बोक्सीको आरोपमा अझै कुटिन्छन् महिला


३ वर्षमा बोक्सीको आरोपमा ९१ वटा घटना घटे

प्रकाशित मिति :2017-08-26 15:21:25

–सन्दिप वि‍.क–

काठमाडौं । पर्साको जनरनाथपुर गाउँपालिका ३ की एक बृद्धा महिला बोक्सीको आरोपमा गत मंगलबार छिमेकीबाटै कुटिइन् ।

खलुचइ टोलका अहमद गद्धीकी पत्नी ६० वर्षीय इम्बानी खातुनलाई छिमेकी जोखु मियाँका परिवारले बोक्सीको आरोपमा निर्घात रुपमा कुटपिट गरेका हुन् । बृद्धाको इम्बानीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

वृद्धा खातुनले तन्त्रमन्त्र गरेर मियाँका नातिलाई बिरामी बनाइदिएको आरोपमा जोखु, उनका छोरा नून हसन र अली हसन लगायत बुहारीहरु नूर कलीमा र रोबिनाले सोमबार इम्बानीको घरमै पुगेर कुटपिट गरेका हुन् ।

बृद्धा महिलाका पति अममद गद्धीले बोक्सी भन्दै गालीगलौचका साथै कुटपिट गरेको बताए । कुटपिटपछि बेहोश भएकी आमालाई स्थानीय स्वास्थ्य चौकीमा लगेपनि उपचार हुन नसकेपछि वीरगञ्ज लगिएको छोरी शायरा खातुनले बताइन् ।
कुटपिटमा संलग्न जोखु र उनका परिवार विरुद्ध परेको उजुरीमा छानविन भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।

गत पुषमा सिरहाकी एक महिलालाई आफूले काम गर्दै आएको जमिनदारले बोक्सीको आरोपमा कालोमोसो दली कपाल काटेर मरणसन्न हुनेगरी कुटपिट गरे ।

ति महिलालाई सुखीपुर नगरपालिका, ४ का कुसाहा लक्ष्मीनियाका विश्वप्रसाद यादव र गुमुस्ता यादवले कालोमासो लगाएर कुटपिट गरि आफ्नै घरको कोठामा दुई दिनसम्म थुनेर राखेका थिए ।

यसरी हाम्रो समाजमा अझैँ पनि बोक्सीको आरोपमा धेरै महिलामाथि अमानविय व्यवहार भैरहेको छ । कुटपिट, मलमुत्र खुवाउने र हत्या नै गर्ने गरेका धेरै उदाहरणहरु छन् । त्यस्ता पीडित महिलाहरु मध्ये धेरैले न्याय पाएका छैनन् ।

‘लक्ष्मी हत्या काण्डका आरोपी रिहा’

बोक्सी आरोपमै २०७३ गत मंसिर २० गते हत्या गरिएकी काभ्रेपलाञ्चोक वाङथली ७ की ३२ वर्षीय लक्ष्मी परियारका हत्या आरोपी गत मंगलबार रिहा भए ।

काभ्रे जिल्ला अदालतका न्यायाधीश श्याम सुन्दर अधिकारीको एकल इजालसले आरोपीहरुलाई कैद मुक्त गरेको हो । पुर्पक्षको लागि थुनामा रहेका हिरा लामा, काइली तामाङ, निरमाया तामाङ र मिलन परियार न्युनतम सजाय पाएर रिहा भएका छन् भने फूलमाया तामाङले सफाई पाएको जिल्ला अदालत काभ्रेले जनाएको छ ।

प्रतिवादीमध्ये हिरा लामा र काइली तामाङलाई कर्तव्य ज्यान मुद्धामा जनही ८ महिला कैद र बोक्सीको आरोपमा जनही २० हजार रुपैँया जरिवाना गरिएको छ । यस्तै मिलन परियार र निरमाया तामाङलाई कर्तव्य ज्यानमा ८ महिना केैद सजाय तोकिएको छ । लक्ष्मी परियारलाई सुर्योदय माविको प्राङ्गणमा बोक्सीको आरोपमा मलमुत्र खुवाइ, कुटपीट गरेर हत्या गरिएको थियो ।

३ वर्षमा ९१ वटा घटना

नेपाल प्रहरीको त्रिबर्षीय तथ्याङक अनुसार नेपालमा तीन वर्षभित्र ९१ वटा बोक्सी आरोपका घटना घटेका छन् । प्रहरी प्रवक्ता पुस्कर कार्कीका अनुसार ०७१-७२ मा ४३ वटा, ०७२-७३ मा २६ वटा र ०७३-७४ मा २२ वटा घटना भएका छन् ।

यस्तो कार्य गैर–कानुनी भएकाले त्यस्ता व्यक्तिलाई कानुनी कठघरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै कार्कीले सवैलाई यो सामाजिक कुसंस्कारका विरुद्ध चेतना फैलाउनुपर्ने बताए ।

पर्साका सामाजिक अभियानकर्ता मनोज रामले एकल, गरिब, दलित र कमजोर आर्थिक अवस्था भएका महिलामाथि यस्तो आरोप लगाउँदै आएको बताए । कानूनी पक्ष फितौलो हुँदा यस्ता घटना घट्न नसकेको उनको भनाई छ ।

कानुनमा के छ ?

बोक्सीको आरोप (कसूर र सजाय) ऐन २०७२ मा बोक्सी आरोपमा गाली बेइज्जती गर्ने तथा आरोप लागेको व्यक्तिको परिवारका सदस्यलाई अपमानजनक व्यवहार गर्नेलाई एक वर्षदेखी तीन वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । यस्तै दश हजार रुपैयाँदेखि ३० हजार रुपैँयासम्म जरिवाना तोकेको छ ।

ऐनमै बोक्सी आरोपमा सामाजिक बहिष्कार गरेर पीडित बसेको स्थानबाट निकाला गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । धामीझाँक्री, टुनामुना, तन्त्रमन्त्र र झारफुकको माध्यमबाट बोक्सी आरोप लगाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैँया जरिवाना हुनेछ भनिएको छ ।

कानुन अनुसार बोक्सी आरोप लगाएर कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासायनिक, विषालु वा जैविक पदार्थको प्रहार गरी वा अन्य कुनै किसिमले यातना दिन पाइनेछैन । पीडितलाई मलमूत्र खुवाउने, चारपाटा मुड्ने लगायतका अपराध गर्नेलाई दश वर्ष कैद र ५० हजारदेखि १ लाख रुपैँयासम्म जरिवाना तोकिएको छ ।

बोक्सी आरोपमा अंगभंग गर्नेलाई दश वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय हुनेछ भनिएको छ । यातना दिएको प्रमाणित भएमा १० वर्ष कैद र १ लाख रुपैँया सम्म जरिवाना, अपमानजनक व्यवहार गर्नेलाई १ देखि ३ वर्षसम्म कैद र ३० हजार रुपैँयासम्म जरिवाना, निकाला गर्नेलाई  ५ वर्षसम्म कैद र ५० हजार रुपैँया जरिवाना, धामीझाँक्रीको माध्यमबाट आरोप लगायनेलाई ७ बर्षसम्म कैद र ७० हजार जरिवाना, प्रहरी अनुसन्धानमा दख्खल दिन खोज्नेलाई ३० हजार जरिवाना र ३ महिना कैद हुने भनिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: