो बस्तीमा सुँगुरपालन आयस्रोतको माध्यम थियो । तर, बाढीले सुँगुरसमेत बगाएपछि उनीहरू थप पीडामा छन् ।

ज्यालादारी काम र नाङ्लो बनाएर बेच्दा आउने पैसाले हातमुख जोर्ने उनीहरूसँग फुसको छाप्रोबाहेक केही छैन । दुई बस्तीमा गरी अहिले सात जना भर्खरका सुत्केरी छन् । थप तीन जना एक दुई दिनमै सुत्केरी हुने अवस्थाका छन् । तीन महिनायता बच्चा जन्माएकाको समेत हिसाब गर्दा यो संख्या ५ सय हाराहारी पुग्ने महिला तथा बालबालिका कार्यालयको अनुमान छ ।

सुत्केरीको हातखुट्टा, जीउ, अनुहार सुन्निएर पहेंलो भएको छ । शिशुलाई लगाइदिन कपडा छैन । सामान्य कपडाले बेरेर राखेका छन् । बाढीले खाद्यान्न, लत्ताकपडा सबै बगाइदियो । झुलसम्म छैन । जीउमा किराफट्याङ्ग्रा र लामखुट्टेले टोकेको डाबर देखिन्छ । सबैलाई घमौरा आएको छ । बस्तीका सबैजसो सुत्केरी यस्तै समस्याले पिरोलिएको कार्यालय प्रमुख अञ्जु ढुंगानाले बताइन् ।

बेहाल अवस्थामा रहेका सुत्केरीलाई तत्काल आवश्यक राहत उपलब्ध नगराइए उनीहरूमा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने उनको भनाइ छ । तर, सुत्केरी र पोषण क्षेत्रमा काम गर्ने निकाय, जनस्वास्थ्य कार्यालय र बहुक्षेत्रीय पोषण परियोजनाले नै राहतको पहल थालेका छैनन् । तिनका पदाधिकारी सुत्केरीलाई राहत सामग्री दिन आफूहरूसित बजेट नभएको बताउँछन् ।

 ‘तीन महिनाभित्रका झन्डै पाँच सय सुत्केरी रोगव्याधिको जोखिममा छन्,’ ढुंगानाले भनिन्, ‘उनीहरूलाई तत्काल राहत आवश्यक छ ।’ पोसिलो खानेकुरा चाहिने सुत्केरीहरू सुक्खा चिउरा, भात, बिस्कुट, चाउचाउले धानिएका छन् । हिलो अझै हटेको छैन । चिसै भुइँमा बसिरहेछन् उनीहरू । ‘नवजात शिशुलाई आमाको दूधबाहेक अरू खुवाउन मिल्दैन, तर आमाले पोसिलो खान नपाए दूध नै आउँदैन,’ ढुंगानाले भनिन्, ‘त्यसैले सबैको बिजोग छ ।’

पोषण परियोजनाले राहतमा खर्चने रकम नभएको जनाएको छ । युनिसेफको लगानी रहेको उक्त कार्यक्रमकी प्रमुख रीतिका दाहालले चेतनामूलक कार्यक्रमबाहेक राहत दिने बजेट नभएको बताइन् । जिल्ला जनस्वास्थ्य कार्यालयले पनि सुत्केरी र शिशुलाई राहत दिन असमर्थता जनाएको छ । ‘साधनस्रोत र बजेट छैन,’ जनस्वास्थ्य प्रमुख रोशनलाल चौधरीले भने, ‘महामारी नियन्त्रणको समेत बजेट छैन, सबै कटौती गरेर स्थानीय तहमा दिइएको छ ।’

बाढीले छाप्रोको बार भत्किसकेको छ । त्यसैमा बसिरहेकी छन् तीन दिनअघि सुत्केरी भएकी हिनादेवी धन्खर । हावा सोझै भित्र पसेर सुत्केरी र शिशुलाई असर पुर्‍याएको आमा सुदामाले गुनासो पोखिन् । ‘मुस्किलले त्रिपाल पाए पनि त्यसमा सबै अटाइँदैन, हावा छेक्नै अप्ठ्यारो छ,’ उनले भनिन्, ‘विद्यालयबाट पनि हटाइदिए ।’

२० दिनकी सुत्केरी किरणदेवी सहनी, एकमहिने सुत्केरी रमावती पासवान र अर्की रीता पासवानको पीडा पनि फरक छैन । यी तीनै महिला शिशुलाई काखमा राखेर चिसो भुइँमा सुतिरहेको वडा स्वयंसेविका सहदबानी खातुनले बताइन् । ‘राहतका नाममा सुक्खा खानेकुरा, चामल र एकएक थान त्रिपालबाहेक छैन,’ उनले भनिन्, ‘चिसोले शिशुलाई निमोनियाँ हुने त्रास छ ।’ विद्यालयमा पढाइ सञ्चालन भएपछि उनीहरू ओसिलो छाप्रोमै फर्कन बाध्य भएका हुन् । छाप्रोको बार मात्र भत्किएको होइन, पानी पर्दा छानासमेत चुहिन्छ । ‘कच्ची घरको बार भत्किसकेको छ,’ खातुनले भनिन्, ‘भगवान् भरोसामा त्यस्तैमा बसिरहेका छन् ।’

‘खाद्यान्नभन्दा जस्तापाता देऊ’

साताअघिको बाढीले नवलपरासीका तटीय क्षेत्रका बस्ती डुबानमा परे । पीडितहरू विद्यालय वा सार्वजनिक स्थानमा केही दिन बसे । पानीको सतह घटेसँगै अहिले आआफ्ना घर फर्कंदै छन् । पानी पसेका घर टालटुल पार्दै छन् ।

कोही ढलेका घरका खाँबा ठड्याउने तयारीमा छन् । मध्यबिन्दु–२ सेहरीकी ५० वर्षीया केशरी महतोलाई घर कसरी बनाउने भन्ने चिन्ता छ । एकल महिला उनी मेलापातबाटै छोराछोरी र आफ्नो दैनिकी चलाउँदै आएकी छन् । जसोतसो खानेकुरा जोहो भए पनि रात काट्न समस्या छ । ‘भएको एउटा घर पनि बगायो, बालबच्चासहित कतिन्जेल अरूकामा बस्ने ?,’ उनले भनिन्, ‘ढलेका खाँबा उठाएर टहरो भए पनि बनाउन लागेकी छु ।’

जिल्लाका बाढीपीडित अहिले आफ्नै पहलमा घर मर्मतमा जुटेका छन् । घर पूर्ण क्षति भएका परिवार भने पनि पालमुनि रात कटाइरहेका छन् । मनकारीहरू राहत लिएर दिनहुँजसो बस्ती पुग्छन् । केही समयलाई पुग्ने चामल, चिउरा र चाउचाउ जम्मा भइसकेको छ । तर, पीडितलाई सबैले खानेकुरा ल्याउनुभन्दा कसैले जस्तापाता ल्याइदिए हुन्थ्यो भन्ने लागेको छ । ओत पाए झरीमा रात बिताउन सजिलो हुने प्रतापपुर गाउँपालिका–६ का फौजदार मुसहर बताउँछन् ।

‘राहतका नाममा घण्टौं लाइनमा राखेर भाषण गरेपछि ३ किलो चामल र चिउरा दिएर जान्छन्,’ उनले भने, ‘तर, हाम्रो अन्नपात मात्र बगेको होइन, घर पनि त ढलेको छ । बिहान–बेलुका छाक टार्न धौ–धौ पर्नेले घर कसरी बनाउनु ?’ सरकारले घर बनाउन जस्तापाता र केही काठ उपलब्ध गराए खानेकुरा मजदुरीबाटै भए पनि जोहो गर्न सकिने उनीहरूको बुझाइ छ ।

बाढीले जिल्लामा ६ सयभन्दा बढी घर पूर्ण क्षतिग्रस्त छन् । ३० हजार परिवार प्रभावित छन् । झन्डै ६ हजार परिवार विस्थापित भएको प्रजिअ उदयबहादुर रानाले बताए । ‘तत्काललाई ३ किलो चिउरा, पानी शुद्धीकरण गर्ने औषधि, चाउचाउलगायत सामग्री बाँडिएको छ,’ उनले भने, ‘अब केही दिनमा स्थानीय निकायको सिफारिसका आधारमा थप राहत प्रदान गरिनेछ ।’ बाढीले जिल्लाका मध्यबिन्दु, कावासोती नगरपालिका र दक्षिणी भेकका सरावल, प्रतापपुर, सुस्ता र पाल्हीनन्दन गाउँपालिकाका तटीय क्षेत्रमा बढी असर गरेको छ ।

साभार : कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: