वर्षामै खानेपानी अभाव : दिनभर खेतबारी, रातभर पँधेरो


प्रकाशित मिति :2017-10-18 11:26:27

-शशीधर भण्डारी-

प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर जाग्राम बस्छौँ । धान, मकै उठाउने, जौ, गहुँ छर्ने समय दिनभर खेतबारीमा र रातभर पानी बोक्नुपर्ने अवस्था छ,’ प्युठान नगरपालिका–३ दैलीसिमलकी अमृता जिसीले भनिन्, ‘गाउँको धारामा पानी आउन छाडेको ३ महिना भइसक्यो । दैलीसिमलमा मात्रै होइन, यो नगरको रातामाटा, चिलाउने डाँडा, डाँडागाउँ, जिमुरेका बासिन्दाले पनि वर्षौंदेखि पानी अभावको समस्या व्यहोर्दै आएका छन् ।

वर्षायाममै खानेपानीको अभाव भएपछि वैशाख–जेठको खडेरीमा कसरी गुजारा गर्ने भन्ने चिन्ताले डाँडागाउँवासी चिन्तामा छन् । यो गाउँमा १ सय ५० घरधुरी छन् । शुद्ध पिउने पानी त परै जाओस्, पशु चौपायालाई खुवाउने पानीसमेत नहुने स्थानीय बताउँछन् । ०५२ सालमा गाउँमा निर्माण गरेको एक धारोमा पानी आउन छाडेपछि संकट निम्तिएको हो । ‘खानेपानी कार्यालयमा पानीको माग गर्दा त्यही धारालाई मर्मत गर भन्छ,’ स्थानीय मुक्तबहादुर केसीले भने, ‘स्थानीयले एक लाख ५० हजार उठाएर बनाएको ट्यांकी पानी नभएपछि जीर्ण बन्यो ।’

डाँडागाउँका लागि करिब ७ किलोमिटर दूरीमा रहेको सेपुङबाट खानेपानी ल्याइएको थियो । सोही पानीबाट गुजारा चलाउँदै आएका डाँडागाउँवासी ३ महिनादेखि पानी नआएपछि खोल्साको पानी पिउन बाध्य छन् । ‘खानेपानी, तरकारी तथा फलफूल खेती, पशु चौपायाका लागि पानीको अभाव छ । तर, कसैले हेरेन । अहिले खोल्साको पानीलाई राति र बिहान जम्मा गरेर भर्ने गरेका छौँ । यही पानीमा पनि लाइन लाग्नुपर्छ,’ स्थानीय मुक्तबहादुर केसीले भने ।

‘नेता र नगरपालिकाले हेरेन’

निर्वाचनका वेला घरघरमा खानेपानी ल्याइदिन्छु भन्ने नेताले पानीको संकट पर्दा वास्ता नै नगरेको स्थानीयको दुखेसो छ । ‘आश्वासन दिनेसँग पानीको व्यवस्था गरिदिन निवेदन पेस ग¥याैँ । तर, नेता, जिल्ला खानेपानी कार्यालय र नगरपालिका कसैले हेरेनन्,’ स्थानीय हिमबहादुर जिसीले भने । पानीकै कारण स्थानीय महिला, वृद्ध तथा बालबालिकालाई सास्ती छ । खेतीपातीका वेला घरका ठूला मान्छे सबै खेतबारीमा जाने हुँदा पानी ल्याउने जिम्मा बालबालिका र वृद्धवृद्धाको हुन्छ ।

सोही वडाको रातमाटामा ०६८ सालमा जिविस कार्यालय प्युठानले बस्ती विकास कार्यक्रमबाट १० लाख बजेट खर्चेर थालेको खानेपानी योजना अलपत्र परेको छ । जुम्री खोलाबाट खानेपानी ल्याउने भनेर जिविसले सबै अध्ययन पूरा गरेको थियो । जिल्ला प्राविधिक कार्यालयले पाइप किन्न पनि लगायो । तर, पानीको मूल र क्षमताभन्दा बढी पाइप मोटो भयो भनेर प्राविधिकले अस्वीकृत गरे । त्यसपछि १० लाखको योजना प्रयोगविहीन बनेको स्थानीयको भनाइ छ ।

स्थानीय निर्वाचनमा खानेपानी समस्या राख्दा उम्मेदवारले खानेपानी ल्याउने आश्वासन दिएका थिए । वर्षामै खडेरी परेपछि २ महिनाअगावै स्थानीयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र प्युठान नगरपालिका कार्यालयमा निवेदन पनि दिएका थिए । तर, नगर प्रमुख अर्जुनकुमार कक्षपतिले पटक–पटक पानी पु¥याउने आश्वासन मात्रै दिने गरेका छन् । उनले नगर कार्यपालिकाको बैठकबाट उक्त बस्तीमा खानेपानीको व्यवस्था गर्ने पुनः अश्वासन दिएका छन् ।

साभार : नयाँपत्रिका दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: