यमुना खनाल
सिरहा । तेस्रो चरणमा असोज २ गते हुन गैरहेको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सिरहाबाट एक जना महिलाले मात्रै प्रमुख पदको उम्मेदवारीमा टिकट पाएको छ ।
जिल्लाका १७ स्थानीय तह मध्ये नेपाली काँग्रेस सिरहाले भगवानपुर गाउँपालिकाको अध्यक्षको लागि मिरादेवी यादवलाई टिकट दिएको हो । अन्य १६ तहमा पुरुषलाई मात्रै उठाइएको छ । अन्य दलले पनि महिलालाई प्रमुख तहमा उम्मेदवारी दिएका छैनन् ।
महिलालाई उपप्रमुखमै सीमित गरिएको छ । प्रमुख पदका लागि धेरै महिला आकांक्षी भएपनि स्थानीय तह निर्वाचन ऐनले बाध्य पारेको उपप्रमुख र वडा सदस्यमा मात्र महिलालाई उम्मेदवार बनाइएको हो ।
पार्टीभित्र आकांक्षीहरुबीच कुरा मिलाउँदा महिलालाई प्रमुख पदमा ल्याउन नसकेको नेकपा एमाले जिल्ला कमिटी सिरहाका सचिव योगेन्द्र यादवले बताउनुभयो ।
एकीकृत नेकपा माओवादीले पनि अहिलेसम्म प्रमुख पदमा महिलाको नाम सार्वजनिक गरेको छैन । धनगढी, गोलबजार, मिर्चैया, कर्जनहा नगरपालिकामा नेकपा माओवादी केन्द्रसँग तालमेल गर्ने नेपाली काँग्रसले उपप्रमुख पद खाली छाडेको छ । निर्वाचन कार्यतालिका अनुसार आज नै उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
Comment Here!