–शान्ता कमली–
लमजुङ । आउँदो मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङ प्रहरीले म्यादी प्रहरीको माग गरेपछि भर्ना हुन आउने महिलाको भिड लाग्ने गरेको छ ।
सरकारले निर्वाचनका लागि गत मंगलबारदेखि आवेदन खुल्ला गरेसँगै जिल्ला प्रहरी कार्यालयमा फाराम भर्न आउने महिलाको भिड लागेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुई दिनको अवधिमा एक सय ७६ जनाले फाराम भरेका छन् । जसमा ६५ जना महिला छन् । पहिलो दिन मंगलबार ४७ जनाले फाराम भरेका थिए भने जसमध्ये २९ जना महिला थिए ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक पदम बहादुर विष्टले फाराम भर्न आउनेमा अधिकांश महिला रहेको बताए ।
म्यादीमा भर्ना हुन आएकी लमजुङकै ४० वर्षीया राधिका पौडेलले बालबच्चालाई पढाउने खर्च जुटाउन म्यादी प्रहरीमा आवेदन दिन आएको बताइन् ।
बेसिसहर नगरपालिका दनाइ गाउँकी रुपा परियारले घरखर्च चलाउन र छोराछोरीको पढाई खर्च जुटाउन आफू म्यादीमा फाराम भर्न आएको बताइन् । उनले स्थानीय तहको निर्वाचनमा समेत म्यादी प्रहरीमा भर्ना भएर काम गरेको बताइन् ।
प्रहरीका अनुसार फाराम भरेकाहरू मध्येबाट यस अघिका निर्वाचनहरूमा काम गरेका, सुरक्षा निकायमा काम गरेर फर्केका अनुभव झल्कने प्रमाणपत्र भए त्यस्ता व्यक्तिहरू प्राथामिकतामा पर्नेछन् । म्यादी भर्ना कार्यक्रम असोज ३० गते अपराह्न ५ बजेसम्म रहनेछ ।
फोटोः मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा म्यादी प्रहरीमा फाराम भर्न आएका महिला ।
Comment Here!