अप्रिल अधिकारी
रामेछाप । कक्षा ४ मा पढ्ने विद्यार्थीको उमेर कति होला ? भन्दा सबैले अनुमान गर्छन्, सरदर ९\१० बर्ष । तर, जिल्लाको मन्थली नगरपालिका–८ जखनीटारकी ४५ बर्षकी हर्कमाया माझी चार कक्षामा भर्ना भएकी छिन् । दुइ छोरा र दुइ छोरीकी आमा उनी गाउँकै बिद्याश्रम आधारभुत विद्यालयमा चार कक्षामा भर्ना भएर पढ्न थालेकी हुन् ।
‘साधारणतया पढ्ने उमेरमा पढन सकिएन । पढ्नका लागि कसैले प्रेरित पनि गरेनन् । तर, अहिले पढाइको महत्व बुझेपछि स्कुल भर्ना भएँ’ माझी समुदायकी हर्कमायाले भनिन्, ‘चुलोदेखि बाहिरसम्म शिक्षाको अनिवार्यता महसुस भयो । अनि पढ्न सुरु गरेँ ।
सामाजिक कामदेखि लिएर राजनैतिक काममा समेत क्रियाशील हर्कमाया थुप्रै पटक तालिम, सभा र औपचारिक कार्यक्रममा समेत सहभागि भइसकेकी छिन् । ‘सबैले लेखपढ् गरेको देख्दा आफुमा पढाइ लेखाइ कमजोर भएको महसुस भएपछि पढ्न उत्साहित बनेँ,’ उनले भनिन्, ‘जे गर्दा पनि पढाइ लेखाइकै कुरा हुन्छन् । नपढीकन कामै रहेनछ ।’ जसरी पनि पढ्छु भन्ने अठोट गरेर विद्यालय जान थालेको उनले बताइन् ।
हर्कमायाकी कान्छी छोरी पनि यति बेला कक्षा १२ मा अध्ययन गर्दैछिन् । तर, आफूलाई ४ कक्षामा भर्ना हुँदा कुनै अड नलागेको हर्कमायाले बताइन् । आफ्नो कक्षामा गाउँकै नाताले नाति नातिनी पर्नेहरु पढिरहेको तर, आफूलाइ सँगै बसेर पढ्न कुनै संकोच नलागेको उनले बताइन् ।
‘सुरु सुरुमा “बुढेसकालमा पढ्न जान थालि” भनेर गाउँलेहरुले खिल्लि समेत उडाए’ हर्कमायाले सम्झिन्, ‘त्यसपछि पढ्ने रहर झन् तिखारियो । खिल्ली उडाउनेका अगाडि पढेरै छोड्छु भन्ने हिम्मत आयो ।’ उनी अहिले नियमित स्कुल जाने गरेको बताउँछिन् ।
पढेर जागिर खाने र कुनै ठूलै उपाधि पाउछु भन्ने छैन । तर सामाजिक तथा राजनीतिक हरेक काममा अनपढ हुँदा झेलेको पीडाले ढिलै भएपनि पढ्न प्रेरित गरेको उनले प्रष्ट्याइन् ।
हर्कमायालाई पढ्नका लागि श्रीमानले समेत सहयोग गरेका छन् । पढ्न चाहन्छौ भने पढ न त भनेर श्रीमानले नै बिद्यालयमा लगेर भर्ना गरिदिएको हर्कमायाले सुनाइन् । ‘तिम्रो जे इच्छा छ गर । म साथमा छु भनेर बचन दिनुभयो’ उनले थपिन्, ‘श्रीमानको आड भरोसा पाएपछि झन् सजिलो भयो ।
हर्कमायाका श्रीमान केही समय अघि गाडी दुर्घटनामा परी अपांग छन । तर, पनि उनी ठेक्का पट्टाको काम गर्दै आएका छन् । उनको पढाइका लागि बुहारीहरुले समेत साथ दिएका छन् । आफु भन्दा पढेको बुहारीहरुले घर धानेका छन् । स्कुल बाहेकको खाली समयमा भने बुहारीहरुलाइ घरको काममा आफुले सघाउने गरेको उनले बताइन् । उमेर गयो । अब केही गर्न सकिन्न भन्नेहरुका लागि यतिबेला हर्कमाया जिल्लाभर उदाहरण र प्रेरणाको स्रोत बनिरहेकी छिन् ।
व्यवहार र अनुभवले पढाइलाई ठुलो ठान्दै विद्याको भोको बनेर हर्कमाया विद्यालय भर्ना भएको विद्यालयका प्रधानाध्यापक रसोक कुमार श्रेष्ठले बताए ।
सुरुमा सानो कक्षामा भर्ना हुन आएकी हर्कमायालाई सिकाइको स्तर र अनुपात नमिले पनि माथिल्लो कक्षामा राखेर पढाएको श्रेष्ठले बताए ।
प्रौढ कक्षा पढेर आएकोले हर्कमायालाई माथिल्लो कक्षामा राख्न सकिएको र अलिकति मेहनत गरे २/३ बर्षमा ८ कक्षामा पुग्न सक्ने सम्भावना रहेको प्रधानाध्यापक श्रेष्ठले बताए ।
हर्कमायालाई कसरी अघि बढाउन सहयोग गर्ने ? भन्नेमा विद्यालयले सोचिरहेको पनि श्रेष्ठले बताए ।
Comment Here!