-सर्मिला बुढाथोकी–
दोलखा । दोलखा जिल्लामा परिवार नियोजनको साधनका प्रयोगकर्ता ३७ प्रतिशत मात्रै रहेको एक तथ्याङ्कले देखाएको छ ।
चौथो परिवार नियोजन दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय दोलखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दोलखामा ६३ प्रतिशत प्रजनन उमेरका व्यक्तिले परिवार नियोजन साधनको साधन प्रयोग नगर्ने पाइएको हो ।
नेपाल सरकारको दिगो विकास लक्ष्य अनुसार ७५ प्रतिशत प्रजनन् उमेर समुहका व्यक्तिले परिवार नियोजनको साधनका प्रयोग गरेको हुनुपर्छ । तर, उक्त दरभन्दा ३८ प्रतिशत कम यहाँको परिवार नियोजनको साधन प्रयोगको दर रहेको छ ।
दोलखामा वैदेशिक रोजगार तथा परिवार नियोजनसँग सम्बन्धित सहयोगी संस्थाहरु सक्रिय नहुनुले पनि परिवार नियोजनको प्रयोगदर घटेको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यलय दोलखाका परिवार नियोजन निरीक्षक नवराज कँडेलले बताउनुभयो ।
परिवार नियोजनको साधन नअपनाउदा अनिच्छित गर्भधान हुने र गर्भपतन गराउनुपर्दा बाँझोपन, पाठेघरमा संक्रमण तथा महिलाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने भएकाले परिवार नियोजनका साधन प्रयोगमा सचेत हुन पर्ने निरीक्षक कँडेलको भनाई छ ।
परिवार नियोजन प्रयोगदर बढाउनका लागि लामो अवधिको जन्मनान्तरको परिवार नियोजन आयूसीडि र इम्प्लानट स्याटलाईट क्लिनक मार्फत विस्तार गर्ने, जिल्लाका हरेक स्वास्थ्य चौकीमा वर्षै भरी कण्डम, पिल्स, डिपो लगायतका अस्थाई साधनको आपूर्तिमा जोड दिने लगायतको रणनीति रहेको जिल्ला स्वास्थ्य कार्यलय दोलखाले जनाएको छ ।
Comment Here!