सिरहाका महिला उम्मेदवारका एजेण्डा


प्रकाशित मिति :2017-09-12 16:16:48

-यमुना खनाल-

सिरहा । प्रदेश नम्बर २ मा हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सिरहाका चार स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

जिल्लाका १७ वटा स्थानीय तह मध्ये ४ स्थानीय तहमा तीनवटा दल र एक जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

सिरहामा प्रमुख दलहरु मध्ये नेपाली काँग्रेसले सिरहाको भगवानपुर गाँउपालिकामा र राष्ट्रिय जनता पार्टीले गोलबजार नगरपालिकामा र लोक दलले मिर्चैया नगरपालिकाको मेयरको लागि महिलालाई उम्मेदवार बनाएको हो । अन्य ठाउँमा ती दलहरुले महिलालाई उपप्रमुखमै सिमित गरेका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राप्रपा नेपाल लगायतका दलहरुले उपप्रमुखमै महिलालाई सीमित गरेका छन् ।

प्रमुख वा उपप्रमुख मध्ये एक जना महिला हुनु पर्ने कानूनी व्यवस्था भएपनि प्रमुख पद महिलाहरुलाई दिन दलहरुले कन्जुस्याई गरेका छन् । बाध्यकारी व्यवस्था भएका पदमा मात्र दलहरुका महिला उम्मेदवार रहेका छन् ।

मीरादेबी यादव

सिरहाको भगवानपुर गाउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा मीरादेबी यादवले उम्मेदवारी दिनुभएको छ । नेपाली काँग्रेसको राजनीतिकमा सक्रिय रहेकी मीरादेवी यादवले महिलाहरुहरुको आर्थिक शसक्तिकरणमा जोड दिने बताउनुभएको छ । त्यसैगरी महिलाहरुलाई संगठित गर्ने, राजनीतिमा महिलाहरुलाई आकर्षित गर्ने, राजनीतिक नेतृत्वको लागि महिलालाई अवसर प्रदान गर्ने र महिला माथि हुने सबै खाले हिंसाको अन्त्यको लागि आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो ।

गीता कुमारी महतो

गोलबजार नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट गीता कुमारी महतोले मेयर पदको लागि उम्मेदवारी दिनु भएको छ । पारिवारिक राजनीतिकको कारण उहाँले टिकट पाउनुभएको हो । महतोले पनि आफ्नो एजेन्डामा मध्ये पहिलो एजेन्डा महिलामाथि हुने हिंसा अन्त्य, महिलाको नेतृत्व विकास र अबसरलाई जोड दिनुभएको छ । महिलाहरुलाई सीप विकास सम्बन्धि तालिम प्रदान गर्ने आर्थिक शसत्तिकरणका कार्यक्रम गरेर महिलालाई आर्थिक रुपले आत्मनिर्भर बनाउने उहाँको एजेण्डा छ ।

उहाँले छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक सामाग्री प्रदान गर्ने कुरा पनि चुनावी एजेण्डा बनाउनुभएको छ ।

त्यसैगरी सिरहाको मिर्चैया नगरपालिका लोक दलको तर्फबाट सीता देवी महतोले मेयर पदमा उम्मेदवारी दिनुभएको छ । ठूला दलहरुले महिलालाई अवसर नदिने गरेकाले आफुले सानो दलबाट भएपनि अवसर पाएको महतोले बताउनुभयो ।

मिचैया नगरपालिकाको नागरिक वडा मञ्चको अध्यक्ष, जलवायु परिवर्तन कृषक समुहको अध्यक्ष पदमा रहेर काम गर्दै आएकी महतोले मधेशमा महिलाको अस्तित्व नस्वीकारिने र महिलालाई सम्मान पनि नदिने भएकोले अस्तित्वको लडाईंमा उम्मेदवारी दिएको बताउनुभयो ।

आफूले निर्वाचनमा जिते महिलाहरुलाई घुम्टोबाट बाहिर ल्याउने उहाँको पहिलो प्राथमिकता छ । उहाँले भन्नुभयो ‘घुम्टो भित्र महिलाका हजारौं ईच्छा चाहाना र आकांक्षा थुनिएका हुन्छन् ।’ मेरो नेतृत्व उनीहरुका लागि हो । दहेज, छुवाछुत , बोक्सी लगायतका आरोप लगाएर अहिले पनि महिलाहरुलाई यातना दिने कुप्रथाको अन्त्यका लागि आफुले जिते काम गर्ने महतोले बताउनुभयो ।

चन्द्रकला देवी पण्डित

त्यस्तै सिरहाको सुखीपुर नगरपालिकामा चन्द्रकला देवी पण्डितले मेयर पदको लागि स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ । सुखीपुर नगरपालिकाको स्थायी बासिन्दा पण्डित लामो समयदेखि समुदायका दलित महिला र बालबालिकाहरुले भोगेका समस्याहरुमा सहयोगी बन्दै आउनुभएको थियो ।

उहाँको पारिवारिक पृष्ठभूमि राजनीतिक होइन । यद्यपी उहाँले सुखीपुरमा सामाजिक अगुवाको रुपमा गरिब, दुःखी र महिलामाथि हुने अत्याचार बिरुद्धमा र छुवाछुत बिरुद्ध समाजमा नेतृत्व गर्दै आउनुभएको छ ।

उहाँले दलित समुदायले आफुहरुको अगुवाई गर्ने नेतृत्व लिन आग्रह गरेपछि स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।

आफुले मेयर पदमा विजयी भए दलित महिलाहरुमाथि विभेद र छुवाछुतको अन्त्य गर्ने दलित महिलाहरुलाई समान अबसर प्रदान गर्ने उहाँको एजेण्डा छ । दलित समुदायका बालबालिकाको शिक्षामा समानता प्रदान गर्ने, महिलामाथि हुने घरेलु हिंसा नियन्त्रण गर्ने घरेलु हिंसा तथा महिला माथि हुने हिंसा सम्बन्धी बनेका कानुनबारे महिलालाई जानकारी दिने पनि उहाँले आफ्नो एजेण्डा रहेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: