मन्दिर परिसरमा पुजाको सामग्री बेचेर जीवन निर्वाह गर्ने धेरै महिला छन् । दैनिक गुजाराका हिसाबले यो व्यापार सहज भएपनि भक्तजनहरुको एउटै प्रश्न धेरै पटक सामना गर्नुपर्ने बाध्यता छ उनीहरुलाई । त्यो हो महिनावारी भए नभएको ।
खेमा बस्नेत
काठमाडौं । ललितपुरकी नानीमैया महर्जनले (५४) बंगलामुखी मन्दिर परिसरमा पूजाका सामाग्री बेच्न थालेको २० वर्ष भयो । उनीकहाँ पूजा सामाग्री किन्न आउने प्राय भक्तजनको एउटै प्रश्न हुन्छ । तपाई महिनावारी हुनुभएको त छैन ?
यो प्रश्नले उनलाई कहिलेकाही आफ्नै पेशाप्रति वितृष्णा जाग्छ । उत्तर नदिए गरीखाने आधार खोसिने, दिउँ त कति जनालाई एउटै कुरा दोहो¥याउनु । ‘भगवानलाई चढाउने फूल शुद्ध हुनुपर्छ । हामी महिला व्यापारी पनि धर्म भन्दा वाहिरका त छैनम् नि त्यसैले महिनावारी हुँदा फूल बेच्न आउँदैनौ,’ नानीमैयाले गुनासो पोखिन् ।
मन्दिर अगाडि फूलको व्यापार गर्ने अधिकाशं महिलाको पीडा यही हो । महिनावारी भएको छैन भन्ने उत्तर दिए मात्र भक्तजनहरुले फूल तथा पुजाका सामाग्री किन्ने गरेको फूल व्यापारी महिलाहरु बताउँछन् ।
मिना श्रेष्ठ (५०) पनि १० बर्षदेखि दियो बेच्दै आएकी छन् । उनको महिनाबारी रोकिसकेको छ । तर, उनलाई पनि सोही प्रश्न पटक–पटक सोधिन्छ ।
मिना र नानीमैया जस्तै धेरै महिलाको रोजीरोटीको पेशा हो फूल तथा पुजा सामग्रीको व्यापार । यसैबाट उनीहरुले घरखर्च र छोराछोरीको लालनपालन गर्दै आएका छन् । तर महिनाबारी बार्नुपर्ने बाध्यताले महिनामै सातादिन व्यापार रोकिदा समस्या हुने गरेको उनले बताइन् ।
विगत १५ वर्षदेखि पूजा सामाग्री व्यापार गर्दै आएका कृष्ण शाक्यले भने कहिल्यै यस्तो प्रश्नको सामना गर्नुपर्दैन । ‘पुरुषहरु सधैँ चोखो हुन्छन् भन्ने मान्यता छ । त्यही भएर पनि होला महिला दिदीबहिनीहरुलाई मात्र सधंै यस्तै प्रश्न सोधिन्छ,’ कृष्णले भने । चोखो मन र व्यवहार हुनुपर्ने उनको मान्यता छ ।
हिन्दु विद्यापीठका प्रधानाध्यापक भोलानाथ योगीले महिनावारी भएको बेलामा महिला अछुतो नहुने बताउँछन् । यस अवस्थामा छोएको फूल र अन्य पुजा सामाग्री अछुतो हुन्छ भन्ने सोच गलत भएको उनको भनाई छ ।
‘महिनावारी हुनु भनेको महिलाको मासिक प्रकृया हो । बरु त्यस समयमा महिलाहरु रगत बगेर कमजोर हुने हुँदा आरामको आवश्यकता पर्दछ । खानपिन र सरसफाइमा विषेश ख्याल राख्नुपर्दछ’ प्राधानाध्यापक योगीले भने ।
महिनावारीको समयमा छुनु हुँदैन भन्ने वैज्ञानिक मान्यता भने छैन । अधिकारकर्मी विना सिजवालले महिनावारी बार्न छाडेको २० वर्ष भैसकेको बताइन् । आफ्ना दुई छोरीहरुलाई समेत महिनावारी भएको समयमा धार्मिक कार्य गर्न बन्देज नगरेको उनी बताउँछिन् । ‘म आफू पनि छोरीहरुलाई पनि बार्न लगाउँदिन विनाले भनिन्– महिनावारी भएको समयमा फूल, पानी, धुप, दियो चड्दैन भन्ने कुरा मलाई विश्वास लाग्दैन ।’
Comment Here!