चार पत्रकार महिला पुरस्कृत हुने
सञ्चारिकाको २१ औं साधारणसभा भदौं १२ मा
महिला खबर
काठमाडौं । नेपालका पत्रकार महिलाहरुको छाता संगठन सञ्चारिका समूहको २१ औं साधारणसभा यही भदौं १२ गते सोमबार हुने भएको छ । सञ्चारिक कार्यालय ललितपुरमा हुने बार्षिक साधारणसभामा संस्थाको संगठानिक, आर्थिक तथा बार्षिक गतिविधिबारे छलफल र भावी योजना तर्जुमा गरिनेछ ।
सो अवसरमा सञ्चारिकाले हरेक वर्ष प्रदान गरिदै आएको विभिन्न विधाका पुरस्कारबाट चार जना पत्रकार महिलालाई पुरस्कृत गर्ने भएको छ । समूहद्वारा स्थापित ‘सञ्चारिका समानता पुरस्कार २०७३’ बाट पत्रकार सृर्जना श्रेष्ठ, ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७३’ पत्रकार रेणु चौधरी, र ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७३’ पत्रकार निराशी थामी र रुमु न्यौपानेलाई प्रदान गर्ने निर्णय भएको सञ्चारिकाले जनाएको छ ।
सञ्चारिका समानता पुरस्कार २०७३’ नेपाली टाइम्स साप्ताहिकमा प्रकाशित ‘हर सकेण्ड मनसुन’ फिचरका लागि श्रेष्ठलाई प्रदान गर्ने भएको हो । उक्त पुरस्कारको राशि पन्ध्र हजार रुपैयाँ रहेको छ ।
पुरस्कार छनौटका लागि नेपाल पत्रकार महासंघका तत्कालिन अध्यक्ष डा.महेन्द्र विष्ट, वरिष्ठ पत्रकार कश्मस विश्वकर्मा, र सञ्चारिका समूहकी महासचिव कमला पन्थी सहितको तीन सदस्यीय निर्णायक मण्डल बनाइएको थियो ।
निर्णायक समितिले २०७३ वैशाख १ देखि २०७३ चैत ३० गतेसम्म छापिएका लैङ्गिक समानतामा आधारित समाचार/लेख/फिचरबाट शैली, सन्देश, लैङ्गिक संवेदनशीलता, अन्वेषण जस्ता विषयवस्तुलाई आधार बनाएर छनौट गरिएको जनाएको छ ।
‘समानताका लागि सञ्चार’ भन्ने आफ्नो मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिकाले २०५७ सालदेखि हरेक वर्ष सञ्चारिका समानता पुरस्कार प्रदान गर्दै आएको छ ।
यसैगरी स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७३’ बाट पुरस्कृत हुने पत्रकार रेणु चौधरी बाराको रेडियो संस्कारमा कार्यरत छिन् । महिला पत्रकारलाई पेशामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशि सात हजार एक सय एघार रुपैयाँ रहेको छ ।
त्यस्तै ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७३’ बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार निराशी थामी र बाह्रखरी अनलाइनमा कार्यरत पत्रकार रुमु न्यौपानेलाई दिने भएको छ । थामी दोलखा र न्यौपाने काठमाडांैमा रहेर पत्रकारिता गरिरहेका छन् ।
छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउन सहयोग पु¥याउने उद्देश्यले २०६२ सालमा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ स्थापना गरिएको हो । पुरस्कार साधारणसभाको अवसरमा वितरण गरिनेछ ।
Comment Here!