दाइजो हैन, शिक्षा


प्रकाशित मिति :2017-09-19 11:24:33

-डा. नम्रता पाण्डे-

वर्षेनि महिला दिवस या त महिला हिंसाविरुद्धको अभियान नजिकिँदै गर्दा मात्र महिलामाथि हुने हिंंसाबारे कुरा उठ्छ । करिब ३५ प्रतिशत महिला कुनै न कुनै कारणले हिंसामा परेको तथ्यांक अनुसन्धानले पनि बताउँछ । महिलाले खेप्नुपरेका विभिन्न प्रकारका हिंसामध्ये दाइजो नल्याएका कारणले खेप्नुपरेको हिंसा अझै गहिराइको हिंसाको रूप बनेर बसेको पाइन्छ धेरैजसो महिलाहरूमा।

सामान्य परिवारमा त दाइजो ल्याइनस् भनेर मारपिट, घरनिकाला, अभद्र व्यवहार हुन्छन् । मुद्दामामिला चल्छ, न्यायको ढोका घच्घच्याउन पुग्छन् । महिला अधिकारकर्मीलगायत मानव अधिकार आयोगले दाइजोविरुद्ध प्रतिवेदन निकाल्छ। दाइजो लिनेलाई सजाय तोक्छ, कानुन बन्छ । तर सभ्य, भव्य र सुसंस्कृत अनि शिक्षित परिवारले सजिलै बुहारीलाई घर निकाला गर्न र देखिने गरी अमानवीय व्यवहार गर्न सक्दैनन् तर उनीहरूका विभिन्न व्यवहार र भावदशाले ती सम्पन्न घरकी बुहारीलाई पटकपटक र जीवनभरि नै यातना दिइरहेका हुन्छन् । ती बुहारीहरू तनावमा हुन्छन् । तथाकथित इज्जतको नाममा न श्रीमान्, न घरपरिवारले यसलाई सजिलै बाहिर ल्याउँछ । न त घरानाकी बुहारीले यसलाई खुलेर प्रतिवाद नै गर्न सक्छिन् । हुनत समय समयमा ठूला घरानाका बुहारीहरू पनि अपेक्षित दाइजो नल्याएका कारण हिंसामा परेका, मृत्युका घटनासम्म भएका समाचार छापामा नआएका होइनन् ।

अधिकांश बुहारीहरूले भने आफैँमा यस्ता यातना दबाएर राखेका हुन्छन् । माइतमा गएर बुबाआमासँग यस्ता कुरा राख्दा उल्टै छोरीको जात भएर जन्मेपछि घरका परिवारले जे भने पनि सुनेको नसुन्यै गरी पचाउनुपर्छ । ‘दुवै परिवारको इज्जतको सवाल छ, छोरी त्यसैले तिमीले सहनुपर्छ’ भन्ने अर्ति नै घरानाका बुबाआमाले दिने गरेका हुन्छन् । यस्ता घटना हरेक घरमा हुन्छन् । कसैले व्यक्त गर्छन्, बाहिर ल्याउँछन् । कसैले व्यक्त गर्दैनन्।

बिहे गर्ने बेलामा केटा पक्षले असल, सुशील, शिक्षित, घरानाकी छोरी भए पुग्छ हामीलाई दाइजो केही चाहिँदैन भन्ने गर्छन् । तर सँगसँगै यो पनि भन्ने गर्छन्— व्यवहार भने राम्ररी गरिदिनुहोला है । व्यवहारको आशय हो केटा पक्षको जन्ती लिएर जाँदा जन्तीले वाहवाही गर्ने भोज होस् । अरूलाई देखाउनका निम्ति अमूल्य र नयाँ प्रकारका दाइजो होऊन् । फलानाको छोराले गज्जब धनी परिवारमा सम्बन्ध गाँसेछ भन्ने कुरा समाजले थाहा पाओस् । यो चाहना हरेक परिवारमा हुने रहेछ । हामी आफ्ना लागि परिवर्तन हुने हो या समाजका लागि?

शिक्षित, प्रतिष्ठित र उच्च ओहोदाका व्यक्तिले समेत समाजको तथाकथित मूल्य र मान्यताका अगाडि आफूलाई परिवर्तन गर्न सकेका छैनन् । यस्ता व्यक्तिहरू आफ्नो धारणा र बोलाई एकातिर व्यवहार अर्कोतिर गरी ऐनमौकामा चुक्ने गरेका छन् । भए, पुगे, इच्छा भएमा र छोरीलाई आवश्यक परेमा, दुःख परेमा कोही पनि बुबाआमाले आफ्ना छोराछोरीलाई दाइजो, पेवा, सम्पत्ति दिन सक्छन् तर यसलाई छोरीका बुबाआमा भएकै कारण दाइजोका रूपमा दिनुपर्ने संस्कार भने पटक्कै राम्रो होइन।

महिलासँग प्रत्यक्ष सरोकार राखी काम गर्ने, सामाजिक रूपमा थोरै भए पनि मानिसहरूसँग घुलमिल हुनुपर्ने र कहिलेकाहीँ महिला दिदीबहिनीहरूले आफ्ना बह पोख्दाको अवस्थामा म स्वयंलाई भित्रबाट जवाफ र सल्लाह दिन नसक्ने अवस्था कयौँ ठाउँमा निस्कन्छ । किनभने, मेरो विवाह भएको समयमा सँगसँगै र केही वर्ष अगाडि हाम्रो परिवारमा अरू दाजुभाइको पनि विवाह भयो ।

समाजले, वरपरका मानिसले अनि घरकै वयोवृद्धहरूले नयाँ भित्रिएका अरू बुहारीहरूसँग मलाई पनि तुलना गर्ने अवसर पाए । त्यो पनि दाइजोमा विशेष गरी । मेरो बुबा मध्यमवर्गीय परिवारमा जन्मिनुभएको भए पनि विचार उच्च थियो । त्यसैले मलगायत पाँच जना सन्तानलाई राम्रो शिक्षा दिनुभयो । विवाहपछि पनि आफ्नै खुट्टामा उभिनुपर्छ भन्नुहुन्थ्यो । बिए दोस्रो वर्ष पूरा हुनै लाग्दाको समयमा विवाह भयो तर छोरी अन्माएर पठाउने समयमा ज्वाइँसँग उहाँले एकै सर्त राख्नुभएको थियो, ‘बाबु छोरीलाई मास्टर्स चाहिँ पूरा गराउनु होला है?’

मेरो श्रीमान् र उहाँको परिवारले हाम्रो परिवारबाट कुनै ठूलो दाइजो र अरू अपेक्षा त राख्नुभएको थिएन । र, पनि समाजको अपेक्षाले उहाँहरूलाई समेत केही अपूर्ण, केही अभाव अवश्य महसुस भएको हुनुपर्छ । तर मप्रति उहाँहरूलाई पूर्णतः विश्वास थियो । मेरो बुबाले मेरो विवाहमा जे सक्नुभयो, गर्नुभयो । यथासक्य गाग्री, ताउला, खाट, ओछ्यान, दराज, सोफा जेजे दिनुभयो, ती काममा  आए । अहिले त कता पुगिसके पनि । भोज खाने व्यक्तिले बिर्से, दाइजो अरूको जति भएन भन्नेले पनि बिर्से होलान् । तर मेरो बुबाले दिनुभएको शिक्षा मेरा लागि जीवन पर्यन्तको दाइजो भएको छ।

छोरीलाई शिक्षामा लगानी गरौँ । जति भोज खुवाए पनि, जति दाइजो दिए पनि त्यो क्षणिक हो । छोरीलाई शिक्षित बनाइयो भने जीवनभर उसले सुख पाउँछे । ऊ आफ्नो स्वतन्त्रता र कमाइमा रमाउन सक्छे । आमा शिक्षित भइन् भने सन्तान शिक्षित हुन्छन् । घरमा विश्वास र प्रेमको वातावरण बन्छ । शिक्षित महिलाको घर नै मन्दिर बन्छ।

हुनेखानेहरूलाई अझै पनि दाइजो दिएर छोरी पठाउँदा गर्वको महसुस गर्छन् । दाइजो लिनेवालाले पनि आफूलाई सम्मानित भएको ठान्छन् । कुनै तथ्य नभएको, प्रेमले जित्न नसकेको र आफैँमा विश्वस्त हुन नसकेको समाजमा बनाइएको मान्यतामा परिवर्तन कहिले आउला ?

साभार : नागिरक दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: