–महिला खबर–
काठमाडौं । एक जना भारतीय महिलाले श्रीमानले घरमा शौचालय नबनाइदिएको कारण पारपाचुके गर्ने अनुमति पाईन् । बीस वर्ष भन्दा बढी उमेरकी उक्त महिलाको विवाह पाँच वर्षसम्म टिक्यो तर उनलाई नजिकैको खेतबारीमा दिसा–पिसाब गर्नुपर्ने बाध्यता थियो । भारतीय कानुनले घरेलु हिंसा र प्रमाणित भएको क्रुरता जस्ता सीमित परिस्थितिमा मात्र पारपाचुकेको अनुमति दिन्छ ।
उक्त महिलाको वकिलले एयफपी समाचार एजेन्सीलाई बताए, ‘न्यायधीशले खुल्ला ठाउँमा दिसा गर्न बाध्य पार्नु पनि यातनाको एउटा रुप हो ।’
राजस्थानको अदालतले भन्यो ‘महिला घरमा शौचालय नभएको कारण खुल्ला ठाउँमा दिसा–पिसाब गर्न अँध्यारो नभएसम्म कुरेर बस्न बाध्य छन् ।’
द टाइम्स् अफ इण्डियामा प्रकाशित समाचार अनुसार अदालतको फैसलामा भनिएको थियो, “हामी सूर्ती, रक्सी र मोबाइल फोनमा खर्च गर्छौं तर शौचालय बनाएर परिवारको मानमर्यादाको रक्षा गर्न भने तयार छैनौं ।”
“गाउँमा महिला सूर्यास्त नहुन्जेल दिसा–पिसाब गर्न कुरेर बस्छन् । यो शारीरिक कु्ररता मात्र होइन महिलाको मर्यादाको हनन पनि हो।”
भारतीय संचार माध्यमले जनाए अनुसार उक्त महिलाले सन् २०१५ मा पारपाचुकेको लागि उजुरी दर्ता गरेकी थिईन् ।
भारतको ग्रामीण भेगमा धेरै मानिसले खुल्ला ठाउँमा दिसा–पिसाब गर्छन् । त्यसैले सरकारले सन् २०१९ सम्म प्रत्येक घरमा एउटा शौचालयको व्यवस्था गर्ने लक्ष्य राखेको छ । तर यो कार्यक्रमको केही विरोध पनि भएको छ ।
धेरै जनालाई अँध्यारो भएपछि खुल्ला ठाउँमा शौच जानुपर्ने बाध्यता छ । महिलाको सुरक्षा र उनीहरुलाई पर्ने असुविधालाई ध्यानमा राखेर सरकारले यस्तो कार्यक्रममा लगानी गरेको हो । शौचालय बनाइएका ठाउँमा पनि धेरै मान्छेहरुले यसको प्रयोग गर्दैनन् ।
गत वर्षको युनिसेफको तथ्यांक अनुसार भारतका करिब आधा जनसंख्या शौचालयको प्रयोग गर्दैनन् ।
साभारः– बिबिसी
Comment Here!