विपद्को असर महिलामा दोब्बर


प्रकाशित मिति :2017-08-22 10:46:13

-करुणा पराजुली-

भाद्र ६, २०७४- प्राकृतिक प्रकोपले कसैलाई विभेद गर्दैन । गरिब, धनी, महिला, पुरुष, देशी, विदेशी कोही भन्दैन । तर फरक ‘असरको मात्रा’ नै हो । यो फरक हाम्रो सामाजिक संरचना र आर्थिक अवस्थाले नै गर्ने गर्छ । २०७२ का भूकम्प पीडित अहिले पनि राहतको प्रतीक्षामा छन् । र ती अधिकांश गरिब नै छन् । अलि हुनेखानेले त तुरुन्तै टहरा बनाए । आफ्नै खर्च र पहुँचका आधारमा केही राहत लिई नयाँ घर नै पनि बनाए । तर गरिब भने विभिन्न सहयोग कुरिरहेकै छन्, अप्ठ्यारोमा नै छन् ।

आर्थिक हैसियतको यो पाटोसँंगै मात्रात्मक रूपमा प्रकोपको बढी सास्ती व्यहोर्ने महिला पनि हुन् । सामाजिक विभेद र पितृसत्तात्मक संरचनाका अप्ठ्याराले महिलामा प्राकृतिक प्रकोपको जोखिम बढी हुन्छ । यो त्यसै भनिएको होइन । विभिन्न भूभाग र कालखण्डका प्रकोप सम्बन्धी तथ्यले चाहे विपद्कै बेला होस् वा त्यसपछिको अवस्था, पुरुषको दाँजोमा महिला नै बढी जोखिममा रहेको देखाउँछ ।

सन् २००७ मा लन्डन स्कुल अफ इकोनोमिक्सले १९८१– २००२ सम्म विश्वका १४१ देशले भोगेका बिभिन्न प्राकृतिक प्रकोप र त्यस पश्चातको असर अध्ययन गर्‍यो । त्यसले महिलाको निम्न सामाजिक एवं आर्थिक अवस्थाका कारण विपद्मा पुरुषभन्दा महिलाको ज्यान धेरै जाने तथ्य सार्वजनिक गरेको थियो ।

यसैगरी दक्षिण एसियाली समाजमा प्रकोपको उद्धारमा पनि छोरीले भन्दा छोराले प्राथमिकता पाएका तथ्य सार्वजनिक भएका छन् । सन् १९९१ मा बंगलादेशको आँधीमा आफ्ना दुई छोराछोरी एकैपटक बोकेर भाग्न नसक्दा, एक बाबुले छोरीलाई छोडी, छोरा च्यापेर हिँडेको कुरा बाहिर आयो । ती बाबुले छोराले वंश धान्ने भएकाले उसलाई च्याप्न बाध्य भएको बताए ।

त्यहाँ आँधीको पूर्व सूचना र सचेतना पनि पुरुषले नै बढी पाएका थिए । किनकि यस्ता सूचना घर–घरमा भन्दा पनि सार्वजनिक स्थानमा दिइएको थियो । यसले गर्दा अधिकांश समय घरधन्दामै बिताउने बाध्यताका कारण महिलाहरू सूचनाबाट बञ्चित भए । परिणामत: पुरुषको तुलनामा ५ गुणा बढी महिलाले ज्यान गुमाए । सन् १९९३ को महाराष्ट्र र २००१ को गुजरात भूकम्पमा १०,००० र २०,००० मानिसले ज्यान गुमाए । ज्यान गुमाउनेहरूमा महिला नै धेरै थिए । किनकि भूकम्पका बेला प्राय: पुरुष खुल्ला ठाउँमा थिए भने महिलाहरू घरभित्र ।

त्यस्तै सन् २००५ को सुनामीले १२ वटा देशका करिब दुई लाख बीस हजार मानिसको ज्यान लिएको तथ्याङ्क छ । यसबेला सबै देशमा ज्यान गुमाउने महिलाहरूको वरिपरिको परिस्थिति र ज्यान गुमाउने कारण भने एकैनासको थियो । इन्डोनेसियाको एइच गाउँमा असी प्रतिशत महिलाले ज्यान गुमाए । त्यस्तै भारतको कुडालोरको एक गाउँ १४६ पुरुष र ३९१ महिलाले ज्यान गुमाए । अधिकांश महिलाले पौडी खेल्न र रुख चढ्न नजानेको कारण ज्यान गुमाएका थिए ।

दक्षिण एसियाली देशमा महिलाले प्रयोग गर्ने पहिरन जस्तै– सारी, धोती, लेहेंगा आदिले गर्दा पनि उनीहरूलाई विपद्को बेला भाग्न, पौडिन र अन्य उपाय लगाई बच्न धेरै गाह्रो भयो, छ । यसैगरी २०७२ सालको भूकम्पमा ८,९४२ को मृत्यु भएकामध्ये ५५ प्रतिशत महिला नै थिए । शनिबारको दिन घरमा परिवारसंँगै बसेको बेला गाउँका धेरै महिलाले ज्यान गुमाए । यसरी पितृसत्तात्मक सामाजिक मूल्य–मान्यता, अनुत्पादक घरधन्दामा सीमित हुनुपर्ने बाध्यताले सही सूचना र ज्ञानको अभाव साथै महिलाका पहिरन र आत्मविश्वासको कमीजस्ता कारणले प्रकोपका बेला महिलालाई बढी जोखिम छ ।

प्राकृतिक प्रकोपले महिलामा दोहोरो प्रकोपको स्थिति निम्त्याउँछ । अस्थायी शिविरमा बस्दा होस् वा समूहमा बस्दा वा विपद्पश्चात आउने आर्थिक विचलनका कारण महिलाहरू हिंसाको सिकार बनेका छन् । निकारागुवामा १९९९ को मित्च आँधीपश्चात गरिएको सामाजिक लेखाजोखामा महिलाहरूले आफ्ना श्रीमानबाट पहिलेको सामान्य अवस्थाभन्दा आँधीपश्चात धेरै शारीरिक हिंसा खेपेको खुलाएका थिए । त्यस्तै २०१० मा हैटीमा गएको भूकम्पपश्चात पीडित शिविरमा बस्ने महिलाहरूमाथि विभेद र हिंसाको मात्रा बढ्यो । महिला–पुरुष एउटै शौचालय जानुपर्दा, धारामा पानी थाप्न जानुपर्दा कति महिला यौनजन्य हिंसाको सिकार भए । आर्थिक अभाव र बेरोजगारीका कारण पेट पाल्न यौन व्यवसाय गर्न बाध्य बनाइए । यसका कारण पोर्ट–ए–प्रिन्समा यौनधन्दामा लाग्ने महिलाको संख्यामा बढोत्तरी भयो ।

नेपालमा भूकम्पपछिको तीन महिनामा अन्तरपार्टी महिला सञ्जालले भूकम्प प्रभावित पन्ध्र जिल्लामा गरेको अध्ययनबाट काठमाडौंमा ९ र भक्तपुरमा ७ महिला बलात्कृत भएका थिए र यसमध्ये धेरै आफ्नै घरपरिवारका सदस्यबाट पीडित हुनुपरेको थियो । काभ्रेको एक अस्थायी भूकम्प शिविरमा त पुरुषले रक्सी खाई होल्हाला गरी महिलामाथि हिंसा गरेको घटना सार्वजनिक पनि भयो ।

दोलखा, सिन्धुपाल्चोक र नुवाकोटका केही गाउँमा राहत र सहयोग दिने नाममा महिला बेचबिखन गर्ने दलालहरू अस्थायी शिविरमा छिरेको घटना ताजा नै छ । यस्ता प्रकोप गर्भवती महिलाका लागि अझ पीडा लिएर आउने गर्छन् । नेपालमा २०७२ कोभूकम्पपश्चात धेरै गर्भवतीले पौष्टिक आहारको अभावमा भोकभोकै र कतै–कतै बिस्कुट, चाउचाउ र पानीमा दिनरात काटे । गाउँका धेरै सुत्केरी केन्द्र ‘बर्थिङ सेन्टर’ भत्किँदा सुत्केरी महिलाले कष्टकर जीवन बिताए, कतिले ज्यान गुमाए ।

अहिले फेरि हामीले साउनको अन्तिममा आएको भारी वर्षासँंगै गएको पहिरो र बाढीको प्रकोप खेपिरहेका छौं । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार यस बाढी–पहिरोले देशभर १०५ को मृत्यु भएको छ भने १३५०५ परिवार प्रभावित भएका छन् । यसमा पनि प्रताडित हुनेहरूमध्ये महिलाको संख्या बढी छ ।

अहिले धेरै अस्थायी शिविरमा छन् । विशेष अवस्थामा रहेका वृद्ध, गर्भवती, सुत्केरी महिला, बालबालिकालाई भिड भएको, चिसो, फोहोर र दूषित पानी र खानाले अरूलाई भन्दा छिट्टो असर गर्न सक्छ । १९९८ को बंगलादेशमा आएको बाढीपश्चात फोहोर अस्थायी शिविर, शौचालयको अभाव, महिनावारी सम्बन्धी गलत धारणा एवं स्यानिटरी प्याडको अभावले धेरै महिलामा युटीआई अर्थात् मूत्रनलीको इन्फेक्सन समस्या व्यापक मात्रामा देखियो । यसरी शिविरमा देखिने खराबीले पनि महिलालाई नै ज्यादा जोखिममा पारेको छ । बर्दिया र रौतहटमा पखालाका बिरामीको संख्या बढ्ने क्रममा रहेको समाचार आएको छ । तसर्थ अहिले बाढी–पहिरो प्रभावित क्षेत्रमा राहत तथा पुन:स्थापनाको कार्यक्रम लैजाँदै गर्दा महिलाका यस्ता जोखिमलाई उचित ध्यान दिन जरुरी छ ।

यसरी प्रकोपको बेला बाँच्न पाउने अधिकारदेखि स्वास्थ्य, सुरक्षा रोजगारजस्ता आधारभूत मौलिक हक प्रचलन गर्न पनि पुरुषका तुलनामा महिलाहरू ज्यादा जोखिममा हुन्छन् । त्यसैले राज्यले निर्माण गर्ने राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण रणनीतिमा लंैगिक संवेदनशीलता अवलम्बन गर्न जरुरी छ । यसका लागि सूचना प्रवाह, उद्धार कार्य, राहत वितरण, अस्थायी शिविरमा महिलाको सुरक्षा, पुन:स्थापना जस्ता विपद् व्यवस्थापनका हरेक चरणमा महिला सहभागितालाई जोड दिनुपर्छ । राहतमा चिउरा, दालमोट मात्र होइन, किशोरी र सुत्केरीलाई चाहिने स्यानिटरी प्याड लगायतका विशेष सामग्रीमा पनि ध्यान दिनुपर्छ ।

साभार : कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: