–पार्वती पाण्डे–
कपिलवस्तु । तिलौराकोट होटलको खचाखच भरिएको हलको अगाडीको दायाँ तर्फबाट एक किशोरीले फ्लोर ओपन हुनासाथ जुरुक्क उठेर भनिन्–‘मेयर तथा उपमेयर साहेबहरु तपाईंहरुले पद पाउनु भएकोछ । काम गर्नुस् । हामी जस्ता किशोरीका लागि उदाहरणीय काम गर्नुस । काम गर्न सक्नु हुन्न भने पद छोड्दिनुस् ।
सायदै कुनैपनि मेयर उपमेयरले सोचेका थिएनन् होला अन्तरकृयाको पहिलो निशानामा आफूहरु पर्छौं भन्ने । ‘विपदमा पर्दा जहिले, किशोरी सशक्तीकरण पहिले’ भन्ने मूल नाराका साथ आयोजित छैटौँ अन्तराष्ट्रिय बालिका दिवसका अवसरमा बाल अधिकारका लागी सरोकारवालासँग तौलिहवामा आयोजित कार्यक्रममा अचानक किशोरीले काम गर्न नसक्ने भए पद छोडिदिनुस् भन्दा कार्यक्रमस्थल सुनसान भयो । सबैका आँखा उनीतिर तेर्सिए ।
शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले भने ती किशोरीको प्रशंसा गर्दै मधेसमा जागरण आईसकेको कुरा प्रष्ट भएको प्रतिक्रिया दिए । उनले भने, ‘अब केही हुन्छ भन्न बाध्य हुनु परयो ।’
बुद्धभूमीका मेयर केशव श्रेष्ठले आफुले किशोर किशोरीकालागि नगर सभाबाट गरेका निर्णहरुको फेहरिस्त सुनाए ।
महाराजगंगका मेयर अब्दुल कलामले भने, ‘हामीसंग श्रोत साधनको कुनै कमि छैन । योजना लिएर आउनुस्, हामी गरेर देखाउछौं भन्दै किशोरीहरुको आत्मबल बढाए ।
जिल्ला समन्वय समितीका प्रमुख नारायण खनालले कपिलवस्तुलाई बालबिवाह मुक्त बनाउने, किशोर र किशोरी बीचको शैक्षिक विभेद हटाउने जस्ता चुनौती स्थानीय तहका जनप्रतिनिधीले हटाउनै पर्ने बताए ।
कार्यक्रममा शुद्धोधन गाउँपालिकाका प्रमुख निशार अहमद खाँ, विजयनगर गाउपालिकाका प्रमुख गोपाल बहादुर थापा, मायादेवी गाउपालिकाका उपप्रमुख गिता तिवारी लगायतले अब जिल्लालाई बालमैत्री तथा किशोरी उन्मुख बनाई छाड्ने उद्घोष गरे ।
Comment Here!