-महिला खवर–
कपिलवस्तु । मायादेबी गाउँपालिका २, जिल्लाकै पहिलो बालविवाह मुक्त वडा घोषणा गरिएको छ । बालविवाह मुक्त हुनुका साथै वडालाई शतप्रतिशत पूर्ण विद्यालय भर्ना भएको वडा समेत घोषणा गरिएको छ ।
सोमबार लिडो नेपालको सहकार्यमा गाउँपालिकाद्धारा आयाोजित कार्यक्रममा वडा अध्यक्ष सुरफद्दीन मुसलमानले सो घोषणा गर्नुभयो । वडामा विगत एक वर्षयता एउटा पनि बाल बिवाह नभएको र आधारभुत तहका ५ देखि १२ वर्ष उमेरका बालबालिकाहरु विद्यालयको पहुँचमा रहेका प्रतिवेदनको आधारमा बालविवाह मुक्त र शतप्रतिशत भर्ना भएको वडा घोषणा गरिएको हो ।
८ सय ३५ घरघुरी रहेको वडामा मुस्लिम बाहुल्यता छ । कानुनले बिवाहका लागि २० वर्ष पुरा हुनु पर्ने नियम तोकेको छ । नेपाल सरकारले सन् २०३० सम्म मुलुकलाई बालविवाह मुक्त घोषणा गर्ने प्रतिबद्धता अनुसार ५ वर्षदेखि वडामा बालविवाह विरुद्ध अभियान थालिएको वडाअध्यक्ष मुसलमानले बताउनुभयो ।
सन २०१४ मा ५५ वटा बिवाह मध्ये ११ बालविवाह भएको थियो । सन् २०१५ मा ६० विवाह मध्ये १० वटा तथा सन २०१६ मा ४८ मध्ये एउटा मात्र बालविवाह भएको थियो । २ वर्ष भित्र गाउँमा रहेको अल्पसंख्क नेटुवा र दलित जातिमा मात्र बालविवाह भएको पाईएको मुसलमानले जानकारी दिनुभयो ।
सन २०१७ मा अहिलेसम्म वडामा कुनै पनि बालबिवाह नभएको उहाँले बताउनुभयो । ‘गाउँगाउँ र बस्ती बस्तीमा कार्यक्रम सञ्चालन गर्दै बालविवाह नगर्ने लिखिति प्रतिबद्धता गराएका छौं, जसको सकारात्मक परिणाम आएको छ’ उहाँले भन्नुभयो ।
यस्तै वडामा रहेका ५ देखि १२ वर्ष उमेरका सबै १ हजार ४ सय ७८ बालबिालका विद्यालयको पहँुचमा रहेको वडा सचिव रघुनाथप्रसाद चाईले प्रतिबेदन प्रस्तुत गरेका थिए । २०७३ चैतमा वडाको तथ्यांक संकलन गर्दा कुल ३ सय ४७ जना बालबालिका बिद्यालय बाहिर थिए । भर्ना अभियान कार्यक्रम नै सञ्चालन गरी २ विद्यालय, ६ मदरसा र ३ बाल विकास केन्द्रमा उनीहरुलाई भर्ना गराईएको उहाँले बताउनुभयो ।
Comment Here!