-महिला खबर-
सिरहा । सिरहाको सीतापुरकी कुस्मा देवी यादबले आफ्नै ठाउँमा आफूमाथि भएको ज्यादती पोख्ने मौका पाउनुभयो । त्यो पनि जिल्ला अदालतका मुख्य न्यायधीशसँग ।
उहाँलाई बोक्सी आरोपमा छिमेकीले कुटपीट गरेका थिए । उनले त्यो घटनामा न्याय पाउँ भनेर अदालतमा मुद्धा पनि हालिन् । तर, आरोपीहरु अदालतबाट धरौटीमा रिहा भए ।
अहिले उहाँले पुरावेदन गरेर न्यायको अपिल गर्नुभएको छ । सोही जानकारी सहित आफ्नो दुःखेसो उहाँले जिल्ला अदालत सिरहाका मुख्य न्यायधीश अमृत बहादुर बस्नेतसँग पोख्नुभएको हो ।
कुस्मादेवी मात्रै होइन सीतापुरकै ममता शाहले पनि आफ्नो गुनासो प्रहरी र अदालतका मुख्य व्यक्तिसँग सिधा राख्न पाउनुभयो । उहाँलाई श्रीमान र सासुले घरबाट निकालेका छन् । आफूलाई कुटपीट गरि घरमा बस्न नदिने गरेको गुनासो राख्दै उहाँले न्यायको लागि अनुरोध गर्नुभएको हो ।
कुस्मादेवी र ममता जस्तै सीतापुरका स्थानीयले महिला र बालिका माथि भएका हिंसामा कसरी न्यायमा पहुँच पुर्याउन सकिन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए । यो अवसर मिलाएको थियो, मानव अधिकार संचार प्रतिष्ठान नेपाल (इह्रिकन) र जुरी नेपालले ।
महिला तथा बालिकाको न्यायमा पहुँच पुर्याउनका लागि जनतासँग अदालत कार्यक्रम मार्फत जिल्ला अदालत सिरहाका मुख्य न्यायधिश, श्रेष्तेदार र ईलाका प्रहरी कार्यलय लहानका डीएसपीलाई आफ्नै ठाउँमा सिरहाको सीतापुरबासीले भेट्न पाएका हुन् ।
जिल्ला अदालत सिरहाका मुख्य न्यायाधीश अमृत बहादुर बस्नेत आफ्नै गाँउ टोलमा आएपछि सीतापुरबासीले महिला तथा बालबालिकाको न्यायमा पहँुच कसरी हुन्छ भनेर खुलेर सवाल जवाफ पनि गरेका थिए ।
स्थानीयको सवालपछि मुख्य न्यायाधीश बस्नेतले अदालती प्रकृया ढिलो, झन्झटिलो, र महंगो छ भनेर अन्याय सहेर नबस्न सीतापुरमा सिरहाका महिला तथा पुरुषलाई आग्रह गर्नु भयो । उहाँले अदालतमा निःशुल्क मुद्धा हेरिदिने वकिल राखेका् जानकारी गराउँदै न्यायको लागि अदालत आउदा कुनै झन्झट सहनु नपर्ने भन्दै स्थानीयलाई आश्वस्त पार्नुभएको थियो ।
Comment Here!