खेमा बस्नेत
काठमाडौं । महिलाले अवसर पाए समाज र संस्कारले गर्न सक्दैन र हुँदैन भन्ने काम गरेर उदाहरण बनेका थुप्रै महिला छन् । तिनै मध्येकी एक हुन् कैलाली धनगढीगाउँकीे ३२ बर्षिया पुष्पा भण्डारी ।
२०४२ सालमा कैलालीको धनगढीगाउँमा जन्मेकी पुष्पाको सपना नेपाल आर्मी बन्ने थियो । यद्यपी उनको यो सपना पुरा भएन । केही फरक काम गर्नुपर्छ भन्ने सोच राख्ने पुष्पाको आर्मी बन्ने सपना तुहिएसंगै उनको लक्ष्य मोडियो । त्यतिवेला सुदूरको परिवेशमा बिल्कुल नयाँ मानिने पेशा उनले अंगालिन । त्यो थियो ड्राइभर पेशा । त्यसमाथि उनी बनिन् नगरको शववाहन चालक ।
तत्कालिन धनगढी नगरपालिकाले दिएको ३ महिने ड्राइभिङ तालिम लिएपछि पुष्पाले २०६२ सालमा लाइसेन्स(सवारी चालक अनुमति पत्र) प्राप्त गरेकी थिइन् ।
लाइसेन्स पाएसगै उनले स्थानीय सीता ड्राइभिङ सेन्टरमा चालक उत्पादन गर्ने कार्य थालिन् । २ हजार भन्दा धेरैलाई गाडी चलाउन सिकाइन् । जब पुष्पाले पुरुषलाई ड्राइभिङ सिकाउथिन् त्यतीबेला उनलाई हेर्ने र देख्नेले जिब्रो टोक्थे । केटी भएर ड्राइभर त्यो पनि पुरुषलाई सिकाउने मान्छे ! अचम्म पर्थे ।
त्यस समयमा त्यो क्षेत्रमा पुरुषले मात्र बस, जिप, ट्याक्टर चलाएको देखेका थिए । ‘जतिबेला म पुरुषलाई ड्राइभिङ सिकाउथें । जिप चलाउथें मान्छेहरु अचम्म मानेर हेर्थे । त्यो समय महिलाले ड्राइभिङ गर्ने त के कुरा, महिलाले गाडी सिक्ने कुरा नै आश्चर्यको विषय थियो’ पुष्पाले भनिन् ।
२ बर्षपछि २०६४ साल यता उनको परिचय थप चाखलाग्दो बनेको छ । उनी धनगढी उपमहानगरपालिकाको फोहोर तथा लावारिसे लास उठाउने ट्याक्टर ड्राइभरमा भर्ना भइन् । उनी यसै पेशामा स्थापित भएकी छन् ।
उनी आफ्नो पेशालाई समाजसेवाको अर्को पाटोको रुपमा मान्छिन् । हरेक दिन नगरको फोहोर संकलन गर्नेदेखि कुनै व्यक्तिको मृत्यु भएमा शव घाटसम्म पु¥याउन उनी पुग्छिन् ।
बाटोका वेवारिसे शव व्यवस्थापन गर्नदेखि घर तथा अस्पतालबाट शव ओसारपोसार गर्न समेत उनलाई बोलाउने गरेको पुष्पाले बताइन् ।
शव बोक्ने मात्र हैन उनले कतिपय अवस्थामा चिहान बनाइदिने, कोहीसंग सेतो कपडा किन्ने पैसा पनि हुँदैन, उनीहरुलाई आवश्यक संस्कारगत सामाग्री जुटाइदिन पनि उनी तयार हुन्छिन् । यसरी नै १० वर्ष वितेको छ । सेवा गर्न पाउँदा उनलाई सष्तुष्टि पनि मिलेको छ । भन्छिन्–‘पेशासगै सामाजिक दायित्व पनि निर्वाह गर्न पाएकी छु ।’
उनी हरेक दिन असहाय, गरीबहरुको आफन्त, बेवारिसे शवकी मलामी, दाईभाइ, आमाबुबा बनेकी हुन्छिन् । उनको से.१ त.७९० नम्बरको ट्याक्टर धनगढीबासीका लागि प्रिय छ र पुष्पा सबैकी सम्मानित पात्र ।
‘मैले बोक्ने शवका प्राय मलामी हुदैनन् । नत आफन्तको मृत्यु भएको शोकमा आशु बगाउने मान्छे नै । उनीहरुका लागि म र मेरो ट्याक्टर सबै हो’ पुष्पाले भनिन् ।
पुष्पा धेरै पटक राती १२/१ बजे समेत शव लिएर मोहनाघाट पुगेकी छन् । छोरी मान्छेले लास छुनुहुदैन भन्ने मान्यता उनको लागि अवपाद भएको छ । ‘मेरो काम गर्ने कुनै समय हुँदैन । मुखमा खाना लाको गाँस छाडेर पनि शव उठाउन पुग्नै पर्छ । धेरै समय त मेरो मोहना नदीमा नै वित्ने गर्दछ । दिनको त कुनै नगरौ रातको १२/१ बजे शव बोकेर म मोहना नदीमा पुगेकी छु’पुष्पाले भनिन् ।
यो पेशामा लागेदेखि समाज र घरपरिवारबाट थप हौसला र आत्मबल मिलेको उनको भनाई छ । छोरी भएर पनि बहादुरी कार्य गरेको भन्दै प्रशंसा मिलेको छ । ‘तिम्ले छोरी भएर पनि बहादुरीको काम गरेकी छौ, छोरी भन्दै धेरै आमाबुबाको आर्शिवाद पाएकी छु । सबैले प्रशंसा गर्नुहुन्छ । म खुशी हुँदै मनमा सोच्छु सेवा नै धर्म हो ।’
Comment Here!