बिलाउँदैछन् छोरीहरू


प्रकाशित मिति :2017-09-15 10:39:59

शान्ति लामा

छोरीको संख्या कम भएपछि मारवाडी समुदायमा बुहारीको हाहाकार हुन थालेको छ, भन्ने आशयको ‘परिवार’ मासिकमा छापिएको खबरले एक ठूलो खतराको संकेत गर्छ । भदौ अकंमा अजित तिवारी यस्तै लेख्छन्- जवान छोराहरूका लागि मारवाडी समुदायमा बुहारी नभेटिएपछि छोराहरूको विवाह भारततिरका केटीसँग हुन थालेको छ । समुदायमा केटीकै अभावका कारण अन्तर्जातीय विवाह समेत बढेको छ । मारवाडी परिवारमा सम्बन्धविच्छेद, विघटन अनि विचलनको अवस्था देखापरेको छ ।

 मरेपछिको स्वर्गको लोभमा आज बाँचुन्जेल पाप गरिरहेका हुन्छन्, छोरीहरूको भ्रूण अवस्थामा नै हत्या गरेर । नजन्मिँदै छोरीको हत्या गरेर खै कुन स्वर्गको बास बस्न चाहन्छौँ ?

बुहारी भेट्दै मुस्किल हुन थालेपछि समुदायका केही सचेत महिला आफैँ अघि सरेर ‘बेटी बचाऔँ’ अभियान चलाइरहेका छन् । अस्पतालका भित्तामा ‘बेटी बचाऔँ’ अभियानका नारा टाँस्नेदेखि गर्भवती महिलालाई परामर्श दिनेसम्मका काम महिलाको अगुवाइमा भइरहेका छन् । जुन मुद्दामा ती महिला अभियान चलाउँदैछिन्, त्यो समुदायको मात्र नभई देशकै डरलाग्दो समस्या हो ।

केही समयअघि भारतीय अभिनेता आमिर खानको टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’को एक एपिसोडले छोरीको संख्या घटेपछिको समस्याबारे एक शृंखला प्रस्तुत गरेको थियो । त्यहाँ प्रसारित रिपोर्ट भन्छ— भारतका विभिन्न ठाउँमा कुमार संकट फैलिँदै छ ।  विवाह गर्ने उमेर काटिसक्दा पनि गाउँका पुरुषहरूका विवाह हुन सकेको छैन । गाउँमा पुरुषको विवाह हुन नसकेपछि थोरै संख्यामा भएका महिलामाथि जुनसुकै चोक अनि गल्लीमा आफ्नै दाजुभाइ पुरुषबाट छेडछाड र दुव्र्यवहार हुन थालेको छ । दुलही नपाएपछि केटी किनेर वा अपहरणसमेत गरी पुरुषको विवाह गर्ने परिस्थिति भारतमा सिर्जना भइसकेको छ ।

भारतका विभिन्न क्षेत्रमा बढेको यो समस्याको चुरो हो, लिंग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्ति । ठ्याक्कै यही प्रवृत्ति नेपालमा पनि मौलाइरहेको छ । मारवाडी महिलाको ‘बेटी बचाऔँ’ अभियान पनि यही प्रवृत्तिविरुद्ध लक्षित रहेको छ । त्यसैले उनीहरूले अस्पतालका भित्ताहरूमा समेत लेखिदिए, ‘छोरी नभई बुहारी कहाँबाट ल्याउने ?’

गर्भमै लिंग पहिचान गर्ने प्रविधि र गर्भपतनसम्बन्धी कानुनको दुरुपयोग गरी गर्भमै भ्रुणको लिंग पहिचान गरी गर्भपतन गर्ने चलन छ्याप्छ्याप्ती भइरहेको सरकारलाई पनि थाहा छ, समाजलाई पनि थाहा छ । तर यसलाई रोक्न किन कोही अग्रसर छैन, बुझिसाध्य छैन ।

नेपाली महिलाले निकै संघर्ष गरी गर्भपतनको अधिकार कानुनी रूपमा सुरक्षित गरे । मुलुकी ऐनमा १२ हप्तासम्मको गर्भ महिलाको स्वीकृतिमा पतन गर्न पाइन्छ । महिलाको स्वास्थ्यलाई असर गर्ने वा बच्चा विकलांग जन्मिन सक्ने भनी चिकित्सकको राय आएमा, हाडनाता करणी वा जबर्जस्ती करणीका कारण गर्भ रहन गए महिलाको स्वीकृतिमा १८ हप्तासम्मको मात्र गर्भपतन गराउन सकिने प्रावधान छ । तर मुलुकी ऐन, ११ औँ संशोधनको ज्यानसम्बन्धी महल (२८) ले गर्भपतन गराउने आशयले लिंग पहिचान गर्न नपाइने व्यवस्था गरेको छ ।

कानुनको यही कमजोरीमाथि टेकेर अहिले लिंग पहिचान गरी गर्भपतन भइरहेको अधिवक्ता किरण न्यौपानेको भनाइ छ । यस्तो प्रकारको गर्भपतनका घटनामा धेरैजसो स्त्री भ्रूणको हत्या भइरहेको छ । छोराको चाहनाका कारण हजारौँ अनि लाखौँ छोरीहरूको जीवन आमाको पाठेघरको अँध्यारोमा नै समाप्त भइरहेको छ । आमाको गर्भमा हुर्किरहेको जीवनको भ्रुणलाई गर्भमै तुहाउनु एक प्रकारको जीवन हत्या नै हो । त्यसैले, गर्भपतनलाई कतिले ‘भ्रुण हत्या’ पनि भन्ने गरिएको हो ।

एक मानव जीवनकै हत्या भए पनि हाम्रो कानुनले गर्भको ‘भ्रूण हत्या’का दोषीलाई ज्यान हत्याको अपराधीलाई जति कारबाहीको भागीदार बनाएको छैन । त्यसै कारण सजिलै लिंग पहिचान गरी गर्भपतन भइरहेका छन् भन्ने कतिले विश्लेषण गर्ने गरेका छन् । मुलुकी ऐनको ज्यानसम्बन्धी महलअनुसार लिंग पहिचान गरी गर्भपतन गर्ने÷गराउनेलाई छ महिनादेखि दुई वर्ष जेल सजायको व्यवस्था छ ।

तर लिंग पहिचान गरी गर्भपतन गर्नेलाई कानुनी कारबाही भएको कुरा खै किन सुनिँदैन, थाहा छैन । प्रशासन र सरकारका संयन्त्रले यस्तो अपराध भइरहेको थाहै नपाएको कुरा गर्छन् । कतिपय अवस्थामा सचेत स्वास्थ्यकर्मी नै यस्तो अपराधमा संलग्न हुने गरेको तथ्य अनौपचारिक रूपमा उनीहरू बताउँछन् । तर यस्तो अपराधबारे उजुरी आएको भने नगण्य मात्र सुनिन्छ । लिंग पहिचान गरी गर्भपतन गराइरहेको थाहा पाए जोसुकैले उजुरी गर्न सक्छन् । तर यस्तो गर्भपतन श्रीमान्, श्रीमती अनि घरपरिवारमा मात्र सीमित हुने गरेको बताइन्छ । कतिलाई लिंग पहिचान गरी गर्भपतन गर्न पाइँदैन भन्नेसमेत थाहा नभएको सामाजिक अभियन्ताहरूले बताउने गरेका छन् । त्यसैले मानिसहरू लिंग पहिचान गर्ने आधुनिक प्रविधिको प्रयोग गरी थाहै नपाई अपराध गरिरहेका छन् । यो अपराधविरुद्धको कानुन र यसका खतरनाक परिणामबारे बुझाउनुपर्ने स्वास्थ्यकर्मीहरू प्रलोभनमा परी आफैँ यसमा संलग्न हुने गरेको खबर बेलाबेला पढ्न अनि सुन्न पाउँछौँ ।

नेपालमा लिंग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्ति हुनुमा विभिन्न कारण छन् । अझै पनि पुरुष अर्थात् छोरामान्छे नै ठूलो मान्ने हाम्रो सोच छ । छोरालाई परिवारको आर्थिक सुरक्षाको आधार मान्ने संस्कारको त कुरै नगरौँ । छोरीले जतिसुकै कमाउने क्षमता राखे पनि ‘छोरीले पाल्छे’ भन्ने कुरामा कुनै अभिभावक पनि ढुक्क हुँदैनन् । धेरैमा त छोरीको कमाइ खानुहुँदैन भन्ने पुरातन सोच पनि कायमै छ । समाजको ठूलो हिस्सा यस्ता ‘वाहियात’ विश्वासको भूमरीमा बाँचेका छन् भनेपछि त्यो हिस्साले छोराकै चाहनाका लागि जे पनि गर्न तयार भइरहेको छ ।

छोरा चाहने अभिभावकको कुरा बुझ्दा, उनीहरू छोरामार्फत आफ्नो वंश बढाउन चाहन्छन् । आफ्नै कोखबाट जन्मिएका भए पनि छोरालाई मात्र वंशको उत्तराधिकारी मान्ने सामाजिक मान्यता छ । यसमा समाजको पुरुषसत्तावादी संरचना पनि जिम्मेवार छ । ऐतिहासिक रूपमा नै छोरीहरू वंश मात्र हैन, अंशबाट समेत वञ्चित छन् । हाम्रो मात्र हैन, संसारका अधिकांश समाजको वंशक्रम पुरुष वंशबाट चल्छ । पुरुष वंशक्रम चल्नुको मतलब पैतृक सम्पतिको हस्तान्तरण पुरुषतिर नै हुनु हो । त्यसैले निजी स्वामित्वको उत्तराधिकारीका रूपमा पुरुषको नै जन्म हुनु आवश्यक ठानिन्छ । छोरीलाई अंशको नीतिगत व्यवस्थाले मात्र समाजको यो लामो अभ्यासलाई तुरुन्तै परिवर्तन गर्न सक्ने अवस्था छैन । आफ्नो सम्पत्ति आफ्नै वंशमा राख्न चाहनेहरूमा छोरीलाई सम्पत्ति दिए अन्य वंशमा जाने डर हुने नै भयो । त्यस्तालाई छोरा नभई कहाँ हुन्छ र ? बिहे गरेर पनि छोरीको वंश र थर परिवर्तन नहुने तामाङ जस्ता जातिमा समेत पैतृक सम्पत्ति पुरुषतिरै जाने चलन विद्यमान छ । त्यसो भएपछि त्यस समाजमा छोराको आकांक्षा नराख्ने को हुन्छ र ?

हिन्दू समाजको कुरा गर्ने हो भने, मर्दा दागबत्ती दिने छोरा नभए स्वर्गको ढोका नउघ्रिने अर्थ न बर्थका विश्वासमा समाज अझै जकडिएको छ । त्यसैले छोरा पाउनु धर्म ठान्नेहरू कति छन् कति ! मरेपछिको स्वर्गको लोभमा आज बाँचुन्जेल पाप गरिरहेका हुन्छन्, छोरीहरूको भ्रूण अवस्थामा नै हत्या गरेर । नजन्मिँदै छोरीको हत्या गरेर रगत लत्पतिएका हात लिएर खै कुन स्वर्गको बास बस्न चाहन्छ समाज ?

तराई क्षेत्रको कुरा गर्ने हो भने स्त्री भ्रूण तुहाइनुमा दाइजो जस्तो विकृतिलाई कारण मान्ने गरिन्छ । छोरी जन्मिए विवाहमा दिनुपर्ने दाइजोका कारण सकेसम्म छोरी जन्माउन नपरोस् भन्ने भावना स्वयं आमाहरूमा नै हुन्छ । दाइजोका नाममा कुटिएका, जलाइएका आमाहरूले छोरी जन्माएर फेरि आफूजस्तै हिंसा सहनु परोस् भन्ने चाहना राख्लान् र ? पक्कै राख्दैनन् । यस्तै अन्य खालका महिला हिंसा बेहोरेका महिलाले छोरी जन्माएर फेरि त्यही हिंसाको संसारमा ल्याउन चाहँदैनन् । त्यसैले आमाहरू आफैँ पनि गर्भको भ्रुणको लिंग पहिचान गरी गर्भपतन गराउन उद्यत हुन्छन् । त्यसैलाई कतिले भने गर्भपतन गराउने महिलाकै इच्छाअनुसार हुन्छ भनेर अपव्याख्यासमेत हुने गरेको छ । तर छोरा नजन्माएको निहुँमा महिलालाई लाग्ने लान्छना, विभेद अनि हिंसाको हिसाबकिताब कसैले गर्दैनन् ।

गर्भवती अवस्थामा नै छोरा होस् भनेर प्रार्थना गर्ने परिवार होस् वा गर्भवती महिलाको आनीबानी र शरीरको बनौट हेरेर छोरा हुन्छ या छोरी हुन्छ भन्दै भविष्यवाणी गर्न अघि सर्ने समाजका मानिस सबैबाट महिलामाथि छोरा जन्माउन दबाब दिइरहेको ठहरिन्छ ।

एउटा उदाहरण हेरौँ । ०७३ मा यो पंक्तिकार कञ्चनपुरको बेलौरी नगरपालिका पुगेको थियो । बेलौरीको लक्ष्मीपुर स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी धनशोभा खड्काले एउटा घटना सुनाइन्, जुन घटना समाजकै भविष्यका लागि खतरनाक छ । अलि उमेर ढल्केकी एक महिला गर्भवती जाँचका लागि स्वास्थ्य चौकी आइन् । पहिल्यै छोरीहरू जन्माइसकेकी उनी छोरा चाहन्थिन् । छोराकै चाहनामा उनले पहिले पनि एक पटकभन्दा बढी गर्भपतन गराइसकेको कुरा धनशोभाले पत्ता लगाइन् । अन्तिम पल्ट बेलौरीमा गर्भ जाँचका लागि आउँदा उनको स्वास्थ्यमा समस्या देखाप¥यो । स्वास्थ्यकर्मी खड्का अनुमान गर्छिन् कि पहिले पनि धेरै पल्ट गर्भपतन गराइसकेका कारण उनको यसपल्टको बच्चा गर्भमै म¥यो । गर्भमा मरेको बच्चा पनि छोरी नै थियो । स्वास्थ्यकर्मी खड्काले सुनाएकी थिइन्, ‘बच्चा मरेको खबरले ती बाँचेकी आमा खुसी भइन् । कारण, उनलाई अब छोरा नै जन्माउनुपर्नै दबाब थियो ।’

कुनै दबाबबिना के कुनै आमा आफ्नो बच्चा मर्दा खुसी हुन सक्छे ? मायाको प्रतीक मानिने एउटी आमालाई यस्तो निकृष्ट बन्न कसले बाध्य बनाउँछ ? के यसमा समाज जिम्मेवार छैन ? के हामी जिम्मेवार छैनौँ ? त्यसमाथि कसै गरी छोरी जन्मि नै हाले पनि सुत्केरी र बच्चालाई गर्ने स्याहार, पोषण तथा हेरचाहमा गरिने हेल्चेक्र्याइँ निकै रहेको स्वास्थ्यकर्मी बताउँछन् । ‘छोरा जन्मे खसी, छोरी जन्मे फर्सी’ भन्ने त हाम्रो उखान नै छ ।

स्वास्थ्यकर्मी धनशोभाका अनुसार भारतीय सीमा नजिकका गर्भवती महिला लिंग पहिचानका लागि भारतका विभिन्न अस्पताल र क्लिनिक जाने गर्छन् । एक महिनाअघि पेट उठेको महिला एक महिनापछि सम्मै भएर हिँडेको उनले धेरै देखेको सुनाइन् । सरकारी स्वास्थ्य संस्थामा लिंग पहिचान र गर्भपतन बन्देज गरिएपछि सीमा नजिकका भारतीय बजारमा गएर गर्भ फालेर आउने गरेका छन् । खड्काले भनिन्, ‘अनि गाउँ समाजमा ‘आफैँ झ¥यो’ भन्दै हिँड्छन् ।’ लिंग पहिचान गरी गर्भपतन गर्ने अपराध अब नियन्त्रणबाहिर गएकामा बेलौरीको लक्ष्मीपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी चिन्तित थिए ।

यहाँ केही जिल्लाको बालबालिकाको लिंग अनुपातको तथ्यांक हेरौँ, जसले हाम्रा छोरीहरू दिनानुदिन हराइरहेको कुरा स्पष्ट संकेत गर्छ । २०६८ सालको जनगणनाअनुसार बालबालिकाको लिंगअनुपात भक्तपुर ११५.५३, कास्की ११३.९३, रुपन्देही १०८.६८, सुर्खेत १०६.३३, कञ्चनपुर १०६.८६ रहेको छ । अब २०५८ को हेरौँ, भक्तपुर १०८.६५ , कास्की १०४.६४, रुपन्देही १०४.७०, सुर्खेत १०५.०९, कञ्चनपुर १०३.१८ छन् । यो तथ्यांकले १० वर्षको बीचमा ती जिल्लामा बालबालिकाको लिंग अनुपातको असन्तुलन बढ्दै गएको देखाउँछ ।

यी बालबालिकाको लिंग अनुपात धेरै भएको जिल्लामध्येका जिल्ला हुन् । कास्की जस्तो साक्षर जिल्लामा एक सय बालिका जन्मिँदा झन्डै ११४ जना बालक जन्मेको देखियो । जुन अनुपात २०५८ सालमा बालक १०४ मात्र थियो । देशभरकै पाँच वर्षमुनिका बालबालिकाको लिंग अनुपात १०४.९ रहेको छ । बालबालिकाको लिंग अनुपातको यो दृश्यअनुसार अबको जनगणनामा समग्र जनसंख्याको लिंग अनुपातमा समेत असर गर्न सक्ने विश्लेषक बताउँछन् ।

बालबालिकाको लिंग अनुपातको यो जोखिमपूर्ण अवस्थाको जिम्मेवार लिंग पहिचान गरी गरिने गर्भपतनलाई मान्ने हो भने यहाँ एउटा चाखलाग्दो कुरा भेट्न सक्छौं । त्यो के भने, बालबालिकाको लिंग अनुपात असन्तुलनको स्थिति धेरैजसो विकसित, सुविधासम्पन्न सहर भएको क्षेत्रमा धेरै देखियो । भक्तपुर, कास्की, रुपन्देही, सुर्खेत, कञ्चनपुर यी आफैँमा आफ्नो क्षेत्रका तुलनात्मक विकसित जिल्ला हुन् । त्यसो भए ती विकासमा पहुँच भएका शिक्षित वा सचेत वर्ग नै लिंग पहिचान गरी गरिने गर्भपतनका क्रियाकलापमा संलग्न छन् त ? हो, स्वास्थ्यकर्मी वा सामाजिक कार्यकर्ताहरू भन्छन्, कि हुनेखाने, शिक्षा, प्रविधि, सूचना, स्वास्थ्य सेवामा पहुँच भएकाहरूबाट नै लिंग पहिचान गरी गर्भपतन हुने गरेको छ ।

बरू गाउँका अशिक्षित र गरिब जनतालाई लिंग पहिचानबारे खासै वास्ता छैन । गाउँका मानिसलाई भ्रूणको लिंग पहिचान गर्ने प्रविधिबारे पनि थाहा नहुन सक्छ । उनीहरू लिंग पहिचान, गर्भपतनमा खर्च गर्नुभन्दा छोरा नपाउन्जेल जतिवटा भए पनि छोरी पाइरहन्छन् । तर ती शिक्षित र सहरी बासिन्दा जसको सूचनामा पनि अलि बढी पहुँच छ, जसलाई अलिकति कानुनको पनि ज्ञान छ, जो लिंग पहिचान गर्भपतनका प्रविधिबारे पनि जानकारी छ । तिनीहरू नै भ्रूणको लिंग छानीछानी गर्भपतन गराइरहेका छन् ।

त्यसैले लिंग पहिचान गरेर गर्भपतन गर्ने प्रवृत्तिमा जिम्मेवार परम्परावादी सोच र अन्धविश्वास मात्र होइन, शिक्षा अनि सूचनामा पहुँच पनि उत्तिकै जिम्मेवार पक्ष हुन् । यसको निराकरण फगत कानुनको निर्माणले मात्र होइन, महिलाको जीवन सुधारका योजना र नीतिको कार्यान्वयनले हुन सक्छ । किनभने, यो समस्या महिलामाथिको लैंगिक विभेदबाट सिर्जित समस्या हो । लिंग पहिचान गरी गरिने गर्भपतन महिलामाथिको लैंगिक हिंसा चक्रको एक भाग हो । जसको परिणाम हरेक जनगणनामा हाम्रा छोरीको संख्यामा कमी आउँदै छ । छोरीहरू कहाँ बिलाउँदैछन् ? सोच्न बेला भएन र ?

साभार : नागरिक दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: