द्वन्द्वपीडित आमाहरुको मागः सरकारले स्वास्थ्य शिक्षाको जिम्मा लिनुपर्छ


प्रकाशित मिति :2017-10-10 11:56:54

खेमा बस्नेत

काठमाडौं । २०६० साल चैत २ गते बर्दियाकी प्रेमकुमारी थारुका लागि जीवनकै कालो दिन साबित भयो । सँगै दुःख सुख गरिरहेका श्रीमानलाई तत्कालीन माओवादीले बेपत्ता पारिदिएपछि प्रेमकुमारीको जीवन मर्नु र बाँच्नुको दोसाँधमा पुग्यो ।

चैत २ गते सम्झिदै प्रेम कुमारी भन्छिन्– ‘त्यो साँझ हामी घरमा खाना खादै थियौं । घरमा पाहुना आएका थिए । खाना खाइसकेपछि उनी पाहुना पु¥याउन गए । एकछिनपछि माओवादी आएर मेरो श्रीमानबारे सोध्न थाले । मैले पाहुना पु¥याउन जानुभएको छ भनेपछि उनीहरु त्यतैतिर गए ।’

घरबाट पाहुना पु¥याउन गएका प्रेम कुमार चौधरी फर्किएर आएनन् । न सास आयो न त लास नै । ‘पाहुना पु¥याउन जानु भएको हो । अहिलेसम्म फर्किएर आउनुभएको छैन । कसले कहाँ लग्यो ? केही थाहा छैन । श्रीमान जीवित छन् कि मरिसके अत्तो पत्तो नपाउदा आफू बाँच्नुको पनि औचित्य लागिरहेको छैन ।’–प्रेमकुमारीले भनिन् ।

प्रेम बेपत्ता भएपछि प्रेमकुमारीका पीडाका दिनहरू सुरु भए । सधैं राम्रो गर्ने घरपरिवारले तिरस्कार गर्ने थाले । ‘श्रीमान बेपता भएपछि सासु ससुराले नराम्रो व्यवहार गर्ने थाल्नुभयो । १४ जनाको परिवारमा मलाई मात्र लुगा कपडा किनीदैन ।’

प्रेमकुमारीले दुखेसो पोखिन्, ‘दुई जेठानीका छोराछोरी बोर्डिङ स्कुल जान्थे । मेरो छोरालाई सरकारी स्कुल हाल्दिए ।’ श्रीमान बेपत्ता भएपछि परिवारबाट आफू र आफ्नो छोरा माथि भएका विभेदका व्यवहारले पीडा माथि पीडा थपेको उनले बताइन् ।

विगतमा श्रीमानले कमाएको पैंसाले नै उनीहरूको घर चल्थ्यो । तर, श्रीमान नै बेपत्ता रहेपछि दैनिक मजदुरी गरेर घर व्यवहार र छोराको पढाइ खर्च व्यवहोरिरहेको प्रेमकुमारीले बताइन् ।

आफ्नो श्रीमानलाई तत्कालिन माओवादीले अपहरण गरि बेपत्ता बनाएको प्रेमकुमारीको आरोप छ । ‘उहाँ बेपत्ता भएपछि हामी आमा छोराको बिचल्ली छ ।’

श्रीमानको अनुपस्थितीमा आफ्नै परिवारबाट हेलोहोचो खेपेकी प्रेमकुमारीलाई अरुको आस त छैन । तर उनी टुहुुरो छोराको शिक्षा र स्वास्थ्यको ग्यारेण्टी सरकारले लिनुपर्छ भन्छिन् । ‘कि त मेरो श्रीमान फिर्ता दिनुपर्छ । नत्र भने अब मेरो छोराको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ । के सरकारले दिएको दश लाख मेरो श्रीमानको जिवन फिर्ता गर्न सक्दैन ।’ –उनले भनिन्,द्वन्द्वमा श्रीमान गुमाएकी कञ्चनपुरकी विस्ना पन्तका श्रीमान प्रहरीमा जागिर गर्दागर्दै २०५९ सालमा सहिद भए ।

विवाह भएको दुई वर्षमै श्रीमान गुमाएकी विस्नाको गर्भमा त्यतीबेला छोरी हुर्किदै थिईन् । अहिले छोरीले मेरो बाबा खोई भनेर सोध्दा विस्नासंग छोरीलाई दिने कुनै उत्तर छैन । ‘उहाँ सहिद हुँदा मेरो छोरी गर्भमै थिईन् । मेरो बाबा खोई ? छोरी अहिले बाबा कहाँ हुनुहुन्छ ? भनेर सोध्छिन् । मसंग छोरीलाई दिने कुनै उत्तर छैन ।’ विस्नाले भनिन् ।

पति वियोगका बेला विस्नाले कसरी छोरी जन्माइन् त्यो उनलाई थाहा छैन । छोरी जन्मेपछि पनि उनलाई दुध खुवाउने होस् समेत थिएन ।
‘उहाँ वितेपछि मेरो होस् नै थिएन । बेहोसीमै छोरीलाई जन्म दिएछु । जेठानीले दुध खुवाउनु भएछ । अहिले मेरो छोरी धेरै कमजोर छ । स्वास्थ्य राम्रो छैन’ विस्नाले भनिन्, ‘छोरी अहिले पढ्दैछिन् । उसको शिक्षा स्वास्थ्यका लागि मसँग पैसा छैन । यसको जिम्मा कसले लिन्छ ?’ विस्नाले प्रश्न गरिन् ।

आफूसँग आयस्रोतको कुनै माध्यम नभएको र श्रीमानको पेन्सनले पैसाले कमजोर छोरीकोस्वास्थ्य उपचार गर्न पनि नपुग्ने विस्ना बताउछिन् ।

‘उसको बाबाको पेन्सनले केही पुग्दैन । उसले चाहेको विषय पढाउन म सक्दिनँ । मसँग त्यो आर्थिक क्षमता छैन ।’ विस्नाले भनिन्, ‘मेरो छोरीलाई गर्भमै टुहुरी बनाएर सरकार किन चुप छ ? मेरो श्रीमानको ज्यानको बदलामा सरकारले दिने पैसा छोरीको लालन पालनका लागि समेत पुग्दैन । उसको शिक्षा स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ ।’

बर्दियाकी भुमिसरा थापा क्षेत्री ७० वर्षमा लागिन् । २०५९ साल भदौ २५ गते भुमिसराले आफ्ना छोरा बुहारीलाई गुमाइन् । ‘साझँको बेला थियो । तत्कालीन शाही नेपाली सेना घरभित्र पसेर मेरो छोरा बुहारीलाई मारे’ भुमिसराले सम्झिइन् ।

बुढेसकालको सहारा छोराबुहारीलाई सेनाले घरभित्रै पसेर हत्या गरेपछि । आफु र दुई जना नाती नातीनी बेसहारा बनेका भुमिसरा बताउछिन् ।
‘बुढेसकालमा मेरो सहारा बन्लान भनेको हामीलाई नै बेसहारा बनाएर गए । छोराकै कमाएर घर चल्थ्यो । तर उसलाई नै मारदिएपछि म र मेरा नाती नातीको विचल्ली भएको छ ।’

सरकारले दिएको दश लाख दुई नातीनातीनीको भविष्य बनाउन नसक्ने भन्दै उनले आफ्नो मृत्युपछि नाती नातीनी बेसहारा हुनेप्रति चिन्ता व्यक्त गरिन् । कमसेकम उनीहरूको शिक्षा स्वास्थ्यको जिम्मेवारी सरकारले लिइदिएको भएपनि उनीहरूको भविष्य सुनिश्चित हुने थियो भन्छिन्, भुमिसरा ।

‘आर्थिक अभावले प्राविधिक शिक्षा पढ्न सकिन’

कैलालीकी करुणा चौधरीे (१७) सानै थिइन्, जतिबेला उनका बुबाको हत्या भएको थियो ।

‘२०६९ साल साउन २७ गते तत्कालीन सेनाले माओवादी हो भन्दै लखेटी लखेटी मारे । मेरो बुबाको केही गल्ती नहुँदा पनि सेनाले हत्या गरे । मलाई टुहुरी बनाए’ करुणाले भनिन् ।

करुणाको परिवार उनको बुबाकै कमाइमा निर्भर थियो । बुबाको मृत्युपछि आमाले आफूलाई एसएलसीसम्म जसोतसो पढाए पनि एसएलसीपछि प्राविधिक शिक्षा (आईटी) पढ्ने सपना भने अधुरो नै रह्यो । ‘एसएलसीपछिको पढाई प्राविधिक शिक्षा लिएर पढ्ने इच्छा थियो । तर, आमाले पढाउन नसक्ने भनेपछि अहिले म व्यवस्थापन संकायमा स्तातक गर्दैछु’ करुणाले आर्थिक अभावमा (आईटी) पढ्न नपाएकोप्रति पछुतो रहेको मान्दै भनिन् ।

मानव अधिकारका लागि महिला एकल महिला समूहका अनुसार नेपालमा सशस्त्र द्वन्द्वको समयमा ९ हजार महिला एकल (विधुवा) भएका छन् ।

सशस्त्र द्वन्द्वमा परि ज्यान गुमाउने त गए । अनि बेपत्ता भएकाहरूको पनि सास र लासको टुंगो छैन । तर, उनीहरूसँग निर्भर परिवारको भने बिचल्ली नै छ ।

एकातिर अभिभावक अनि सहारा गुमाउदाको पीडा, अर्कातिर आफूहरूप्रति राज्यको बेवास्ता । द्वन्द्वमा ज्यान गुमाउने र बेपत्ता हुनेका परिवारहरू आफ्ना लालाबालाको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा सरकारले लिनुपर्ने माग गर्दै आइरहेका छन् । तर, सरकार भने आफूहरूका मागप्रति बेवास्ता गर्दै आइरहेको उनीहरूको आरोप छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: