दाइजोको बोझ घटाउन बालविवाह


प्रकाशित मिति :2017-08-24 10:36:05

–अमृता अनमोल–

बुटवल । रुपन्देहीको सेमरा मर्चवारी गाउँपालिका १ सेमराका अफ्ताव हुसेन अहिले निकै चिन्तामा छन् । कारण हो उनकी कान्छी छोरी सविना १३ वर्ष पुगिन् । विहेका लागि अझै घरपरिवार भेटिएको छैन । छोरीको हात थाम्ने परिवार खोज्दै उनी कहिले आफन्त कहाँ धाउँछन् त कहिले छिमेकी कहाँ । चिनेजानेका सबैजसोलाई छोरी दिने घरपरिवार खोजिदिन आग्रह गरेका छन् ।

‘दाइजोको मोल बढेको बढ्यै छ । अझै छोरीका लागि रिस्तेदार भेटिएको छैन ।’ अफ्तावले गुनासो गरे ‘हामी गरिबले सानैमा छोरीको विहे गराउन नसके घरवासै उठ्ला भन्ने चिन्ता छ ।’ छोरी बढ्दै जाँदा दाइजो बढी दिनु पर्ने बाध्यताले विहे गर्न हतारिएको उनले बताए । ‘यसअघिका २ छोरीको विहे १२ वर्षमै भयो । खासै बोझ उठाउन परेन ।’ उनले कुरा खोले ‘पचास हजार रुपैयाँ, साइकल र आंैठी दिँदा चानचुन एक लाखमा उम्केको थिए“ ।’

सेमराकै शिवकुमार यादवले पनि जेठी छोरी सीमाको विहे १३ वर्षमै गरिदिए । कान्छी छोरी सविता ११ वर्ष भइन् । कक्षा ३ मा पढ्दै छिन् । शिवकुमारलाई छोरीको पढाइको कुनै चिन्ता छैन । विहेका लागि घरपरिवार खोज्ने चिन्ता भने सुरु भइसकेको छ । विहेका लागि ४, ५ बाट परिवारमा कुरो चलाइसकेका छन् । तिनैबाट छनोट गरेर आउँदो वर्ष विहे गराउने उनको तयारी छ ।

‘छोरी बढे दाइजो बढ्छ ।’ शिवकुमारले सुनाए ‘साइकल दिए पुग्नेमा मोटरसाइकल दिनुपर्छ । एक लाख दिए पुग्नेमा ५ लाख खर्चिनु पर्छ ।’ सानैमा विहे नगराए छोरीको पालन पोषण खर्चको भार र दाइजोको दोहोरो भार पर्ने उनले बताए । भारबाट बच्नकै लागि छोरीको सानैमा विहे गराउन हतारिनु परेको उनले सुनाए ।

सेमराका अफ्ताव र शिवकुमार जस्तै छोरीको सानैमा विहे गराउने अभिभावक रुपन्देहीमा धेरै छन् । साविकका १४ गाविस रहेको मर्चवार क्षेत्र, लुम्बिनी र रोहिणी गाउँपालिकाका रहेका अधिकांश तराईमूलका समूदायमा छोरीको विहे १४ वर्षभित्रै हुन्छ । शिक्षितमा केही कम भएपनि अशिक्षितमा यो चलन हटेको छैन । छोरीको महिनावारी नहँुदै विहे गराए पुण्य कमाइन्छ भन्ने धार्मिक मान्यतामा कायमै छ । यसभन्दा बढि बाध्यता थोपरेको छ दाइजोले ।

ज्वार्इँको योग्यता अनुसार छोरीको विहेमा दाइजो दिनुपर्ने चलनले धेरै बालिका बालविवाहको मारमा परेका छन् । बालक समेत किशोरावस्थामै विवाहको जोखिम उठाउन वाध्य छन् । पढ्ने लेख्ने समयमा विवाहको वोझ उठाउनु परेको छ । यसले वयस्क हुँदासमेत शारीरिक र मानसिक समस्या देखिने गरेको छ ।

नेपालको कानुनमा १८ वर्ष मुनिको विवाहलाई अवैध मानिन्छ । दाइजोको समस्या नहट्दा जाने बुझेकाले पनि आफ्ना छोराछोरीको अवैध रुपमै बालविवाह गराएका छन् । त्यसमध्येकी हुन् लुम्बिनी सांस्कृतिक नगरपालिकाकी स्वास्थ्य स्वयंसेविका निर्मला धवल । विहेवारी २० पारी भन्ने सिकाउँदै हिँड्ने उनले नै आफ्ना ३ छोरीको विहे १५ वर्ष भित्रमै गराइन् ।
‘हामी गरिबलाई यसै त खानलाउन समस्या छ । त्यसैमाथि छोरीको दाइजोको बोझले टाउको उठाउन सक्दैनौं ।’ निर्मलाले भनिन् ‘यसैले जानीजानीकन पनि छोरीको सानैमा विहे गराएको हुँ ।’ चानचुन १० कठ्ठा जग्गा भएका उनले दाइजोकै लागि ५ कठ्ठा खेत बेचेको बताइन् । ‘७ लाख त दाइजोमै खर्च गरें ।’ उनले भनिन् ‘२ छोरीको गौना हुन बाँकी छ । त्यसमा पनि खर्च लाग्छ ।’

रुपन्देहीको मधेशी समुदायमा विहेमा दुलहीसँगै तोकेरै दाइजो माग्ने चलन छ । दाइजोमा कुरो नमिले छिनिसकेको विवाह पनि रोकिन्छ । हाल सामान्यतया विवाह गर्ने केटाको डाक्टर भए २० लाख, इन्जीनियर भए १५ लाख, सरकारी अधिकृत स्तरको जागिरे भए १० लाख रुपैयाँ र सामान्य जागिरेका लागि पनि ५ लाख रुपैयाँ बराबरको दाइजो तोक्छन् ।

राम्रो विषय पढ्दै गरेकाको पनि त्यस अनुसारकै रकम तोकिन्छ । दाइजो तोक्ने चलन घट्दै होइन बढ्दै गएको छ । यसबाट बच्न विपन्न र मध्यम परिवारका अभिभावकहरु छोरीको विहे सानैमा कम उमेरकै केटा खोजेर विहे गराउँछन् । यसो गर्दा केटाको पढाइ खर्च केटीपक्षले व्यहोर्नु पर्दैन । बाबुआमाले सामान्यतया साइकल, मोटरसाइकल, सिक्री, आंैठी लगायतका सामान र केही रकम माग्छन् । मध्यस्तकर्ताले बीचको रकम तोकिदिन्छ र विहे हुन्छ ।

‘बाल विवाहमा सामान्यतया केटाले केटी वा केटीले केटा हेरेर विहेको निर्णय गर्ने चलन हुँदैन ।’ रोहिणी गाउँपालिका १, का वडा सहायक राजकुमार मिश्राले भने ‘बाबुआमा दाइजोमा सहमत भए भने मात्रै विहे छिनिन्छ ।’ यस्तोमा केटापक्षले सकेसम्म बढि दाइजो माग गर्ने र केटी पक्षलाई दुःख दिने उनले बताए । ‘अरु दिन नसक्ने परिवारसित भैंसी, बाख्रा लगायतका जनावर समेत दाइजो लिन्छन् ।’ सहायक मिश्राले भने ।

रुपन्देहीमा महिला तथा बालबालिका कार्यालय र विभिन्न गैर सरकारी संस्थाले लामो समयदेखि बालविवाह विरुद्ध काम गरेका छन् । यसबाट बालविवाह विरुद्ध बालबालिका र अभिभावक सचेत बनाउने काम भएका छन् । तैपनि अपेक्षित रुपमा बालविवाह घट्न सकेको छैन । दाइजो प्रथा हटाउन नसक्दासम्म कानुन र चेतनाले मात्रै बाहविवाह नरोकिने भुक्तभोगीहरु बताउँछन् ।

‘दाइजोको आर्थिक बोझ घटाउन अभिभावकहरु जसरी पनि बालविवाह गराउन चाहन्छन् ।’ एविसी नेपालका कार्यक्रम संयोजक मनोज लामिछानेले भने ‘दाइजो प्रथा हटाउन नसक्दासम्म कानुन र चेतनाले मात्रै बाहविवाह रोक्न समस्या छ ।’

महिला तथा बालबालिका कार्यालयकी प्रमुख शारदा बस्याल छोरी सक्षम बनाउन भन्दा अभिभावक जिम्मेवारीबाटै उम्कन खोज्ने मानसिकताले दाइजोले पश्रय पाएको र बालविवाह भएको बताउँछिन् । ‘छोरीलाई पढाउने लेखाउने, जागिर खुवाउने र सक्षम बनाउने हो भने दाइजोको समस्या केही घट्थ्यो । सक्षम केटी विहे गर्दा दाइजो तोक्दैनथे ।’ प्रमुख बस्यालले भनिन् ‘तर उहाँहरु त्यो जोखिम लिन चाहनुहुन्न ।’ उनले तराईका छोरी छोरा सरह सक्षम नभएकै कारण विवाहमा बढि दाइजो दिनु परेको वा केटापक्षले तोकेर लिने गरेको बताइन् ।

उसो त बालविवाह घटाउन भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि गत आर्थिक वर्षदेखि उजुरी आएमा कम उमेरको विवाह बदर गर्ने र कम उमेरको दुलही भए दुलाहलाई जवरजस्ती करणीको मुद्धा चलाउन सुरु गरेको छ । एक वर्षमा प्रहरीमा यस्ता ८ वटा घटना दर्ता भएका छन् । अरु सबैमा केटापक्ष मात्रै कारबाहीमा परेका छन् ।

एउटामा मात्रै बालिकाले आफ्ना अभिभावकलाई उजुरी गरेकी छिन् । त्यसमा आफ्नो इच्छा विपरित बाबुआमाले विहे गरिदिएको उल्लेख छ । जिल्ला प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख लक्ष्मण विकले बालबालिका आफ्नै अभिभावक विरुद्ध खुलेर उजुरी गर्न सक्ने हुने हो मात्रै बालविवाह रोकिने बताए । यसो भएमा दाइजो प्रथासमेत रोकिने उनले दावी गरे ।

(अमृता अनमोल रुपन्देहीबाट कान्तिपुर दैनिकको लागि रिपोर्टिङ गर्नुहुन्छ । )

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: