सही संस्कृतिको झूट व्याख्या


प्रकाशित मिति :2017-08-25 11:09:34

रामेश्वरी पन्त

सनातन हिन्दू परम्परा र संस्कारहरू विशिष्ट र वैज्ञानिक छन्। तर हाम्रो समाजका कथित पण्डितहरूले यी संस्कार र परम्पराहरूमाथि गलत व्याख्या गर्दै ‘धर्मकथाहरू’ लेखिदिए। पाप र धर्मको परिभाषा नै गलत गरिदिए। पुराणहरूमा, धर्मकथाहरूमा पुरुषजातिलाई पवित्रताको कोटिमा राख्दै उन्मुक्ति दिने र स्त्रीजातिलाई ‘पापी’ या ‘पापको भागिदार’ बनाएर मोक्षका अनेक कठोर मार्गहरू तय गरिए। कारण, यी पुराण र कथाहरू लेख्ने कथित पण्डितहरू ‘पुरुष’ नै थिए। त्यसैले त पुरुषले न पाप गर्छ न उसलाई मोक्षका लागि कुनै कठोर व्रत र उपवासको व्यवस्था गरिएको छ। यिनै कठोर ‘मोक्षमार्ग’मा उल्लेख गरिएका विभेदपूर्ण, असंगत र अपमानजनक प्रसंगहरूलाई पनि हाम्रा हजुरआमा र आमाहरूले अत्यन्त निष्ठापूर्वक शिरोधार्य गरेर परम्परालाई निरन्तरता दिँदै आउनुभयो।

स्त्रीजातिकै अपमान हुने गरी बनाइएका कष्टपूर्ण मान्यता र लेखिएका कथामा परिमार्जन र पुनर्व्याख्या आवश्यक छ। नत्र भोलिका हाम्रा सन्ततिहरूले यो विशिष्ट पर्व ‘तीज’लाई ‘बकवास’ सम्झेर इतिहासको गर्तमा थन्क्याउन बेर छैन।

तीज वास्तवमा महिलाका लागि उन्मुक्तिको पर्व हो। यसको धार्मिक इतिहास र परम्परागत मान्यताले यही बताउँछ। धार्मिक इतिहासलाई हेर्दा पार्वतीले आफूले मन पराएका शिवलाई पतिरूपमा प्राप्त गर्न अन्नजल त्यागेर कठोर तप गरेको र उक्त तपकैै कारण शिव प्रसन्न भएर पार्वतीलाई पत्नीरूपमा ग्रहण गरेको दिन भएकाले यस दिन हिन्दू नारीहरूले आफ्नो मनोकांक्षा पूर्तिहेतु निराहार व्रत बसी शिवपार्वतीको आराधना गर्ने परम्परा चलिआएको कुरा एकातिर छ भने अर्कोतिर आफूले शिवलाई प्रेम गरेको तर पिताले विष्णुसँग विवाह गराउन लागेको थाहा पाएर अनिच्छित विवाह रोक्नका लागि विद्रोह गरी अन्नजल नै त्यागेर बाबुआमालाई आफैँले मन पराएकोसँग विवाह गराउन विवश गराएको दिनलाई उन्मुक्तिको पर्वका रूपमा हिन्दू महिलाहरूले मनाउँदै आएको मान्यता छ।

पार्वतीले आफ्ना माग पूरा गराउन बाध्य पारेको यो दिनलाई सम्झनास्वरूप उत्सवमय रूपमा मनाउँदै विवाहित, अविवाहित चेलीहरूले माइतमा जम्मा भई मीठोमीठो खाने, नाचगान गर्ने, रमाउने र तीजको दिन व्रत बसी शिव उपासना गर्ने एउटा विशिष्ट दिनका लागि पण्डितहरूले कथा नै लेखिदिए। जुन कथामा भनिएको छ, ‘हरितालिका व्रतको दिन आहार गर्ने स्त्री सात जन्मसम्म बाँझी हुन्छे, जन्मजन्मसम्म विधवा हुन्छे, पुत्रशोकमा पर्छे, जन्मजन्म नरकमा पर्छे। यस दिन पानी पिएमा पतिको रगत पिएसरह हुन्छ आदिआदि।’

कथा लेख्ने पण्डितहरूले लेख्ने बेलामा यो बुझ्न सकेनन् कि यो कथा सुन्ने स्त्रीहरू कुनै दिन सचेत बन्नेछन् र सही गलत छुट्याउन सक्ने हुनेछन्, धर्म र परम्पराको निरन्तरताका लागि लेखिएका कथा अवैज्ञानिक ठहरिनेछन्। आज कुनै पनि महिला चौबीस घण्टासम्म पानी नपिई व्रत बस्दैमा पति दीर्घायु हुन्छ भनेर विश्वास गर्न तयार छैनन्। न त पानी पिउँदा पतिको रगत पिएसरह हुन्छ भनेर पत्याउन तयार छन्। हिन्दू धर्ममा उपवासको महत्वलाई निकै प्राथमिकता दिइएको छ र यो वैज्ञानिक दृष्टिले सही पनि छ। किनभने हप्तामा वा महिनामा एकदिन उपवास बस्नाले शरीर र मन दुवै स्वस्थ हुन्छ। तर उपवासमा पानी वर्जित गरिनु हुँदैन। बरू पानीमात्र पिएर उपवास गर्दा शरीरका विकारहरू बाहिर निस्कन्छन्।

तर वैज्ञानिक व्याख्याको अभावमा आज तीजको व्रत विवादित बन्दै गएको छ। हाम्रा पण्डितहरू उही पुरानै कथाको ‘सुगारटाई’ गरिरहेछन् र परिवर्तनलाई आत्मसात् गर्न नसक्ने पुरातनपन्थीहरू त्यसैमा भाका मिलाएर सचेत महिलाहरूलाई सत्तोसराप गरिरहेछन्, धर्मविरोधीको आरोप लगाइरहेछन्। स्त्रीजातिकै अपमान हुने गरी बनाइएका कष्टपूर्ण मान्यता र लेखिएका कथामा परिमार्जन र पुनर्व्याख्या आवश्यक छ। नत्र भोलिका हाम्रा सन्ततिहरूले यो विशिष्ट पर्व ‘तीज’लाई ‘बकवास’ सम्झेर इतिहासको गर्तमा थन्क्याउन बेर छैन।

त्यस्तै ऋषिपञ्चमीको व्रत महिलाको प्रजनन प्रक्रिया र उसमा हुने रजस्वलासँग जोडिएको छ। ऋषिपञ्चमीको व्रतकथामा लेखिएको छ–’…उहिले इन्द्रले गरेको ब्रम्हहत्याको पापबाट इन्द्रलाई मुक्ति दिन ब्रम्हाजीले उक्त ब्रम्हहत्याको पापलाई चारभागमा बाँडिदिए। …एक भाग स्त्रीको मासिकधर्ममा लगेर राखियो। त्यसैले स्त्री रजस्वला हुनु पाप हो। रजस्वला भएको पहिलो दिनमा ऊ चाण्डाल्नी, दोस्रो दिनमा ब्रम्हघातिनी, तेस्रो दिनमा धोबिनी हुन्छे र चौथो दिनमा स्नान गरेपछि शुद्ध हुन्छे। त्यसैले यो पापबाट मुक्तिका लागि हरेक स्त्रीले भाद्र शुक्ल पञ्चमीका दिन अरुन्धतीलगायत सप्तऋषिको पूजा गर्नुपर्छ।’

अझै पनि रजस्वला हुनु पाप भन्दै प्रजनन प्रक्रिया र सृष्टिचक्रको महत्वपूर्ण दायित्व बोकेका कैयौँ महिलाहरू आफ्नो यो गौरवशाली भूमिकालाई बिर्सेर आफूलाई पापीको कोटिमा राख्दै पण्डितले भनेजस्तै ‘पाप पखाल्ने उद्देश्य’ लिएर ऋषिपञ्चमीको व्रत गर्छन्। वास्तवमा हाम्रा महान् ऋषिहरूले स्त्रीमा हुने रजस्वलालाई प्रजनन प्रक्रियाको महत्वपूर्ण क्षण मानेर यस अवस्थालाई ‘उत्सव’का रूपमा लिनुपर्ने भनेका छन्। ऋषि पञ्चमीको दिन प्रयोग हुने अपमार्गको बहुउपयोगी औषधीय गुणलाई ओझेलमा पारि वर्षमा एक दिन ३६५ वटा दतिवन टोक्ने आदेश दिइएको छ। वास्तवमा महिलाहरूले हरेक दिन यो दतिवनले दाँत माझ्दा दाँत बलियो मात्र नभएर दतिवन चपाउँदा निलिएको रसले महिलाको पाठेघरलगायत अन्य विभिन्न रोग निको हुने कुरा आयुर्वेदमा उल्लेख छ। जुन कुरा हाम्रा ऋषिमुनिहरूकै ज्ञानको उपज हो। तर कर्मकाण्डी पण्डितहरूले यो कुरालाई कर्मकाण्डमै सीमित राखे।

महान् ऋषिहरूको स्मरण गर्ने र उनीहरूको पूजा गर्ने परम्परा गलत होइन, तर यसको व्याख्या नै गलत भयो। खासगरी हाम्रा धर्मगुरु र पुराण लेख्ने पण्डितहरूले हिन्दूधर्मको मर्म नै ओझेलमा पर्नेगरी पुराण लेखेको पाइन्छ। प्रायः हरेक पुराणमा ‘पुरुषश्रेष्ठता’ र ‘स्त्रीनिचता’ देखाइएको पाइन्छ। देवताहरू भनेको ‘स्त्रीउद्धारक’ हुन् भन्ने मान्यता स्थापित गरिएको छ। ऋषि पञ्चमीको प्रसंग भविष्य पुराण र महाभारतमा पनि पाइन्छ जसमा भनिएको छ, ‘ऋषि पञ्चमीको व्रत गर्नाले स्त्रीजातिहरू पापयोनिबाट मुक्त भई उनीहरूको उद्धार हुनेछ।’ यसै प्रसंगमा इन्द्रबाट बलात्कृत भएकी पत्नी अहल्यालाई गौतम ऋषिले परित्याग गरेर निर्जन स्थानमा बस्न बाध्य भएको अवस्थामा समाज सुधारक ऋषि विश्वामित्रले उनी निर्दोष रहेको भन्दै पुनः समाजमा स्थापित गराएको कुरा विश्वामित्रबारे लेखिएका पुस्तकहरूमा पढ्न पाइन्छ। तर रामभक्तहरूले लेखिदिए–’गौतमको श्रापले पत्थर भएर रहेकी अहल्यालाई रामको पाउले कुल्चिदिँदा उनी जीवित र पवित्र बनिन्।’

हिन्दू मात्र होइन बौद्ध धर्मावलम्बीहरूले पनि भाद्र शुक्ल पञ्चमीको दिनलाई ‘प्रजनन उत्सव’का रूपमा मनाउने गरेको कुरा पनि उल्लेख भएको पाइनुले यस दिनलाई ‘पापमोचन’को व्रत नभनेर एउटा उत्सवका रूपमा लिनु उपयुक्त हुन्छ। विनयपिटकमा उल्लेख भएअनुसार अरुन्धतीलगायत सप्तऋषिहरूको पूजा गर्ने कुरालाई अनुसरण गर्दै बौद्धमार्गीहरूले पनि धेरै हात भएका देउताको पूजा गर्ने रहेछन्। हाम्रा ऋषिहरूले मातृत्वको सम्मान गर्थे। त्यसैले यस दिन उनीहरूलाई सम्झेर मातृत्वको पूजा गरिएको हुनसक्छ। सतिसाध्वी ‘ऋषिका’ अरुन्धतिको स्मरण गर्दै ऋषिपूजन गर्ने, मातृत्व र प्रजनन शक्तिको सम्मान गर्ने महान् परम्परालाई ‘पाप’का त्रासद कथाले ओझेलमा पार्दै मातृत्वकै अपमान हुनेगरी ऋषिपञ्चमीको कथा कहिले र कसले लेख्यो भन्ने कुरा कसैलाई थाहा छैन। तर यही कथालाई हिन्दूधर्मको ‘मूलमन्त्र’ नै हो भने जसरी केही ‘धर्मान्धहरू’ले यस कथाको विरोध गर्ने महिलालाई धर्म विरोधी भन्नु दुर्भाग्यपूर्ण छ। धर्मको आडमा समाजमा अझै पनि व्याप्त छुवाछूत र जातीय, लैंगिय विभेदले गर्दा हाम्रो विशिष्ट संस्कृति बोकेको हिन्दू धर्म नै संकटमा पर्दै गएको अवस्थालाई सबैले बुझ्नु जरुरी छ।

साभार : नागरिक दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: