सर्मिला बुढाथोकी
दोलखा । दोलखाको तीन वटा स्वास्थ्य चौकीमा गरिब तथा विपन्न महिलालाई लक्षित गरी प्रसूति प्रतिक्षालय सञ्चालन गरिएको छ । जिल्लाको पवटी, नाम्दु र फस्कु स्वास्थ्य चौकीमा प्रसुती प्रतिक्षालय सञ्चालन गरिएको नेपाल जनस्वास्थ्य संघ (नेफा)का जनक रावतले जानकारी दिनु भयो ।
स्वास्थ्य चौकीको भवनमा सञ्चालन गरिएको प्रसुती प्रतिक्षालयमा बिरामी कुरुवाको लागि खाना पकाउने भाँडा र तयारी बेडको व्यवस्थापन गरिएको छ । प्रसुतीको लागि आउने महिला तथा सहयोगीलाई बस्न र खान समस्या नहोस् भन्ने उदेश्यले प्रसुती प्रतिक्षालय सञ्चालन गरिएको उल्लेख गर्नुहुदै रावतले भन्नु भयो – ‘यसले स्वास्थ्य चौकीमै प्रसुती गराउने संख्यामा समेत बृद्धि हुने छ ।’
युनिसेफ र नेपाल जनस्वास्थ्य संघ (नेफा) को सहयोग तथा जिल्ला स्वास्थ्य कार्यलयको समन्वयमा प्रतिक्षालय सञ्चालनमा आएको हो । युनिसेफले प्रसुती प्रतिक्षालय कार्यक्रम अन्र्तगत नै ५० हजारको आकस्मिक प्रसुती कोषको समेत स्थापना गरिदिएको छ । उक्त कोषबाट तत्काल अन्यत्र पठाउनु पर्ने सुत्केरी महिलाहरुका लागि २५ सयदेखि ५ हजारसम्म ३ महिना भित्रमा फिर्ता गर्ने गरि विना व्याजमा ऋण दिने रावतले जानकारी दिनु भयो ।
असार १५ गतेबाट सञ्चालन गरिएको प्रसुती प्रतिक्षालयमा अहिलेसम्म १५ जना सुत्केरी महिलाले सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । त्यसरी सेवा लिनेमा पवटी स्वास्थ्य चौकीबाट ८ जना, फस्कु स्वास्थ्य चौकीबाट २ जना र नाम्दु स्वास्थ्य चौकीबाट ५ जना रहेका छन् ।
भुकम्प प्रभावित जिल्लाका गरिब तथा विपन्न सुत्केरी महिलाहरुको सुविधाको लागि सञ्चालन गरिएको प्रसुती प्रतिक्षालय दोलखा सहित १२ जिल्लामा रहेको र यो निक्कै प्रभावकारी भएको नेपाल जनस्वास्थ्य संघले जनाएको छ ।
Comment Here!