महिला हिंसाको कारण


प्रकाशित मिति :2017-09-01 11:02:54

– रञ्जना श्रेष्ठ-

भाद्र १६, २०७४- असार अन्तिम साता रूपन्देहीको सम्मरीमाईमा कथित तल्लो जातसँग प्रेम गरेको भन्दै एक १६ वर्षीया युवतीलाई आफ्नै बुबा, दाइ लगायतले लाठी र बेलनाले जहाँ पायो त्यहीं कुट्नेदेखि कपाल लुछ्नसम्म पछि परेनन् । युट्युवमा सार्वजनिक भएको भिडियो हेर्दा लाग्थ्यो, एउटी निरीह किशोरीमाथि उनका बाबु र दाइहरू आफ्नो पुरुषार्थ देखाउन होडबाजी गरिरहेछन् । त्यहाँ कुनै दुई पक्षबीच लडाइँ भइरहेको थिएन, एउटी अस्त्रविहीन युवतीलाई भिडमा भएका आधा दर्जन पुरुषले निर्ममतापूर्वक एकतर्फी रूपमा कुटपिट गरिरहेका थिए । युवती प्रतिरोधहीन थिइन् । यहाँसम्म कि त्यहाँ उपस्थित महिलाहरूले समेत प्रतिरोध गरेको देखिएन । धन्न उनको ज्यानचाहिँ गएन ।

उनीमाथि आरोप थियो– सानैमा विवाह भइसकेको उनले आफूभन्दा तल्लो जातको केटासंँग प्रेम गरिन् । उनको गौना बाँकी नै थियो । यो घटनाले हाम्रो दरिद्र सामाजिक मनोविज्ञानलाई मात्र उजागर गरेको छैन, छोरीहरूको सामाजिक अधिकार र मानव अधिकारमाथि समेत उपहास गरेको छ । त्यसमाथि स्थानीय जनप्रतिनिधिले केटा अर्थात युवतीको प्रेमीलाई उल्टो १ लाख रुपैयाँ तिराउनुले लैंगिक हिंसालाई अपराध मानी पीडकलाई कारबाही हुने कुराको त खिल्ली नै उडाएको छ । समग्रमा यो घटनामा पिछडिएको सामाजिक चेतनाका साथै मुख्य रूपमा दुइटा गलत सामाजिक परम्परा जिम्मेवार छन् । बालविवाह र दाइजो प्रचलन ।

 कानुनत: बालविवाह अपराध हो । मुलुकी ऐनको बिहावारीको महल अनुसार १० वर्ष नपुगेकी बालिकाको विवाह गरे/गराएको रहेछ भने ६ महिनादेखि तीन वर्षसम्मको कैद र एक हजारदेखि दस हजार रुपैयाँसम्मको जरिवाना हुने उल्लेख छ । तर कानुनले अपराध माने तापनि हाम्रो समाजमा यो अझै कायम छ । विशेष गरेर तराईका विभिन्न जिल्लामा ५–६ वर्षकै उमेरमा विवाह गरिदिने र महिनावारीपछि १२ देखि १४ वर्षको उमेरमा गौना गर्ने प्रचलन अहिले पनि छ । यो भनेको विवाह भए पनि केटी माइतीमै हुन्छ । गौनापछि मात्र केटी स्थायी रूपमा केटाको घरमा बस्न जान्छिन् । यसबाट अधिकांश किशोरी पीडित छन् । यो नै पारिवारिक दुश्मनी र विखण्डनको कारण बन्ने गरेको छ ।

दाइजोको रकममा केटा पक्षको चित्त बुझाउन नसक्दा कतिपयको त गौनासमेत हुन नसकेर युवती विक्षिप्त बनेका घटना प्रशस्त छन् । यस्तै विवाहपश्चात केटा अध्ययनका लागि सहर पस्ने र केटी गाउँमै हुर्कने हुँदा सहरकी केटी देखेको केटाले गाउँकी आफ्नी विवाहित केटीलाई लाउन–खान नजान्नेको रूपमा बुझ्छ । उसको रोजाइ सहरकै केटी हुनपुग्छ । अनि अर्को पढाइको स्तर नमिल्ने । विवाह पश्चात पनि केटाले पढाइलाई जारी राख्न सक्छ । तर केटीको पढाइमा अवरोध आउँछ । उसले स्कुल छोड्नुपर्छ । बाबुआमा अलि उदार छन् र धेरथोर आर्थिक बोझ उठाउन सक्ने अवस्थाका छन् भने माध्यमिक तहसम्मको अध्ययन गर्न पाउँछे । त्यसपछिको पढाइलाई निरन्तरता दिन कित घरसंँग विद्रोह गर्नुपर्छ कि भने केटापक्ष केटीलाई पढाउन राजी हुनुपर्छ । यहाँसम्म कि यसपछि बाबुआमाले समेत आफ्नो छोरीलाई बोझ ठान्न थाल्छन् ।

तराई भेगका किशोरीहरूको सानैमा अर्थात् बालविवाह हुने र गौनाचाहिँ अलिपछि हुने परम्परा रहेको छ । साथै विवाहका तिलक वा दाइजोको समस्या पनि विकराल छ । यद्यपि सामाजिक व्यवहार सुधार ऐनले विवाह हुँदा तिलक लिनदिन हुँदैन भनेको छ । यस्तै विवाहका बेला दुलाहा वा दुलही पक्षले कुनै पनि नगद, जिन्सी, दाइजो, दान, बकस, भेटी दिनुपर्छ भनी विवाह अगाडि नै तय गर्न हुँदैन र दिएन भनेर विवाह गर्न इन्कार गर्न हुँदैन भन्ने उल्लेख छ ।

ऐनले गौना प्रचलनलाई समेत सम्बोधन गरेको छ । शब्दले गौना नभने पनि विवाह भइसकेको अवस्थामा दाइजो दिएन भनेर दुलही लान इन्कार गर्न हुँदैन भनी स्पष्ट बोलेको छ । ऐनले दाइजोको रकमसमेत तोकिदिएको छ । आफ्नो शरीरमा लगाएको बाहेक बढीमा १० हजारसम्म मात्र दाइजो दिन सकिने उल्लेख छ । तर यहाँ त ४० लाखसम्म दाइजो दिएको भन्ने बाबुहरू छन् । खोइ ऐनको कार्यान्वयन ? अर्को उदेकलाग्दो कुरा त के भने यस्ता बालविवाह र दाइजो लिएर गरेका अधिकांश विवाहमा जिल्लाका सांसद, सीडीओ, प्रहरी प्रमुख नै सहभागी भएका हुन्छन् ।

जबसम्म कानुन लागू गराउने निकायका पदाधिकारी नै यस्ता विवाहका साक्षी हुन्छन्, तबसम्म यसलाई व्यावहारिक रूपमा लागू गराउन कठिन हुन्छ । माथिको घटनामा जनप्रतिनिधिले उल्टो केटा पक्षकालाई १ लाख रकम जरिवाना गरेको कुरा कदापि न्यायोचित होइन र हुनसक्दैन । जनप्रतिनिधिले त घटनाको छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रियामा लैजानुपथ्र्यो । यद्यपि व्यापक दबाबपछि पीडकहरू अहिले कानुनी कारबाहीको प्रक्रियामा छन् ।

यसबाट प्रस्ट हुन्छ, अझै पनि हाम्रो समाज छोरीलाई परिवारको अंश मान्न र आफ्नो जिम्मेवारीका रूपमा लिन तयार छैन । यसको अर्थ छोरी अर्काको घर जाने जातमात्र हो भन्ने चिन्तन कायमै छ । जबसम्म यो चिन्तन हटाउन सकिन्न, तबसम्म अझै कति सम्मरीमाईकी छोरीहरूले यस्ता हिंसा खेपिरहनुपर्ने हो, सहजै अनुमान गर्न सकिन्छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार १ लाख ३८ हजार १५ जना नेपालीको १० वर्ष नपुग्दै विवाह भएको छ । तीमध्ये १ लाख १५ हजार १ सय ५० जना बालिका छन् भने २२ हजार ८ सय ६५ जना बालक छन् । क्षेत्रगत रूपमा हेर्दा पहाडमा भन्दा तराईमा बालविवाह बढी भएका छन् । तराईमा ६.५७ प्रतिशत, पहाडमा ४.०५ प्रतिशत र हिमाली भेगमा ०.६२ प्रतिशतको १५ वर्ष नपुग्दै विवाह भएको छ । यस्तै केन्द्रीय बालकल्याण समितिका अनुसार ३४ प्रतिशत बालबालिकाको विवाह १४ वर्ष नपुग्दै हुने गरेको छ ।

मधेसका करिब ९० प्रतिशत विवाह अघोषित दाइजो लिएरै हुने गरेको छ । त्यसैले सामाजिक विकृतिको रूपमा रहेको बालविवाह र दाइजो प्रचलनको अन्त्य नभएसम्म महिलामाथिको हिंसा अन्त्य हुन सक्दैन । सामाजिक प्रगतिको बाधकका रूपमा कायम बालविवाह र दाइजो प्रचलनलाई हटाउन निर्वाचित जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका हुन्छ । प्रमुख भूमिका परिवारकै हो । आफ्ना सन्तानलाई असल नागरिक बनाउन शिक्षामा जोड दिऔं । त्यसैगरी दोस्रो भूमिका समाजको हो । यदि हाम्रो वरपर बालविवाह र दाइजो लिएर दिएर विवाह हुँदैछ भने नजिकैको प्रहरी कार्यालयमा उजुरी गरौं ।

साभार : कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: