-महिला खबर-
काठमाडौँ । जनसाहित्यिक मञ्च नेपालको अविरल जनसाहित्यक यात्राको ४० औँ श्रंखलामा चार महिला कविका दुई दर्जन कविता प्रस्तुत भएका छन् ।
शुक्रबार राजधानीमा भएको कार्यक्रममा यशोदा अधिकारी, अनिता लामा, जयन्ती स्पन्दन र बिना तामाङ थिङका चार÷चार कविता प्रस्तुत भएको थियो ।
अधिकारीले ‘छोरी नजन्माउने मेरी आमा’,‘त्यो पुरानो घर’, ‘भुइँमान्छेको सपना’, ‘ढालिदिए हुन्छ त्यो रूख’, ‘पत्रकारको प्रश्न’ र ‘आइमाईको मूल्य कति हो ?’ कविता सुनाइन् ।
थिङले ‘मायाहरूको युग’,‘कन्फेसन एउटी आमाको’, ‘एउटी किशोरीको बयान’, ‘कालो गुँरास’, ‘रंगको राजनीति’ र ‘म्हेन्दो’ सुनाइन् ।
लामाले सुरुमै ‘मेरो देशः मेरो सर्वस्व’ कविताबाट कञ्चनपुरमा भारतीय सैनिकबाट गोली लागेर मृत्यु भएका गोविन्द गौतम सम्झिइन् । यसपछि उनले ‘विद्यार्थी’, ‘नागरिकता’, ‘ह्यारी, आस्याङ र साहिवा’, ‘मसुरी’ र ‘रगत’ गरी ६ वटा कविता सुनाइन् ।
त्यसैगरी स्पन्दनले ‘सत्यविज’, ‘जनआह्वान’, ‘पशुपति, वाग्मती र मान्छेहरू’, ‘टीकापुर भर्सेस खण्डखण्ड त्रासदी’, ‘छोरा, छोरा र छोराहरू नै’ र ‘मनाउ समभावमा तीज’ शीर्षकको कविता सुनाइन् ।
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले नारी हस्ताक्षरका कविताका आवाजले फरक अनुभूति मिलेको बताए ।
सुस्मिता नेपालले कविताको टिप्पणी गर्दै कविताहरुले नारी मुक्तिका स्वरलाई प्रस्फुटित गराएको बताइन् । उनले परिवारको समस्यादेखि सामाजिक विकृति र पितृसत्तात्मक सोचले महिलामाथि थोपरिएको विभेद कवितामा समेटिएकोे टिप्पणी गरिन् ।
साहित्यकार कविता पौडेलले महिलाहरुले हरेक क्षेत्रमा संघर्ष गर्नुपर्ने समयमा कवितामा नयाँ पुस्ताको सक्रिय उपस्थितिले उत्साहित तुल्याएको बताइन् ।
नयाँ स्वाद दिन र तीजको समेत सन्दर्भ जोड्न चार नारी कविलाई प्रस्तुत गरिएको मञ्चका अध्यक्ष राम विनयले बताए ।
Comment Here!