प्रदेश २ मा हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै यहाँका घरघरमा चुनाव लागेको छ । उम्मेदवार र अगुवा कार्यकर्ता जित सुनिश्चित गर्न घरदैलोमा व्यस्त छन् । मतदाता आकर्षित गर्ने होड सुरु भएको छ । यस्ता कार्यक्रममा महिलाको उपस्थिति भने शून्यप्राय देखिन्छ । ‘यहाँका महिला प्रचारमा हिंडैनन्,’ टाउकामा घाँस बोकेर घर फर्किरहेकी हरिपुर २ पिडारीकी नगिनादेवी चौधरीले बिहीबार भनिन्, ‘श्रीमान् हिजो (बुधबार) जानुभो, हामी त कहिल्यै जाँदैनौं ।’
‘अहिले उम्मेदवार बनेका महिला मात्रै कार्यक्रममा जान्छन्,’ स्थानीय प्रभु रायले भनिन्, ‘हाम्रो काम बालबच्चा, वस्तुभाउ हेर्न हो ।’ बिहीबार जिल्लामा निर्वाचन प्रचारका कार्यक्रममा पुरुष मात्र सहभागी थिए । अधिकांश व्यक्ति मोटरसाइकल र गाडीमा झन्डा राखेर घुमिरहेका देखिन्थे । चौतारा, चियापसल र बजारमा पनि पुरुषकै संख्या धेरै थियो । महिला धान गोड्न, घाँस काट्न, घरायसी काम र गोठालामा व्यस्त थिए । ‘हामी प्रचारमा जाँदैनौं,’ घाँस काटेर फर्किरहेकी मलंगवा १२ की राजवली मण्डलले भनिन्, ‘घरमूलीले जे चिह्नमा भन्यो, त्यसमै भोट हाल्ने हो ।’
परम्परादेखि यहाँका जिल्लामा राजनीतिलगायत सार्वजनिक कार्यक्रममा महिलाको सहभागिता न्यून हुने गरेको हरिपुर ४ का ५८ वर्षीय योगेन्द्र रायले बताए । ‘मधेसतिर जन्नी जात (महिला) ले राजनीति गर्दैन,’ उनले भने, ‘त्यसैले प्रचारमा पनि जाँदैनन् ।’ उनका अनुसार महिलालाई घरधन्दाको जिम्मा हुन्छ । उनीहरू बिहानैदेखि चुलोचौको र मेलापात गर्छन् । ‘खुलेर बोल्न पनि आउँदैन,’ रायले भने, ‘घुम्टो ओढेर के प्रचार गर्नु ?’
अहिले स्थानीय तहमा महिला अनिवार्य गरिएको छ । ‘उपल्ला पदमा धनी उम्मेदवार बनेका छन्,’ उनले भने, ‘वडासदस्य मात्र गरिबका भागमा परेको छ ।’ उनका अनुसार वडामा दलित महिला सदस्य अनिवार्य गरिएपछि यहाँका बस्तीमा उम्मेदवार तानातान भएको छ । ‘एउटै घरका जेठानी–देउरानी उम्मेदवार बनेका छन्,’ उनले भने, ‘तर राजनीति बुझेका छैनन् ।’
सर्लाही क्याम्पसकी प्राध्यापक प्रतिमा यादवले यहाँको संस्कार र परम्पराका कारण महिला घरको चारघेराभित्र सीमित हुने गरेको बताइन् । ‘यहाँ मजस्ता रोजगारी गर्नेलाई त चुलोचौकोले छोडैन,’ उनले भनिन, ‘सामान्य महिलाले कसरी अधिकार प्रयोग गरून् ।’ उनका अनुसार झन् चुनावका बेला घरको सम्पूर्ण कामको जिम्मा महिलालाई हुन्छ । ‘पुरुषले घरको काम गर्दैनन्,’ उनले भनिन्, ‘त्यसैले चाहेर पनि महिला खुल्न सक्दैनन् ।’ नयाँ व्यवस्थाअनुसार उम्मेदवार बनेका महिला र तिनका आफन्त मात्रै चुनावी कार्यक्रममा सहभागी भइरहेको उनले बताइन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँका ११ नगरपालिका र ९ गाउँपालिकामध्ये अधिकांशमा महिलालाई उपमेयरमा सीमित गरिएको छ । यहाँको बरहथवा नगरपालिकामा एमालेले कल्पना कटवाललाई मेयरमा प्रत्याशी बनाएको छ । ‘संविधानले गरेको बाध्यात्मक अवस्थाले उपमेयरमा भए पनि महिलाले अवसर पाएका छन्,’ यादवले भनिन्, ‘यहाँको परम्परा र संस्कारले पनि महिला खुल्न सकेका छैनन् ।’ अर्कोतर्फ कामको समय भएकाले महिलालाई घरधन्दाको बोझ बढेको उनले बताइन् ।
साभार : कान्तिपुर दैनिक
Comment Here!