–पार्वती पाण्डे–
कपिलवस्तु । सरकारले जिल्ला अस्पतालबाट सर्वसाधारणका लागि ७० किसिमका औषधी निशुल्क उपलब्ध गराउने उद्घोष गर्दै आएपनि कपिलवस्तुको एक स्वास्थ्य चौकीमा सामान्य आइरन चक्की समेत उपलब्ध छैन । स्वास्थ्य चौकी गजेहडा कार्यालयमा कण्डम बाहेक अरु कुनै पनि निशुल्क पाइने औषधी नभएको स्वास्थ्य चौकीकी अनमी सरस्वती लम्सालले बताइन् ।
चेक जाँच गराएर गर्भवती महिलाहरूलाई रित्तै फर्काउनु परिरहेको उनले जनाइन् । ‘कार्यालयमा कण्डम, सिटामोलबाहेक अरु औषधी सकिएको १५ दिन भईसक्यो’ उनले भनिन् ।
गर्भ चेक जाँच गर्न आएकि स्थानीय सन्ध्या चौधरी आईरन चक्की नपाउदा निराश बनिन् ।
‘सरकारले निशुल्क दिने औषधी पनि अस्पतालमा नपाउने कस्तो हाम्रो देश’ उनले निराशा र प्रश्न गरिन् । सरकारले निल्शुल्क भनेर घोषणा गर्ने तर अस्पताल गएर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताइन् ।
सन्ध्या जस्तै गजेहडा स्वास्थ्य चौकीमा आउने सबै गर्भवती महिलाहरू आइरन चक्की पाउनबाट बन्चित रहेका छन् ।
स्वास्थ्य चौकीमा गर्भवती महिलाहरूले चेकजाँच गर्ने क्रम भने बढ्दै गएको अनमी सरस्वती लम्सालले बताइन् ।
गत वर्ष कार्यालयमा २ सय २ जना गर्भवती महिलाहरूले चेकजाँच गराएका थिए । यस वर्ष भदौ मसान्तसम्म ५२ जना गर्भवती महिलाले चेकजाँच गरेका छन् । २० वर्ष मुनिका ५६ जना गर्भवती महिलाले चेक जाँच गरेको स्वास्थ्य चौकीकी अनमी लम्सालको भनाई थियो ।
‘हामीले गर्भवास्था र बच्चा दुई वर्ष नहुञ्जेलसम्मका आमालाई गँेडागुडीको झोल, हरिया सागपात, पहेला फलफूल, अण्डा, माछा, मासु, घ्यू, दूध, दहीजस्ता पोषकतत्व खान र परिवारलाई खुवाउन भन्दै आएका छौँ,’ उनले भनिन् ।
गर्भ रहेदेखि नांै महिनासम्म लगातार चार पटक गर्भजाँच गर्न, आइरन चक्की खान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन र विभिन्न खोप लगाउनेबारे पनि बुझाउँदै आएको उनले जनाइन् । त्यतिमात्र नभएर गरिब घर परिवारका गर्भवती महिलालाई घरमा उपलब्ध स्थानीय अन्न गेडागुडी, सागपात र अन्य चिज मिलाएर खान सुझाव दिने गरेको उनको भनाइ छ ।
कपिलवस्तुको जिल्ला अस्पताल तौलिहवा, बहादुरगञ्ज, पिपरा अस्पताल र ७२ वटा स्वास्थ्य चौकी छन् सबैमा निशुल्क औषधीको अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।
यस पटक बजेट स्थानीय तहमा गएको र औषधी खरिद गर्न ढिलाई भएका कारण औषधी अभाव भएको उनको तर्क थियो । जिल्लामा ६ नगरपालिका र ४ गाउँपालिकामा स्वास्थ्यको बजेट गएको र औषधी खरिद गर्न प्रक्रियामा जाँदा ढिलाई भएको कार्यालयले जनाएको छ ।
पछिल्लो घोषणा अनुरुप सरकारले जिल्ला अस्पतालका लागि ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने जनाएको थियो ।
Comment Here!