एचआईभी संक्रमित बालबालिकालाई कीर्तिपुरका विद्यालयले भर्ना लिएनन्


प्रकाशित मिति :2017-08-30 15:39:39

खेमा बस्नेत

काठमाडौं । कीर्तिपुरको एक संरक्षण गृहको आश्रयमा रहेका एचआइभी संक्रमित बालबालिकालाई एचआइभी भएकै कारण कीर्तिपुरका विद्यालयहरुले भर्ना लिन नमानेपछि उनीहरुको भविष्य अन्यौलमा परेको छ ।

वि.स २०७३ साल चैतमा कक्षा ८ उत्तीर्ण भएका ३ जना एचआईभी संक्रमित एक बालिका र दुई बालकलाई कीर्तिपुरका सामुदायिक र निजी विद्यालयहरुले नै भर्ना लिन नमानेका हुन् ।

जिल्ला शिक्षा कार्यालय काठमाडौंको तथ्याङ्क अनुसार कीर्तिपुर नगरपालिकामा सामुदायिक १५ वटा र संस्थागत २९ वटा विद्यालय छन् ।  ति ३ बालबालिका कक्षा ८ सम्म अध्ययन गरेका सफलता एचआइभी शिक्षा सदनका सञ्चालक राजु पुनका अनुसार कीर्तिपुर भरी रहेका विद्यालयहरुले ३ जना बालबालिकालाई कक्षा ९ मा भर्ना लिन नमानेका हुन् ।

यसअघि उनीहरु राजु पुन र उमा गुरुङले व्यक्तिगत प्रयासमा कीर्तिपुर भत्केपाटीमा सञ्चालन गरेका सफलता एचआईभी शिक्षा सदनमा अध्ययन गर्दै आएका थिए ।

पुनले भने – ‘हाम्रो विद्यालय कक्षा ८ सम्म पठनपाठनका लागि मान्यता प्राप्त छ । कक्षा ८ पास गरेर ३ बालबालिकालाई भर्ना गराउन म यहाँका सबै विद्यालय चाहारें तर कुनै विद्यालयले भर्ना लिएन ।’

एचआईभी लागेका व्यक्तिसँगै बसेर खाँदा, सँगै बसेर पढ्दैमा सर्दैन भन्ने कुराको चेतना हुँदाहुँदै पनि संक्रमित बालबालिकालाई यहाँका विद्यालयले भर्ना लिन नमानेको उनले बताए ।

‘सबै विद्यालयले एउटै कारण देखाए भर्ना नलिनुको । उनीहरु एचआईभी संक्रमित थिए । एचआईभी भएका बालकालिकालाई भर्ना लिएमा अन्य बालबालिका आफ्नो विद्यालयमा भर्ना नहुने, विद्यालय छाडेर जाने र विद्यालय नै बन्द हुन्छ भन्दै उहाँहरुले भर्ना लिन मान्नुभएन’ पुनले भने ।

सफलता एचआइभी शिक्षा सदनले जिल्ला शिक्षा कार्यालयबाट कक्षा ८ सम्म पठनपाठनको मान्यता पाएकोे छ । विद्यालयले कक्षा ९ र १० पठनपाठनको मान्यता भने पाएको छैन । ‘कक्षा आठसम्मको मात्र मान्यता पाएको छ । कक्षा ९ र १० को पठनपाठनका लागि मान्यता नपाएकोले ३ जना विद्यालय अन्य विद्यालय लैजानु परेको हो’ पुनले थपे ।

पुनले यो समस्या लिएर जिल्ला शिक्षा कार्यालय काठमाडौं समेत पुगेको बताए । जिल्ला शिक्षा कार्यालय काठमाडौंले सरकारी विद्यालयमा भर्ना गर्ने प्रयास गर्ने आसवासन दिए पनि सफल हुन सकेन । जिल्ला शिक्षाले सरकारी विद्यालयमा एचआईभी ३ जना बालबालिकालाई भर्ना गर्न नसकेको बताएपछि ति बालबालिका अहिले शिक्षा सदनमै पढ्दै आएका छन् ।

एचआईभी संक्रमित भएकै कारणबाट बालबालिकाको भर्ना हुन नसकेपछि जिल्ला शिक्षा कार्यालय काठमाडौंले सफलता एचआईभी शिक्षा सदनलाई नै मौखिक रुपमा कक्षा ९ र १० सम्म पढाउन अनुमति दिएको छ । तर लिखित अनुमति नदिँदा उनीहरुको भविष्यको चिन्ता थपिएको छ ।

जिल्ला शिक्षा कार्यालय काठमाडौंका अनौपचारिक तथा शैक्षिक गुणस्तर शाखा अधिकृत शिव रेग्मीले सफलता एचआइभी शिक्षा सदनलाई कक्षा ९ र १० सम्मको शैक्षिक अनुमति यो वर्षको चैतसम्म दिइसक्ने बताएका छन् ।

‘उहाँहरुले कक्षा ९ र १० को शैक्षिक अनुमति लिन ढिला आउनुभएकोले दिन सकेनौं । त्यसैले यो वर्षको चैतसम्म अनुमति मिल्छ’ अधिकृत रेग्मीले भने । एचआइभी संक्रमित बालबालिको शिक्षा पाउने अधिकारबाट बन्चित नहुन् भनेर शिक्षा सदनलाई पठनपाठन गर्ने अनुमति दिएको र परीक्षा दिनका लागि अन्य विद्यालयमा व्यवस्था गर्ने उनले बताए ।

‘ति बालबालिकालाई उहाँहरुले पढाइरहनुभएको छ । जहाँसम्म परीक्षाको कुरा छ उहाँहरुले अन्य विद्यालयमा परीक्षा दिने व्यवस्था गर्न सक्नुभएन भने हामी आफैले अन्य विद्यालयबाट परीक्षा दिने व्यवस्था मिलाउने छौं ।’ शाखा अधिकृत रेग्मीले बताए ।

जिल्ला शिक्षा कार्यालय काठमाडौंका सूचना अधिकारी बुद्धी भट्टले एचआइभी संक्रमित भएकै कारण भर्ना नलिएका विद्यालयको विरुद्धमा लिखित उजुरी कार्यालयमा नआएकोले ति विद्यालयलाई कारबाही गर्न भने नसकिएको बताउँछन् ।

विगत ८ वर्षदेखि सफलता एचआईभी शिक्षा सदनमा सुदुरपश्चिमका विभिन्न जिल्ला तथा सल्यान, दाङ, बर्दियाका २३ जना एचआईभी संक्रमित बालबालिकाहरु पढ्दै आएका छन् । राजकुमार पुन र निर्देशक उमा गुरुङले सञ्चालन गरेको विद्यालयले एचआइभी संक्रमित बालबालिकालाई आवासीय रुपमा अध्यापन गराउँदै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: