मंगलादेवीको योगदानको स्मरण
‘महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला’
–महिला खबर–
काठमाडौं । नेपाल महिला संघका संस्थापक अध्यक्ष स्व. मंगलादेवी सिंहको २१ औँ स्मृतिदिवसमा उहाँको योगदानको स्मरण गरिएको छ । नेपाल महिला संघ काठमाडौंले मंगलादेवीको सालिक रहेको स्थान शोभा भगवतीमा कार्याक्रम गरि सिंहको सालिकमा माल्यार्पण गरिएको छ ।
सो अवसरमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकारीका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी रहेको बताउनुभयो । महिला आन्दोलनकै कारण संविधानमा महिलाले आफ्नो अधिकार सुनिश्चित गर्न सफल भएको बताउनुभयो ।
सांसद राज्यलक्ष्मी श्रेष्ठले महिला संघ मंगलादेवीले देखाएको बाटोमा हिँड्नुपर्ने भन्दै उहाँको योगदानको चर्चा गर्नुभयो । नेपाली काँग्रेसका काठमाडौंका सभापति कृष्ण बानियाँले मंगलदेवी सिंहले महिलाको हक अधिकारीका लागि गरेको योगदानको स्मरण गर्नुभयो ।
महिला संघ काठमाडौंका अध्यक्ष विष्णुदेवी पुडासैनीले महिलाको भोट हाल्न पाउनुपर्छ र पढ्न पाउनुपर्छ भनेर अधिकारका लागि आवाज उठाउने महिला सिंह रहेको बताउनुभयो ।
को हुन् मंगलादेवी सिंह
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्म वि.स १९८१ म काठमाडौंको न्हैकन्तलामा भएको थियो । वि.स. १९९७ असार महिनामा उहाँको विवाह गणेशमान सिंहसँग भएको थियो । वि.स १९९६ कान्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो ।
वि.स २००४ सालमा भूमिगत संगठनको रुपमा नेपाल महिला संघको स्थापना गरेर उहाँ आजन्म अध्यक्ष रहनुभएको थियो । २००५ सालमा पद्म शमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै सिंह महिलाको जुलुस लिएर राणाहरुको दरबार पुग्नुभएको थियो । २००७ सालको क्रान्तिमा ठूलो भूमिका निर्वाह गर्नुभएको थियो ।
सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो । २०२५ सालपछि ८ वर्ष प्रवासमा रहनुभएको थियो । सिंह २०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा उहाँ सक्रिय रहनुभएको थियो ।
२०४८ साल प्रतिनिधिसभा निर्वाचनमा उहाँ पराजित हुनुभयो । ‘नारी संघर्षका पाइलाहरु’ नामक संस्मरणात्मक पुस्तक लेख्नुभयो । सिंहको निधन २०५३ साल भदौ १० गते भएको थियो ।
(विकिपिडियाको सहयोगमा)
Comment Here!