फौजदारी कसुरसम्बन्धी नयाँ कानुन छिटै प्रमाणीकरण हुने


जबर्जस्ती करणी गरे श्रीमान पाँच वर्ष जेल

प्रकाशित मिति :2017-09-10 15:55:36

–महिला खबर–

काठमाडौं । अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमान पाँच वर्ष जेल जानुपर्ने भएको छ । फौजदारी कसुर सम्बन्धी नयाँ कानुनले वैवाहिक बलात्कारको नयाँ अवधारणा थपेको हो । नयाँ कानुनको दफा ४ को उपदफा ३ मा लोग्नेले स्वास्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्ष सम्मको कैद हुनेछ भनिएको छ ।

यसअघि मुलकी ऐन २०२० ले श्रीमानले श्रीमतीलाई जबर्जस्ती करणी गरेमा तीन महिनादेखि ६ महिनासम्म कैदको व्यवस्था गरेको थियो ।

नयाँ व्यवस्था सहितको कानून संसदबाट पास भई प्रमाणीकरणको क्रममा छ । व्यवस्थापिका संसद सचिवालयका प्रवक्ता भरत गौतमले यो कानुन संसदबाट पारित भइसके पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी रहेको बताउनुभयो ।
उहाँले फौजदारी कसुरसम्बन्धी विधेयक महत्वपूर्ण विधेयक भएको भन्दै यहि हप्ता भित्र प्रमाणीकरण हुने बताउनुभयो । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो कानून १ भदौ २०७५ बाट कार्यान्वयनमा आउनेछ ।

फौजदारी सम्बन्धि नयाँ कानुनमा कसैले हाडनाता करणी गरे जन्मकैद हुने भएको छ । समाजमा आफन्तबाटै महिला एवम् बालिकाहरु बलात्कृत भैरहेको अवस्थामा फौजदारी कसुरसम्बन्धी नयाँ कानुनले यस्तो व्यवस्था गरेको हो ।
त्यस्तै जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद हुनेछ । यसअघि मुलुकी ऐनले पनि आफूलाई जन्माउने आमाको करणी गर्नेलाई जन्मकैद हुनेछ भनिएको थियो ।

आफना एकै बाबुबाट जन्मेका दिदी बहिनी वा आफूले जन्माएका छोरीको करणी गर्नेलाई दश वर्ष कैदको व्यवस्था गरेको थियो ।

यस्तै सौतेनी आमा छोरा वा बाबु छोरी, सहोदर दिदी भाई वा दाजु बहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाई बुहारी वा देवर भाउजुको करणी भएमा चार वर्ष देखि दश वर्षसम्म कैद र चालीस हजार रुपैँया देखि एक लाख रुपैँया सम्म जरिबाना हुने भनिएको छ ।

एकै हागाँको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाती, एकै हागाँको ठूलो वावु वा काका भतिजी, एकै हाँगाको भतिजो ठूली आमा वा काकी, एकै हाँगाको ससुरो भतिजी बुहारी, साख्यै मामा भाञ्जी वा भानिज माइजु, आमा तर्फको ठूली आमा वा सानी आमा र छोरा र आफनी श्रीमती तर्फकी सासू र ज्वाईको करणी भएमा तीन वर्ष देखि ६ वर्षसम्म कैद र तीस हजार रुपैँया देखि साठी हजार रुपैँयासम्म जरिबाना हुने भनिएको छ ।

यि बाहेक आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता समेत विचार गरी एक वर्ष देखि तीन वर्षसम्म कैद र दश हजार रुपैँया देखि तीस हजार रुपैँया सम्म जरिबना हुने भनिएको छ ।

जबर्जस्ती करणी गरे उमेर हेरी सजाय

कानुनको दफा २१६ को उपदफा ३ को (क) मा जबर्जस्ती करणी गर्नेलाई महिलाको उमेर हेरी सजाय निर्धारण गरिने भनिएको छ । जस्मा दश वर्ष भन्दा कम उमेरकी बालिका भए दश देखि पन्ध्र बर्षसम्म कैद, दश वर्ष वा सो भन्दा बढी चौध वर्ष भन्दा कम उमेरकी बालिका भए आठ देखि १२ वर्षसम्म, चौध वर्ष वा चौध भन्दा बढी सोह्र वर्ष भन्दा कम उमेरकी बालिका भए ६ वर्षदेखि दश वर्षसम्म कैद र सोह्र वर्ष वा सोह्र वर्ष भन्दा बढी अठार वर्ष भन्दा बढी उमेरकी महिला भए पाँच वर्षदेखि आठ वर्ष सम्म र अठार वर्ष वा अठार वर्ष भन्दा बढी उमेरकी महिला भए चार वर्षदेखि साता वर्ष सम्म जेल सजाय हुने भनिएको छ ।

यस्तै सामूहिक रुपमा जवर्जस्ती करणी गर्ने वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ्य महिलालाई वा हातहतियार देखाई जवर्जस्ती करणी गरेमा माथि उल्लेखित सजायमा थप तीन वर्ष केदै हुनेछ भनिएको छ । यस्तै उपदफा ५ मा आफूलाई मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एचआईभी पोजिटिभ) वा सरुवा यौनरोग भएको थाहा पाउँदा पाउँदै कसैले जवर्जस्ती करणी गरेको रहेछ भने त्यस्तो कसूरदारलाई माथि उल्लेखित सजायमा थप तीन वर्ष सम्म कैद सजाय हुने छ भनिएको छ ।

थुनामा रहेको व्यक्तिसँग करणी गरेमा

नयाँ कानुनको दफा २१८ को उपदफा १ मा यदी कैद वा थुनामा रहेको व्यक्तिसँग सरकारी कर्मचारीले करणी गरेमा वा करणी गर्न अरु कसैलाई संयोग पारी मिलाई दिएमा करणी गर्ने र गराउनेलाई तीन वर्ष कैद सजाय हुनेछ भनिएको छ ।

आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गरेमा

नयाँ कानुनको दफा २१९ को उपदफा १ मा कसैले आफूले संरक्षण दिएको वा आफ्नो हेरविचारमा रहेको कुनै व्यक्तिसँग करणी गर्न वा होस ठेगानमा नरहेको वा शारीरिक वा मानसिक रोग लागी उपचार वा पुनस्र्थापना गर्ने कुनै संस्थामा राखिएको व्यक्तिसगँ त्यस्तो संस्थाको पदाधिकारी वा कर्मचारीले करणी गरेमा उपदफा २ बमोजिम कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ भनिएको छ ।

कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गरेमा

नयाँ कानुनको दफा २२० को उपदफा १ मा सरकारी वा निजी कार्यालयमा कार्यरत वा कुनै पेशागत सेवा वा व्यवसायिक कामको लागि सम्पर्कमा आएको वा रहेको कुनै व्यक्तिसँग त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारी वा त्यस्तो सेवा उपलव्ध गराउने व्यक्तिले कार्यालयको काम गर्दा वा त्यस्तो सेवा उपलव्ध गराउँदा वा गराउने स्थानमा करणी गर्न गराउन हुँदैन भनिएको छ ।

यदी करणी गरेमा वा गराएमा २ उपदफा १ बमोजिमको कसूर गर्ने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैँया सम्मको जरिवाना हुनेछ भनिएको छ ।

यौन दुव्र्यवहार गरेमा

नयाँ कानुनको दफा २२१ को उपदफा १ मा कसैले आफ्नो पति वा पत्नी, बाहेक अन्य व्यक्ति वा बालबालिकालाई निजको मन्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलमा वा खेल्ने प्रयास गरेमा, निजको भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाध अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्वन्धी आफनो अंग निजलाई छुन समाज लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शव्द मौखिक वा लिखित रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अन्य कुनै किसिमले अस्वाभाविक व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिनेछ भनिएको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैँयासम्म जरिबाना हुनेछ भनिएको छ ।

बालयौन दुरुपयोग गरेमा

नयाँ कानुनको दफा २२२ को उपदफा १ मा कसैले करणीका आशयले दश वर्ष भन्दा कम उमेरका बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेर, यौन सम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ । यस्तो कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद हुनेछ भनिएको छ ।

अप्राकृतिक मैथुन गरेमा

नयाँ कानुनको दफा २२३ को उपदफा १ मा कसैले कसैको इच्छा बिरुद्ध अप्राकृतिक मैथुन गरेमा कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैँयासम्म जरिबाना हुनेछ भनिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: