स्वास्थ्य जाँचबारे बेखबर छन् गर्भवती महिला


प्रकाशित मिति :2017-08-27 15:25:34

हेमलता जी.सी

काठमाडौं । सर्लाहीको सुन्दपूर ७ की १८ वर्षीया सुनैना देवी ठाकुर गर्भवती भएको ६ महिना पुगेको छ । तर, अहिलेसम्म उनी गर्भ जाँचको लागि अस्पताल पुगेकी छैनन् । उनलाई गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गराउनु पर्छ भन्ने कुरा पनि जानकारी छैन ।

‘घरमा कसैले पनि जँचाउनु पर्छ भन्नुभएको छैन ।’ गर्भजाँचबारे जानकारी नभएको उनले बताइन् । १५ वर्षको उमेरमा सुनैनाको विवाह भएको थियो । उनको यो पहिलो गर्भ हो । सुनैनाले अरु बेला भन्दा गर्भवती भएको समयमा धेरै पौष्टिक खानाहरु खानुपर्छ भन्ने थाहा पाए पनि स्वास्थ्य चेकजाँच गर्दा केही भैहाल्ने हो कि भन्ने डरले स्वास्थ्य चौकी नगएको बताईन् ।

सर्लाहीकै ईश्वरपुर ६ की २४ वर्षकी करुणा दास दुई सन्तानकी आमा हुन् । अहिले तेस्रो सन्तान जन्माउने तरखरमा छिन् । आठ महिनाको गर्भ रहेकी उनले भनिन् – ‘न कुनै सुई लगाएर न आईरन चक्की नै खाएँ ।’ उनले यसअघिका दुई सन्तान पनि घरमै जन्म दिएको बताईन् । करुणाले थपिन् – शरीर कमजोर भएको झै लाग्छ । तर किन भएको थाहा छैन ।’

गर्भवती महिलाले ४ पटकसम्म गर्भजाँच, गर्भ भएको शंका भए लगतै पोषणयुक्त खानासँगै पाहिलो परीक्षण गर्नुपर्ने र पाँचौ महिनाबाट नियमित आईरन चक्की, क्याल्सियम खानु पर्दछ । तर, सर्लाहीका महिलाहरु नियमित स्वास्थ्य जाँच बारे बेखबर छन् ।

आमा र शिशुको स्वास्थ्य अवस्थाबारे थाहा पाउनको लागि गर्भवती महिलाले गर्भाधारणदेखि शिशुको जन्म नहुँदासम्म नियमित स्वास्थ्य जाँच गराउनुपर्नेमा सर्लाहीका मधेसी समुदायका गर्भवती महिलामा र उनका परिवार सचेत भएको देखिदैनन् ।

एक गर्भवती महिलाकी श्रीमान्ले भने,– ‘हाम्रा हजुर आमा, आमाहरुले नजँचाई घरमै बच्चा जन्माए । त्यसैले मेरो श्रीतती पनि जचाँउन नजाँदा केही फरक पर्दैन ।’ कतिपयको यस्तो सोचाई छ भने कतिपय परिवारले गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच परीक्षण गर्न ईच्छा राखे पनि नियमित रुपमा भने स्वास्थ्य चौकी नआउने स्वास्थ्य चौकी सुन्दरपुरले जनाएको छ ।

रीतादेवी ठाकुरको गर्भमा पहिलो सन्तान छ । २० वर्षकी उनी सर्लाही सुन्दरपूर –८ मा बसोबास गर्छिन् । उनले नियमित स्वास्थ्य जाँच त गरेकी छैनन् । तर, निकै पेट दुखेपछि सुन्दरपुर स्वास्थ्य चौधी पुगिन– ‘पेट साह्रै दुख्न थाले पछि मात्र स्वास्थ्य चौकी जँचाउन आएको हो ।’

सीतादेवी यसअघि कहिल्यै उपचारको लागि स्वास्थ्य चौकी गएकी थिइनन् । अहिले जँचाउन पुग्दा लाज मानिरहेकी थिईन् । उनले आईरन चक्की, क्याल्सियम खाएकी छैनन् । कुनै सुई पनि नलगाएको बताईन् । यहाँका महिलाले गर्भको पनि नियमित रुपमा चेकजाच नगर्दा गर्भवतीमा देखिने समस्याका कारण महिलाको मृत्यु हुने गरेको पाईन्छ ।

स्वास्थ्य चौकी सुन्दरपूरमा २१ वर्ष देखि काम गदै आएकी अनमी मिथलेस देवी साह भन्छिन् – ‘गर्भ जँचाउनुपर्छ भन्ने थाहा भएपनि महिलाहरु जँचाउन स्वास्थ्य चौकी आउँदैनन् ।’ उनका अनुसार यहाँका महिलाले खोप लगाउँदा पुनः गर्भ बस्दैन भन्नेसम्मको भ्रम रहेको छ ।

नेपालको सविधान २०७२ धारा ३८ मा महिला हक अन्तर्गत प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन अधिकारको व्यवस्था गरेको छ । तर सर्लाहीका मधेसी समुदायका गर्भवती महिलाहरुले अझै पनि प्रजनन् अधिकारबारे बुझेका छैनन् ।
नेपाल जनसांखिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा ५७ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा हुने गरेको छ । तर, यहाँका अधिकांश मधेशी समुदायका महिला स्वास्थ्य संस्था बाहिर सुत्केरी हुने ४३ प्रतिशत महिला अन्तर्गत पर्दछन् ।
गडेका आँखा, चाउरिएको अनुहार, फुस्रा छाला विमलादेवीको शारीरिक अवस्था हेर्दा ५० वर्ष नघेकी झैं देखिन्छिन् । तर, उनको उमेर ३५ वर्ष मात्रै हो । अहिलेसम्म विमलादेवी ६ सन्तानकी आमा भइसकेकी छिन् । उनी अहिले ९ महिनाकी गर्भवती हुन् । गर्भ जँचाउन स्वास्थ्य चौकी पुगेकी विमला सातौं सन्तानको पालोमा मात्रै अस्पताल पुगेकी हुन् ।
यो पटक घरमा स्वास्थ्य स्वयंसेविका आएर जसरी पनि जँचाउन जानु भनेपछि मात्रै स्वास्थ्य चौकी आएको बताईन् । तर ४ पटक जाँच गर्नु पर्नेमा एक पटक मात्र परीक्षणको लागि स्वास्थ्य चौकी पुगेकी छन् । अन्य तीन पटक भने जचाँउन जानै बिर्सिएको उनले बताईन् ।

मधेसी समुदायमा, पढ्ने उमेरमा विवाह गराउने प्रचलन र उमेर नपुग्दै आमा बन्ने र नियमित स्वास्थ्य जाँच नगराउदा प्रजनन् स्वास्थ्य समस्याका कारण धेरै महिलाको मृत्यु समेत हुने गरेको छ । अर्कोतिर नवजात शिशु स्वास्थ्य भए नभएको जाँच नहुँदा शिुशुमा पनि विभिन्न स्वास्थ्य समस्या देखा पर्ने गरेको पाईन्छ । सर्लाहीमा स्वास्थ्य अधिकारको क्षेत्रमा काम गर्दै आएकी हेल्थ असिस्टेन्ट ज्योति श्रेष्ठ मधेसी समुदायका महिलाहरुमा गर्भवती भएको समयमा ४ पटक गर्भवती परीक्षण गर्नु पर्छ भन्ने कुराको ज्ञान नै नभएको बताउँछिन् ।

नियमित स्वास्थ्य जाँच नगर्दा प्रसुती अवस्थामा जटिल समस्या देखा पर्ने गरेको बताईन् । उनले ग्रामिण स्तरमा महिलाहरुलाई प्रजनन् स्वास्थ्यको महत्व र प्रजनन अधिकारका बारे छलफल, परामर्श जस्ता ब्यवहारिक ज्ञान दिन धेरै आवश्यक रहेको बताईन् ।

हेमलता जी.सी कैलालीबाट पत्रकारिता गर्नुहुन्छ । 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: