महिला खबर
काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामा निर्वाचन सुरु भएको छ ।
बिहान ७ बजेदेखि तोकिएका मतदान केन्द्रमा मतदाताले भोट खसालेर स्थानीय तहको तेस्रो चरणको निर्वाचन सुरू भएको हो ।
भोट हाल्नका लागि मतदाताहरु बिहानैदेखि लाइनमा बसेका थिए । बेलुका ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको १३६ स्थानीय तहमा निर्वाचन सुरु भएको हो ।
आज भैरहेको निर्वाचनमा प्रमुख पदमा १ हजार ७७० जना चुनावी मैदानमा छन् जसमा ४३ जना नगर प्रमुख र १८ गाउँपालिका अध्यक्षमा गरि ६१ महिला प्रतिस्पर्धामा छन् ।
त्यसैगरी नगर तथा गाउँपालिकाको उपप्रमुख र उपाध्यक्षमा ९ सय १९ जना महिला चुनावी प्रतिस्पर्धामा छन् । वडाअध्यक्षमा भने २ सय २३ जना महिला उम्मेदवार छन् ।
यो पटक वडा सदस्यमा २ हजार ५४२ जना दलित तथा महिला वडा सदस्यमा निर्वाचित हुनेछन् । १ हजार २७१ वडामा महिला सदस्यका लागि ६ हजार ४ सय ९८ जना र दलित महिला सदस्यमा ६ हजार १ सय ८८ जना महिलाले उम्मेदावरी दिएका छन् । खुला सदस्यमा पनि ४ सय ६८ जना महिलाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश नम्बर २ मा १ वीरगन्ज महानगरपालिका, जितपुर–सिमरा, कलैया र जनकपुर गरी ३ उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ वटा गाउँपालिका र १हजार २७१ वडाहरु छन् ।
Comment Here!