पाठ्यक्रममा लैङ्गिकता : अझै भएन सुधार


प्रकाशित मिति :2017-09-04 15:35:58

-प्रकाश सिलवाल-

काठमाडौँ । ‘मेरो आमा घरको मुख्य मान्छे हुनुहुन्छ ।’ कक्षा १ को नेपाली विषयको पाठ ३ मा घरका मूली मान्छे आमा हो भने चिनाइएको छ । उक्त पाठमा आमाले बच्चालाई सघाउँदै गरेको तस्विर पनि समावेश गरिएको छ । आमाले घरदेखि सन्तानको गृहकार्यमा सघाउने गरेकाले उहाँ घरको ठूलो मान्छे बच्चाले ठानेको भन्ने पाठको सन्देश देखिन्छ । तर, चित्रमा आमाले घरको मात्र काम गर्छिन् जस्तो प्रकारले प्रस्तुती गरिएको छ । आमा जागिर खाने वा कमाएर ल्याउने पनि गर्छिन् भन्नेतर्फ पाठ मौन छ ।

मुलुक समावेशी लोकतन्त्रमा प्रवेशपछि शिक्षाका नीति तथा पाठ्यक्रम र पाठ्यपुस्तकमा लैङ्गिक विभेदका प्रस्तुतीको क्रम घटेको छ । तर, पाठ्यक्रमलाई सुक्ष्म तरिकाले लैंगिक विश्लेषण गर्ने हो भने लैंगिक विभेद नघटेका थुप्रै उदाहरण छन् ।

कक्षा ९ को सामाजिक विषयको पाठहरुका तस्विरमा पनि राज्यका ठूला भनिएका व्यक्तिको तस्विर देखाउँदा, उखान, टुक्काको प्रयोग गर्दा, उनीहरुले भाषण गरेको देखाउँदा पुरुषको मात्र देखाइएको छ ।
महिलालाई भने अझै तल्लो ओहदामा सीमित गरिन्छ । पाठ्यक्रम विकास केन्द्रले गराएको “अ स्टडी अन जेण्डर मेनस्ट्रिमिङ् इन करिकुलम डेभलपमन्ट” मा एक महिला शिक्षकले भनेकी छिन्, ‘मुलुकमा राष्ट्रपति, सभामुख आदि महिला भइसके, पाठ्यपुस्तकमा नेता र ठूला मान्छेलाई चिनाउनुपर्दा पुरुषकै तस्विर हुन्छ, विद्यार्थीले कसरी लेलान् ?’

उनले आफूहरुले त्यस्ता पाठहरुलाई व्याख्या गर्दा महिलाको पदीय अवस्थामा समानता आउन थालेको थप बुझाउने गरिएको बताएकी छिन् । हिक्मतबहादुर खत्रीको नेतृत्वमा गरिएको सो अध्ययनले मानिसको चेतनास्तर परिवर्तन भएपनि माध्यमिक तहका पाठ्यपुस्तकमा लैङ्किताका आधारमा पूर्वाग्रह देखिएको ठहर गरेको छ ।

पाठ्यपुस्तकमा लैङ्गक समता नपाइएपनि पाठ्यक्रमका आधारमा शिक्षकले आफ्नो शैलीमा पढाउने गरेमा यस्ता समस्या क्रमश समाधान हुने अध्ययनले देखाएको छ । विद्यालयहरुमा जेण्डरलाई फरक फरक रुपमा बुझिने पाइएको पनि अध्ययनको सार छ । ‘जब हामीले जेण्डरका बारेमा प्रधानाध्यापकसँग कुरा गर्छाै, उहाँले आफूकोमा कुनै लैङ्गिक विभेद नभएको जनाएर पन्छने खोजेको पनि पाइयो ।’ प्रतिवेदमा भनिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले हाल परिमार्जित हुन थालेका पाठ्यक्रममा लैङ्गिताका हिसाबले कुनै पूर्वाग्रह नगरिएको बताउँदै त्यस्तो विषय गुनासो वा जानकारीका रुपमा आएमा विज्ञ समूहसहित परामर्श गरेर संशोधन गरिएको जनाए । त्यस्तो समस्या आएमा शिक्षक निर्देशिकाका माध्यमबाट तत्काल परिमार्जन हुने उनको धारणा छ ।

तराईमा महिला हिंसाको अवस्थाबारे विद्यावारिधी अध्ययनरत लक्ष्मीकुमारी सत्यालका विचारमा विद्यास्तरका पाठ्यक्रम र पाठ्यपुस्तकका महिला समानता वा लैङ्गिक समताका पक्षलाई उचित ध्यान दिइएको छैन । सत्याल भन्छिन्, ‘यदि पाठ्यपुस्तकमा त्यस्ता समानताका प्रस्तुती हुने अवस्था भएमा समाजमा हिंसा र विभेद कम हुन अवश्य मद्दत पुग्ने थियो ।’

‘हामीमाथि हुने कतिपय विभेद र हिंसाबारे भन्न हुने हो कि होइन, त्यो थाहा छैन हामीलाई यसबारे पढाउने पनि गरिएको छैन ।’ बाराही माध्यामिक विद्यालय, कास्कीमा कक्षा १० मा अध्ययनरत मञ्जु दाहालको यो भनाईले पाठ्यपुस्तको अर्पाप्तता दर्शाउँछ । उनी भन्छिन्, ‘पाठ्यपुस्तकमा पनि त महिला विभेद्का विषय छन् भने विद्यालयमा पनि त्यसको प्रभाव परिहाल्छ नि ।’

शिक्षा मन्त्रालय मातहतको शिक्षा विभागले विद्यालयस्तरमा गुनासो सुनुवाइका लागि गुनासो सुनुवाइ कार्यविधि, २०७३ जारी गरेको छ । लैङ्गिक समविकासका लागि बालिका शिक्षाको रणनीति २०६३ पनि छ ।

गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ मा शिक्षामा लैंङ्गिक पक्ष सम्बन्धी न्यूनतम र अपेक्षित मापदण्डहरु तय गरिएका छन् । उक्त कार्यविधिसहित विद्यालयमा बालमैत्री शिक्षा र लैङ्गिक संवेदशीलता अपनाउन विभिन्न नीति र दस्तावेज समय समयमा ल्याइएका हुन्छन् तर पाठ्यक्रम र पाठ्यपुस्तकमा भने अझै विभेद झल्किने सामग्रीहरु छन् ।

कक्षा ८ को नेपाली विषयको पाठ १० मा एउटा घटना शीर्षकमा चित्रमा केटा हाफ पेन्ट लगाएर फुटवल खेलेको छ । केटी फ्रक लगाएर । खेलमा पनि पोशाक समान राखिएको छैन । त्यसैगरी कक्षा ८ कै पाठ ६ मा मित्रता भन्नेमा गुरुकुल शिक्षा छ । हामी सधै केटाहरु मात्र पढेको सुन्दै आएका छौ तर गार्गी जस्ता विदुषी पनि थिए । उनीहरुले कहाँ पढे ? के गुरुकुल केटाहरुको लागि मात्र हो ? यस्ता लैंगिक असमानता झल्किने उदाहरण धेरै छन् ।

शिक्षा मन्त्रालयले ल्याएको महत्वाकांक्षी कार्यक्रम मानिएको सात वर्षे विद्यालय क्षेत्र विकास कार्यक्रममा पनि विद्यालय शिक्षामा पहुँच र गुणस्तर वृद्धिका लागि समता र सामाजिक समावेशीकरणाको सुनिश्चितताका लक्ष्य तथा रणनीतिहरु तय गरिएका छन् । त्यसमा पाठ्यक्रम र पाठ्यपुस्तकमा सामयिक सुधार र समयमा उपलब्धतालाई जोड दिइएको छ ।

शिक्षा मन्त्रालयका सह प्रवक्ता सरस्वती पोखरेल विद्यालयमा छात्राका लागि थप सहजता र पाठ्यक्रम तथा पाठ्यपुस्तकमा समेत लैङ्गिक समानताका लागि मार्गदर्शन गर्ने प्रकारको नीति जारी गर्ने तयारी भएको बताउँछिन् ।
शिक्षामा लैङ्गिक समताको सुनिश्चितता गरी लैङ्गिक समानताको प्रक्रिया थाल्न एक दसकअघि मन्त्रालयकै लागि चपला कोइराला, निलम बस्नेत, जुलिएट म्याक्याफ्रीले गरेको आधारभूत तथा प्राथमिक शिक्षा परियोजना— दोस्रोको लैङ्गिक अध्ययनले लैङ्गिक पूर्वाग्रह दर्शाउने भाषा प्रयोग भएका उदाहरणहरु विद्यालयका पाठ्यपुस्तक र बोलीचालीमा प्रशस्तै पाइएकाले त्यसलाई सुधार्न सुझाव दिएको थियो । जस्तो, ‘प्रधानाध्यापक’ र ‘शिक्षक प्रशिक्षक’ जस्ता शब्दहरुले पुलिङ्गलाई जनाउने भएकाले त्यसमा परिवर्तनको सुझाव दिइएपनि हालसम्म सुधार भएको छैन ।

डेढ दसकअघि भएको डकार सम्मेलनको सबैका लागि शिक्षाको लक्ष्य पारित गरेपछि नेपालले पनि “गुणस्तरीय आधारभुत शिक्षामा बालबालिकाको पूर्ण तथा समान पहुँच तथा उपलब्धीको सुनिश्चितताको लागि केन्द्रित हुँदै प्राथमिक तथा माध्यामिक शिक्षामा सन् २००५ भित्रमा लैङ्गिक असमानता निर्मूल पार्ने र सन् २०१५ सम्ममा लैङ्गिक समानता प्राप्ति गर्ने” नाममा विभिन्न कार्यक्रम भएपनि अपेक्षित रुपान्तरण हुन सकेको छैन ।

(रासस काठमाडौँमा कार्यरत सिलवाल शिक्षा पत्रकार समूहका पूर्व अध्यक्ष हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: