के महिला मेसिन हुन् ?


प्रकाशित मिति :2017-08-23 10:22:07

 –निरूपा प्रसून-

पोहोर हो क्यारे, सामाजिक सञ्जालमा चार पाँच जना नारी चुरोट हातमा लिएर अगाडि रक्सीका बोतल राखेर तास खेलिरहेको फोटो भाइरल भएको थियो । कतिका लागि त्यो तस्बिर मानौँ, अचम्मकै कुरा भएको थियो । कतिले त्यही तस्बिरका आधारमा अहिलेका नारीमा उच्छृंखलता बढ्दै गएको धारणा बनाएको पनि देखियो, पढियो ।

कतिपय पुरुषहरू हप्तैपिच्छे ‘गुडफ्राइडे’ मनाउँछन् र अनेक ब्रान्डका मदिरा पिउँदै गरेका फोटाहरू सामाजिक सञ्जालमा सगर्व सेयर गर्छन् । त्यसमा कसैले आपत्ति गरेको देखिँदैन । तर, त्यही काम एकदुई जना महिलाहरूले गर्दा चाहिँ आकाश खसेझैँ खल्बली मच्चिन्छ । गलत भए दुवै गलत, सही भए दुवै सही, हैन ? के रक्सीको लिंग हुन्छ ?

उसो त हामी २१ औँ शताब्दीका गीत गाउँछौँ । तर, हाम्रो सोच अझै पनि सोह्रौँ या सत्रौँ शताब्दीतिरै अल्मलिएको छ । कतिपयले परिवर्तनलाई स्वीकार्नुपर्छ भनेर भाषण त गर्छन् । तर, तिनीहरूकै व्यवहारमा पनि खासै परिवर्तन भने आएको छनक पाइन्न । सोच्न र सोध्न मन लाग्छ, के रमाइलो र आनन्द पुरुषहरूको मात्रै पेवा हो त ? तीज नजिकिँदै छ, भन्न थालिसके कुनै कुनै महाशयहरूले, ‘तीजको गीत आयो भने दिदीबहिनीको अगाडि हेर्न नहुने हुन्छ । कति छाडा भएको ? कति भड्किलो भएको ?’

अचम्म लाग्छ, कस्तो मानसिकतामा हुर्किंदै छाँैै हामी ? खासमा हामी चाहन्छौँ के ? के तीजमा सधैँ सासुले माइत जान नदिएको बेथामात्र बलिन्द्र धारा आँसु बगाउँदैै गाउनुपर्छ ? कुमार बस्नेतले ‘मन परेका तरुनीको पोइ मरेकै जाती’ भनेर कुनै सुन्दरी विधवा भए त्यसलाई मैले भोग गर्दो हुँ भन्ने खालको भाव व्यक्त गर्दा हाम्रो समाज ताली बजाएर खुसी हुन्छ अनि कोमल ओलीले ‘पोइल जान पाम’भन्दा महिला उच्छृंखलताको पराकाष्ठा देख्छ । उहिल्यै कुमारका पालामा कोमलले यसो गाएको भए झन् कसो हुँदो हो ? समाजको यो द्वैध चरित्र कहिलेसम्म ? गलत भए दुवै गीत गलत, सही भए दुवै सही, हैन ?

 नोकरी या उद्यमबाट फर्किएपछि पुरुष घर आएर मस्त आराम गर्ने अनि महिला चाहिँ लुगा फेर्नै नपाई भान्सा सम्हाल्न लागिहाल्नुपर्छ । के महिला मेसिन हुन् ? सोच्न र सोध्न मन लाग्छ, के रमाइलो र आनन्द पुरुषहरूको मात्रै पेवा हो ?

अहिले सासुको परिभाषा बदलिएको छ । अहिलेका सासु सबै शिक्षित नहोलान् । तर, अधिकांश समझदार भने भइसकेका छन् । बुहारीको सुखमा रमाउने प्रवृत्ति बढेकै छ । यो सकारात्मक कुरा पनि त हो । यस्तो माहौलमा, नारीले एक महिना अगाडिदेखि नै दुईचार दिन तीजको बहानामा रमाइलो गर्दा आकाशै नै त खसी नजाला नि । प्रत्येक रात सन्नी लियोन या टोरी ब्ल्याकका श्रव्यदृश्य नहेरी ननिदाउने पुरुषहरू बिहान भएपछि ज्योति मगरलाई भल्गर भई भनेर अनेक ट्रोल बनाएर उछित्तो काढिन्छ । गोरो छाला भएका वा अंग्रेजी बोल्ने नेपालीले जे गरे पनि प्रतिभा या फेसन हुने तर रैथाने मगर कसैले स्कर्ट लगायो भने त्यो चरित्रहीन ठहरिने ?

तीजका गीत हेरिसाध्य भएन भन्नेहरूसँग यो पंक्तिकारको प्रश्न छ, के आज पनि हामीले रुँदैरुँदै गाउनुपर्ने हो तीजको गीत ? खोलामा बाढी आएर माइत जान पाइनँ, मीठो खान पाइनँ, लोग्नेले जाँड खाएर पिट्यो, सासुको बुहार्तन खप्न गाह्रो भयो भन्दै सधैँ एउटै भाकामा वेदनाका गीत गाइरहनुपर्ने हो ? ओ महाशय ! ब्युँझनुस्, आज मीठो खान तीज नै आउनुपर्दैन न कि लोग्नेको दुव्र्यवहारविरुद्ध आवाज उठाउनलाई तीज नै पर्खिनुपर्छ । अचेल धेरै खोलामा पुल बनेका छन्, छेक्दैन साउने भेलले ।

महिलाहरू अब कामकाजी हुन थालेका छन् । सहरमा कामै नगरी बस्ने परिपाटी अन्त्य हुँदै छ भने गाउँघरमा पनि केही न केही उद्यम गरिरहेका भेटिन्छन् महिलाहरू । उनीहरू आर्थिकरूपले आत्मनिर्भर हुने प्रयत्न गरिरहेका छन् । हिसाबै निकाल्ने हो भने कामकाजी पुरुषभन्दा कामकाजी महिलाले बढ्ता श्रम गर्छन् । उनीहरू नोकरी या उद्यमबाट फर्किएपछि घरकै कामकाजमा पनि लाग्नुपर्छ । किनभने, अहिले नारी र पुरुष बराबरीकै नारा उछालिएपछि पनि कामबाट फर्किएको पुरुषमा घर आएर आराम गर्ने प्रवृत्ति नै बढी छ ।

महिलाहरू भने कामबाट फर्किनेबित्तिकै लुगा फेरेर भान्साभित्र पसिहाल्नु पर्छ । यस्तोमा महिलाहरूलाई कुनै न कुनै बेला रिफ्रेसमेन्ट त आवश्यक पनि पर्छ । त्यसैले तीजमा उनीहरूको सक्रियता या नाचगान दुःख बिर्सने बहाना होइन, थकाइ मेट्ने प्रक्रिया हो । थकाइ मेटेर उनीहरू खुसी हुन चाहन्छन् । त्यसैले अब तीजमा दुःखभन्दा सुख देखाउन चाहन्छन् उनीहरू । थोरै समय भए पनि हाँस–परिहासमा बिताउन चाहन्छन् । यो पनि महिला चेतनामा आएको परिवर्तन नै हो । र, परिवर्तन गीतहरूमा अभिव्यक्त त हुन्छ नै ।

समयसँगै हरेक चीज बदलिएको छ, तीज बदलिन नहुने ? दसैँ तिहारताका महिनौँ तास र दारुमा झुम्न हुने पुरुष तर महिला चाहिँ साता दिन पनि नाच्न रमाउने नहुने ? गलत भए दुवै गलत, सही भए दुवै सही ।

साभार : नागरिक दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: