-सुरक्षा बराल-
काठमाडौं । गोरखाकी इन्दिरा (नाम परिवर्तन)को चितवनमा विवाह भएको थियो । विवाहपछि उनका एक छोरा र एक छोरी जन्मिए । तर, श्रीमान्सँगको सम्बन्ध बिग्रिदै गयो । श्रीमान्को वेवास्ता बढ्दै गएपछि दुई सन्तान लिएर उनी काठमाडौं आइन् ।
कीर्तिपुरमा बसेर ज्याला मजदुरी गर्न थालिन् । सोही क्रममा चिनजान भएका दीपक श्रेष्ठले इन्दिरालाई रोजगारीको लागि विदेश पठाइदिने आश्वासन दिए । सोझी इन्दिरा राम्रो कमाइको लागि विदेश जान लालयित त भइन् । तर, उनसँग नागरिकता, पासपोर्ट थिएन ।
दीपकले इन्दिरालाई आफ्नै पहलमा नागरिकता र पासपोर्ट बनाइदिने आश्वासन दिए । १२ सय रुपैयाँ हातमा राखिदिएर गोरखाको बस चढाए । र मीना राय नामकी युवतीलाई लिएर मोटरसाइकलमा दीपक गोरखा गए ।
इन्दिराको माइती घर भएको गाविस गोरखाको मसेल गाविस ६, मा नागरिकताको लागि सिफारिस लिन उनीहरु पुगे । त्यतिबेला नेपालमा नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको हाहाकार थियो । त्यस्तो समयमा गोरखा पुगेका दीपक र मिनाप्रति शंका गरेर स्थानीय आमा समुहले गोरखा प्रहरीलाई खबर ग¥यो ।
आमा समुहको सक्रियतामा इन्दिराको वैदेशिक रोजगारीको प्रकृया रोकियो । यद्यपी, प्रहरीले पक्राउ गरेको भोलिपल्टै दुवैलाई छाडिदियो ।
इन्दिराको घटनाले मानव बेचविखनको फेरिँदै गएको स्वरुपको प्रतिनिधित्व गर्दछ । स्थानीय महिला समुहको सक्रियतामा इन्दिराको जीवन त जोगियो । तर, काभ्रेकी तुलसा तमाङ (नाम परिवर्तन) को त राम्रो कमाउने आशामा जीवन नै बर्वाद भयो ।
तुलसा बिबिएस पास गरेर जागिरको खोजीमा थिइन् । धेरै प्रयत्न पश्चात उनले एउटा मार्केटिङ कम्पनीमा जागिर पनि पाईन् । तुलसाको अफिस नजिकै मेन पावर कम्पनीको कार्यालय थियो । मेनपावर कम्पनीका कर्मचारी र तुलसाको अफिसका कर्मचारीको खाजा खाने पसल एउटै थियो । त्यहीँ मेनपावरमा काम गर्ने एक जना एजेन्टसँग तलसाको परिचय भयो । तुलसाले एक दिन एजेन्टसँग वैदेशिक रोजगारीको जिज्ञासा राखिन् ।
केही दिनपछि एजेन्टले तुलसालाई विदेश जाने एक फरक प्रस्ताव सुनाए । तुलसाले भनिन् – ‘एजेन्टले निकै लामो समयदेखि नेपाल आउजाउ गरिरएको एक जना कोरियन नागरिक मंगोलियन मुलको नेपाली यूवतीसँग विवाह गर्न ईच्छुक रहेको र विवाह गरेर कोरिया लैजान तयार रहेको बतायो ।’ एजेन्टको अर्को सर्त पनि थियो तुलसा कोरिया जान इच्छुक भए उक्त कोरियनसँग विवाह गर्नुपर्ने ।
एजेन्टले थप आश्वासन दियो – एक डेढ वर्षपछि कोरियनसँगको दाम्पत्य जीवन मन परेन भने सम्वन्धविच्छेद गरेर स्वतन्त्र जीवन जीउन पनि सकिन्छ । तुलसालाई शुरुमा त एजेन्टको प्रस्ताव मन परेन । तर, एजेन्टले निकै कर गरेपछि कोरियनलाई भेटिन् । राम्रो अङग्रेजी बोल्ने तथा सामान्य नेपाली समेत बुझ्ने कोरियनको हार्दिक व्यवहारले उनी नजिकिइन ।
उनले भनिन् – कोरियनले आफुलाई नेपाली केटीहरु असल लागेका कारण विवाह गर्न इच्छुक रहेको लालसा देखायो । विवाह गरेर लगेकी श्रीमतीलाई कोरियामा लगेर राम्रो जागिर लगाई दिने बाचा समेत ग¥यो ।
भेटघाटपछि उनको कोरियन केटासँग निरन्तर सम्पर्क हुन थाल्यो । विस्तारै मायाले भरिएका म्यासेजहरु आउन थाल्यो । तुलसाको पनि कोरियन नागरिकतर्फ झुकाव बढ्दै गयो । विवाह गर्न मञ्जुर भइन् ।
उनीहरुले पारिवारिक सहमतिमै सन् २०१३ को फेब्रुअरीमा काठमाण्डौंबाट कोट म्यारिज गरे । विवाह गरेको एक महिना पश्चात तुलसा कोरियनसँग कोरिया उडिन् ।
कोरिया पुगेपछि मात्र उनले थाहा पाईन् कोरियनले उनलाई विवाह गर्नुको कारण घरेलु कामदार बनाउनु रहेछ । उसकी आमाले अर्कैसँग विवाह गरेकी रहिछन् । बहिनीको विवाह भइसकेको र सौतेनी आमाको पनि मृत्यू भइसकेकोले घरमा बाबु र १ जना सौतेनी भाई मात्र थिए । उनीहरुको लागि काम गर्न उनसँग विवाह गरेको रहेछ ।
विस्तारै उनको श्रीमान् हिंस्रक बन्न थाले । देवरबाट बलात्कृत भइन् । श्रीमान् र देवरबाट बलात्कृत हुनु उनको दैनिकी बन्न पुग्यो । झण्डै डेढ वर्षको यातना भोगिन् । एकदिन घरबाट भागेर सोल सहर आईपुगिन् । रोजगारीको सिलसिलामा कोरिया पुगेका एक नेपालीको सहयोगमा नेपाल फर्किइन् ।
नेपाल आएपछि मात्र थाहा भयो, एजेन्टले तुलसासँग विवाह गराईदिए बापत कोरियनसँग १ लाख २० हजार रुपैयाँ लिएको रहेछ । उनले प्रहरीमा उजुरी गरिन् । तर, तुलसाले कोरियनसँग कानुनी विवाह गरेर गएकोले एजेन्टलाई कानुनी कारवाही गर्न समस्या प¥यो ।
विगतमा नेपाली चेलिबेटी बेचविखनको मुख्य केन्द्र भारतीय सहरहरु थिए । वेचविखनका दलालहरुले भारतीय सहरहरुमा देहब्यपारको लागि नेपाली चेलीहरुलाई बेच्ने गर्थे । तर, पछिल्लो समय नेपाली चेलीहरुको बेचविखन विश्वव्यापी बन्न पुगेको छ । पढेका तथा सहरका चेलीहरु समेत वेचविखनको चंगुलमा फस्ने गरेका छन् ।
अमेरिकी सरकारको एक प्रतिवेदन अनुसार मानव तस्करी उन्मुलन, नियन्त्रण र नियमन गर्न नसकेका मुलुकहरुमा नेपाल पनि परेको छ । उक्त प्रतिवेदनले नेपाललाई ‘टिईर टु’मा राखेको छ । ‘टिईर टु’मा यस्ता मुलुकरु पर्छन् जसले मानव वेचविखन नियन्त्रणको न्यूनतम मापदण्ड हासिल गरेका छैनन् । तर पहल गरिरहेका छन् ।
प्रतिवेदनले के पनि उल्लेख गरेको छ भने ‘संसारका प्रायः देशरुमा नेपालबाट मानव तस्करी हुँदै आएको छ ।’ यसले पनि नेपाल मानव वेचबिखनको उच्च जोखिममा रहेको स्पष्ट पार्छ ।
पेपर म्यारिज, सरोगेसी, कलाकारिता तथा वैदेशिक रोजगार नेपाली महिला वेचखिखनका लागि लोभ्याउने आधार बनिरहेका छन् । यसअघि झुक्याएर बोर्डर कटाउने दलालहरु पछिल्लो समय सम्पूर्ण प्रक्रिया पु¥याएर विमानस्थलमा पासपोर्ट देखाएरै तेस्रो विश्वका मुलुकमा मानव तस्करी गरिरहेका छन् ।
नेपाल प्रहरीको मानव बेचविखन विरुद्धको डेक्सका अनुसार मानव वेचविखनलाई नियन्त्रण गर्न अन्तार्राष्ट्रिय समुदायसँगको सहकार्यलाई पनि जोड दिनु पर्ने देखिन्छ । नेपाल प्रहरीले मानव वेचबिखन न्यूनिकरणका लागि विदेश स्थित नेपाली दुतावासमा प्रहरी सहचारीको आवश्यकता महसुस गरेको छ । जसको लागि नेपाल सरकारलाई बारम्बार आग्रह गरिएको छ । एक अध्यायन अनुसार प्रति दिन ५४ जना नेपाली महिलाहरु बेचविखनको ओसार पसारमा पर्ने गरेका छन् ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रवक्ता तोयम राया दलालहरुले वेचविखनको आयाम बदलेको अनुपातमा नियन्त्रणको गतिविधी पछाडी परेको स्वीकार्छन् । वेचखिनमा परेका चेलीहरुको पुनरस्थापनाका लागि काठमाडौं मै दीर्घकालिन पुनरस्थापना केन्द्र निर्माण गरिएको उनको भनाई छ ।
मानववेचखिनको फेरिदो स्वरुपलाई नियन्त्रण गर्न परम्परागत संयन्त्र र सोचले मात्र संभव छैन । यसका आयाम र स्वरुपहरुबारे गहिरो अध्ययन र अनुसन्धान आवश्यक छ । त्यसैगरी राज्य तथा अन्य सरोकारवालाहरुले बदलिँदो स्वरुप अनुसारको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको एकीकृत कार्य गर्नु पर्ने देखिन्छ ।
(सुरक्षा बराल स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)
Comment Here!