अप्रिल अधिकारी
रामेछाप । रामेछाप नगरपालिका ५, रामपुरकी ७७ वर्षीया प्रितिमाया तामाङ गाउँमै धाराबाट पानी आएपछि दंग हुनुहुन्छ । सानैमा विवाह गरी बुहारीका रुपमा रामपुर भित्रनु भएकी तामाङले बुढेसकाल लाग्दासम्म ३ घण्टाको बाटो धाएर हरेक दिन पानी बोक्नुभयो ।
अहिले धाराबाट पानी झरेपछि उहाँमा खुशीको सीमा नै नाघेको छ । आफ्नै दैलो अघि धाराबाट पानी झरेपछि त्यो दुःखका दिनलाई सम्झदै उहाँले भन्नुभयो– ‘मलाई गाउँमा यस्तो अवस्था होला र देख्न पाउँला भन्ने लागेको थिएन ।’ स्थानीयको श्रमदान र नेपाल रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा गाउँमा खानेपानी योजना सम्पन्न भएको हो ।
खानेपानी योजना बन्ने भएपछि पानी बोक्नु पर्दाको थकान र पीडाले सास्ती पाएका महिलाहरुले निकै जाँगर चलाएर श्रम गरेका थिए ।
गाउँका १ सय ५० घरधुरीबाट १० हजार रुपैयाका दरले चन्दा समेत उठाएका थिए । योजनाबाट रामेछाप रामपुरका १ सय ५९ घर धुरीका १ हजार १ सय २३ जनसंख्या लाभान्वित हुने भएका छन् ।
गाउँमा पानी आएपछि सवैलाई सुविधा पुगेपनि महिला सवैभन्दा बढी खुशी बनेको डल्ली तामाङ बताउनुहुन्छ । यसअघि पानी बोक्न पँधेरो र खोलामा धाउनुपथ्र्याे । राती राती पानी बोक्नुपथ्र्यो, पानीका निहुँमा धेरैसँग झगडा हुन्थ्यो । अब त धाराबाट पानी झरेसँगै दुःखका दिन अन्त्य भएकोमा उहाँ खुसी हुनुहुन्छ । अब पानी बोक्न खर्च हुने समय आय आर्जनका काममा लगाउने सोचमा डल्ली हुनहुन्छ ।
लिफ्ट सिस्टममार्फत खानेपानी योजना बनाएको हो । नेपाल रेडक्रस सोसाइटी रामेछापले खानेपानी योजना उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ । ५० हजार लिटर क्षमता रहेको योजनाका लागि रेडक्रसको ७२ लाख ६६ हजार ४ सय २१ रुपैयाँ, साविकको रामपुर गाविसको ९ लाख, समुदायको २१ लाख ३५ हजार ७ सय ६५ रुपैयाँ र समुदायको श्रमदान १६ लाख ८६ हजार ८ सय ६८ गरी कुल १ करोड १९ लाख ८९ हजार ५४ रुपैयाँ सहयोग रहेको जनाएको छ ।
Comment Here!