छोरा पाउने आशाले ज्यानै जोखिममा


प्रकाशित मिति :2017-09-01 10:52:02

-मनोहरकुमार पोखरेल-

राजविराज : सप्तरीकी ३५ वर्षीया भुटीदेवी राम उमेरभन्दा निकै पाकी देखिन्छिन् । तिरहुत गाउँपालिका ५ लोहजरा बुधेवा टोलकी भुटीदेवीले छोरा पाउने आसमा एकपछि अर्को गर्दै ६ छोरी जन्माई सकिन् । जेठी छोरीको उमेर १७ वर्ष पुगिसकेको छ तर पनि उनलाई एउटा भए पनि छोरा जन्माउनुपर्ने पारिवारिक दबाब छ ।

पालमुनि छोरीहरूका साथ भुटीदेवी

जेठी छोरीको जन्म भएपछि जुम्ल्याहा छोरी भएका र चौथो सन्तानका रूपमा पनि छोरी नै भएपछि पुनः जुम्ल्याहा छोरी जन्मिएको उनले बताइन् । पटकपटक सुत्केरी हुनु तथा पोषिलो खानपिन र आराम नपाउनाले उनको शारीरिक अवस्था दिनानुदिन कमजोर हुँदै गएको छ । त्यसमाथि कामको बोझ बढ्दै गएको छ । तर, सामाजिक र पारिवारिक दबाबका कारण छोरा पाउने आस भने अझै मारेकी छैनन् उनले ।

छोरी सबै बिहे गरेर अर्काको घर जान्छन्, बुढेसकालको सहाराका लागि पनि छोरा त चाहियो नि । छोरा नभए वंश रोकिने हुनाले एउटा भए पनि छोरो त चाहिन्छ ।-भुटीदेवी राम, ६ छोरीकी आमा

छोरा नभए समाजले अपुतो भन्ने र छोरीको विवाह गरेर ज्वाइँको घर पठाएपछि बुढेसकालको सहारा छोरा मात्र हुने भएकाले पनि छोरा आवश्यक भएको उनको भनाइ छ । ‘छोरी सबै बिहे गरेर अर्काको घर जान्छन्, बुढेसकालको सहाराका लागि छोरा त चाहियो नि’, भुटीदेवीले सुनाइन्, ‘छोरा नभए वंश रोकिने हुनाले एउटा भए पनि छोरो त चाहिन्छ ।’

बढी कमाइको आसमा रोजगारीका लागि श्रीमान् काठमाडौं लागेपछि उनले नै सम्पूर्ण घर व्यवहार सम्हालेकी छन् । श्रीमान्को एक्लो कमाइले घर धान्न नसकेपछि भुटीदेवी पनि गाउँमा मजदुरी गर्छिन् । छोरीहरूको उमेर बढेसँगै घरखर्च अभाव भएपछि उनले कक्षा सात पढ्दै गरेकी जेठी छोरी रञ्जितालाई विद्यालयबाट निकालेर मजदुरी गर्न लगाइन् । अहिले जेठी छोरी पनि काम गरेर घरखर्चमा सहयोग पुर्‍याउँछिन् ।

छोराको आसमा ६ छोरी जन्माएका राम दम्पतीको जीवन सन्तान हुर्काउँदैमा बितिरहेको छ । छोरीहरूकै लालनपालमा सबै खर्च हुने भएकाले बस्ने छाप्रोसमेत उनीहरूले जोड्न सकेका छैनन् । ऐलानी जमिनमा बनाएको एउटा झुप्रो पनि साउन २८ गते महुली खोलामा आएको बाढीले भत्काएपछि उनीहरू शरणार्थी बनेका छन् ।

छोरा नजन्मेसम्म सन्तान जन्माइरहने बस्तीको चलन नै देखिन्छ । खासगरी अशिक्षित दलित परिवारमा छोरा नभएसम्म महिला सुत्केरी भइरहेको देखिन्छ । उनका देबर राजदेव रामका पनि तीन छोरी र एक छोरा छन् । छोरा नहुनुमा सन्तान जन्माउने आमालाई नै दोषी देख्ने अशिक्षित समाजका कारण पनि यस्तो हुने गरेको स्थानीय शिक्षक बेचु यादवले बताए ।

 लगातार ६ छोरी भएपछि उनमा आत्मग्लानीका साथै मानसिक तनाव पनि निकै बढेको छ । जतिपटक छोरी भए पनि छोराको आस गर्नैपर्ने भुटीदेवीको बाध्यता छ । छोरा नभएकै बहानामा श्रीमान्ले दोस्रो विवाह गर्न सक्ने उनको मनमा ठूलो त्रास छ । श्रीमान्ले दोस्रो विवाह गरे आफ्नो र छोरीहरूको झनै बिजोग हुने भयले भुटीदेवी ज्यान जोखिममा पारेर भए पनि छोराको आस गर्न बाध्य छिन् ।

साभार : अन्नपुर्ण पाेष्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: