महिला खबर
काठमाडौं । भोली, असोज २ गते हुने तेस्रो चरण अन्र्तगत हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा ६१ महिला प्रमुख पदका लागि चुनावी प्रतिस्प्रर्धामा छन् ।
४३ जना नगर प्रमुख र १८ गाउँपालिका अध्यक्षमा गरि ६१ महिला उम्मेदवार बनेका हुन् । नगर प्रमुख तथा गाउँपालिका अध्यक्षमा जम्मा १ हजार ७७० जना चुनावी मैदानमा छन् ।
त्यसैगरी नगर तथा गाउँपालिकाको उपप्रमुख/उपाध्यक्षमा ९ सय १९ जना महिला चुनावी प्रतिस्प्रर्धामा छन् । वडाध्यक्षमा भने २ सय २३ जना महिला उम्मेदवार बनेका छन् । वडाध्यक्षमा ८ हजार ५२ पुरुष प्रतिस्पर्धामा छन् ।
यो पटक वडा सदस्यमा २५४२ जना दलित तथा महिला वडा सदस्यमा निर्वाचित हुनेछन् । १२७१ वडामा महिला सदस्यका लागि ६ हजार ४ सय ९८ जना र दलित महिला सदस्यमा ६ हजार १ सय ८८ जना महिलाले उम्मेदावरी दिएका छन् । खुला सदस्यमा पनि ४ सय ६८ जना महिलाले उम्मेदवारी दिएको निर्वाचन अायाेगले जनाएको छ ।
१३६ स्थानीय तहको ६ हजार ६२७ पदका लागि प्रतिस्पर्धामा ३७ हजार बढी उम्मेदवार छन् । जसमा १४ हजार ३५७ महिला छन् ।
प्रदेश नम्बर २ मा १ वीरगन्ज महानगरपालिका, जितपुर–सिमरा, कलैया र जनकपुर गरी ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका तथा १२ सय ७१ वडाहरु छन् ।
८ महिला निर्विरोध निर्वाचित
निर्वाचित हुने वडा महिला सदस्यहरुमा ८ जना निर्विरोध निर्वाचित भएका छन् । जसमा ७ जना दलित महिला सदस्य र १ जना महिला सदस्य रहेका छन् ।
मतदान केन्द्र लैगिंकमैत्री छः आयोग
निर्वाचन आयोगले भोली हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका सबै मतदान केन्द्र लैगिंकमैत्री भएको बताएको छ ।
निर्वाचन आयोगका प्रवक्त्ता नवराज ढकालले ८ जिल्लाका सबै मतदान केन्द्रहरु लैगिंकमैत्री भएको बताउनुभयो । ‘हामीले सबै निर्वाचन अधिकृतलाई लैगिंकमैत्रीे मतदान केन्द्र बनाउन भनेका छौ ।’ ढकालले भन्नुभयो ।
गर्भवती, सुत्केरी महिला, बृद्धबृद्धा तथा फरक क्षमता भएकाहरुलाई भोट हाल्न लाइनमा बस्नु नपर्ने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई कुर्सीमा बस्ने व्यवस्था र शौचालयहरु समेत लैगिंकमैत्री, अपांगमैत्री निमार्ण गरिएको ढकालले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले २१६६ मतदान स्थल र ३५७८ वटा मतदान केन्द्र तोकेको छ ।
Comment Here!