जग्गाको लालपूर्जा र घर बनाइदिने नेतालाई भोट


प्रकाशित मिति :2017-09-13 15:27:23

-यमुना खनाल- 

सिरहा । असोज २ गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश नम्बर २, मा अहिले रौनक थपेको छ । उम्मेदवारहरु भोट माग्न जनताको घरदैलोमा व्यस्त छन् ।

सिरहाको लहान नपा १ स्थित सुकुम्बासी दलित बस्तीकी महिलाहरु आआफ्नो पीडा सुनाउँदै ।

तर, सिरहाको लहानका बाढी प्रभावित सुकुम्बासी महिलाले जग्गाको लालपूर्जा र घर बनाउन सहयोग गर्ने नेतालाई मात्रै भोट दिने अडान लिएर बसेका छन् । गएको साउन २७ गतेको बाढीले घरबारबिहीन बनेका उनीहरु ओत लाग्ने राम्रो बास र बसेको जग्गाको लालपूर्जा दिलाउनेलाई मात्रै भोट दिने बताउँछन् ।

गत साउन २७ गते आएको बाढीले लहान नपा १ की रेश्मी रामको घर भत्कायो । रेश्मीका चार छोराछोरी र बुहारी भत्केकै घरमा बस्छन् । खर्च नहुँदा उनीहरुले घर बनाउन सकेका पनि छैनन् । गाँउ टोलमा चुनाबी रौनक छाएको छ । तर, उनलाई चुनावको कुनै रौनक छैन ।

भत्केको घरको दलानमा बसेकी उनले भनिन्– ‘भोट माग्न नेताहरु त आउँछन् । तर बसेको जग्गाको लालपूर्जा र घर बनाइदिने नेतालाई मात्र यो पटकको चुनावमा भोट दिन्छु ।’

जग्गा नभएपछि उनी नदी किनारमा घर बनाएर बसेको करिब २० वर्ष बढी भयो । त्यसयता तीन वटा चुनावमा नेपाली काँग्रेसलाई भोट दिएकी उनले अब जग्गाको लालपूर्जा र घर बनाएर विजुली बालिदिने नेतालाई मात्र भोट दिने बताउँछिन् ।

ऐलानी जग्गामा बसेका कारण विद्युत प्राधिकरणले मिटर नदिँदा अँध्यारोमा जीवन बिताउनुु परेको उनले गुनासो गरिन् । ‘चुनावका बेला नेताहरुले विजुली, खानेपानी र लालपुर्जा दिन्छु भन्छन् तर जितेपछि फर्केर कोही आउँदैनन् ।’ उनले भनिन् ।

त्यही बस्तीकी मुनी सदाले पनि घरबास टुंगो लाउनेलाई आफ्नो मत दिने बताइन् । ‘सुकुम्बासी हामीलाई कसैले कुनै वास्ता गरेको छैन्,’ उनले भनिन्, ‘जसले लालपुर्जा दिन्छ, उसैलाई भोट दिने हो ।’ यो पटक पनि भोट लिने तर काम नगर्नेलाई भोट नदिने उनले बताईन् ।

‘सरकारी अस्पताल पुग्दा औषधी दिँदैन । छोराछोरी सरकारी विद्यालय गएपनि राम्रो पढाई हुँदैन्, गर्भा सदाले भनिन्, ‘हामी दलितका छोराछोरी पढ्ने विद्यालय र अस्पताल सुधार्न सक्ने नेता खोजेका छौं । हामीले यस्तो नेतालाई भोट दिन्छौं ।’

यहाँका दलितहरु मजदुरी गरेर जीवन धान्छन् । २० वर्ष पहिले जस्तो अवस्था थियो, आज पनि उनीहरुको आर्थिक अवस्था उस्तै छ । स्थानीय यूवा नेता रामशंकर साहले सबै दलका नेताहरु यहाँका सुकुम्बासी दलितलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेको बताए । उनले भने, ‘यो पटक स्थानीय तहलाई सुकुम्बासी व्यवस्थापन गर्न सक्ने र करको दायरामा ल्याउन सक्ने अधिकार दिएको छ । यो व्यवस्थापन गर्न सक्ने उम्मेदवारलाई मात्रै सुकुम्बासीको भोट जानेछ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: