धनकी देवी लक्ष्मी र समृद्धिविहीन नेपाली महिला


प्रकाशित मिति :2017-10-19 11:00:12

-जीवन श्रेष्ठ-

आज लक्ष्मी पूजा । धनकी देवी लक्ष्मीको पूजाआजा गरि लक्ष्मी पूजा मनाइदैछ । तिहार पर्व कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि देखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म मनाइन्छ । पाँच दिनसम्म मनाइने तिहारको पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर तिहार पर्दछ । आज तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौं दिनलाई भाई तिहार भनिन्छ । त्यसैले गर्दा पनि तिहारको पाँच दिनलाई यम पञ्चक भनिन्छ । झिलिमिली, रंगिचंगी तथा विशेष सजावट तिहारको प्रमूख विशेषता हो, जुन लक्ष्मी पूजाको दिन पर्दछ । लक्ष्मीको प्रतिक मानिने गाईको पूजा गरी घरघरमा दीपावली गर्दै लक्ष्मीको पूजा गरिन्छ ।

धनकी देवीको रुपमा माता लक्ष्मीलाई मान्ने गरिन्छ जो महिला हुन । लक्ष्मीको धुमधाम पूजा गरिरहँदा श्रद्धालु भक्तजन नेपाली महिलाको समृद्धिको अवस्थाचाहिँ कस्तो छ ? पूजाको तयारीदेखि पूजा गर्दासम्म समयमा अहोरात्र खटेर काम गर्नुपर्ने महिलाहरूले वास्तवमा कत्तिको आर्थिक सुख पाएका छन् त ? चुलोचौकामा सीमित महिलाहरूलाई यी र यस्ता चाडबाडले साँच्चिकै खुसी थपिन्छ कि बोझ थपिन्छ ? परम्परागत रुपमा चल्दै आएका चाडपर्वले नेपाली महिलामा पारेको सकारात्मक र नकारात्मक प्रभावको मूल्यांकन गर्न जरुरी भइसकेको छ ।

संसारमा नै सवर्दा पुजिने ३ वटा पक्षहरूमा शक्ति, विद्या र सम्पत्तिमा नै हुन् । हामीले मान्दै आएको पुरातन हिन्दु धर्मका अनुसार शक्तिकी देवीको रुपमा दुर्गा, विद्याकी देवीको रुपमा सरस्वती र धनकी देवीका रुपमा लक्ष्मी गरी तीन वटै पक्षको सर्वोच्च देवीहरू महिलाकै स्वरुप हुन् । यद्यपि महिलाहरू शक्तिशालीको सट्टा सहाराविहीन, शिक्षित सट्टा ल्याप्चे र धनीको सट्टा निम्सरो भई जीवनयापन गरी रहनु परेको छ । सामान्य जीवन यापन देखि समृद्ध अवस्थासम्म पुग्नका लागि धन सम्पत्ति अति आवश्यक कुरा हो । हाम्रो जस्तो वर्गीय समाजमा त व्यक्ति मूल्यांकनको सूचक धन नै बन्न पुगेको छ । दैनिक जीवन पायनलाई सहज, सुख र आत्म सम्मान धनले नै बनाउँछ । धनकै अभावमा रातदिन पसिना काढेर खानु परेको छ भने धनको पर्याप्तताले धन धान्य अवस्थामा सुख र विलासीपूर्ण तरिकाले बस्न पाएका छन् । धन नै सुखको पूर्णता नभएपनि एउटा मुख्य आधार भने पक्कै हो ।

लैङ्गिक रुपमा हेर्दा पुरुष धनको मालिक अनि महिला भने त्यहि मालिकको आश्रित रुपमा रहनु परेको छ । यो सन्दर्भ महिलाको सम्पत्तिमा पहुँच वृद्धि भई रहेको वर्तमान समयमा हुबहु नमिले पनि अधिकांश महिलाहरू पुरुषप्रति नै आश्रित छन् । त्यस्तैगरी जातीय रुपमा हेर्दा पनि धनी मध्येमा समग्रमा उपल्लो भनिएका जातिहरू रहेका छन भने जनजाति लगायत विशेष गरी दलित भनिएका जातका मानिसहरू गरिवीको भुमरीमा बाँचेका छन् । साथै राजनीतिक तथा आर्थिक पहुँचमा तिनै धनी व्यक्तिहरूको हालिमुहाली रहेको छ ।

मानव जीवनको महत्वपूर्ण पाटोको रुपमा रहेको धनको वितरण र उपभोगमा महिला र पुरुषबिच किन भिन्नता छ त ? फरक फरक पारिवारिक पृष्ठभूमिमा धनि गरिवको भिन्नता त हुने नै भयो । एउटै परिवारमा पात्र महिला र पुरुषमा पनि घरपरिवारको सबै सम्पत्तिको मालिक पुरुष मात्र हुने गरेको छ । हुन त यो पुरुष प्रधान समाजको विशेषता नै हो । पैत्रिक सम्पत्तिदेखि अन्य सम्पित्ति पुरुषकै नाममा हुन्छन् । अनि त्यो सम्पत्तिको स्याहार सम्भार, सर सफाईको जिम्माचाहिँ महिलाको । यद्यपि धनि परिवारका महिलाहरूले भने त्यस्ता सम्पत्तिहरूको उपभोग गर्न भने पाएका छन् । धनी परिवारका महिलाले सम्पत्तिको उपयोग गर्न मात्र पाउँछन, तर त्यसको स्वमित्व लिन र निर्णय गर्न भने पाँउदैनन् । सम्पत्तिमा धनि परिवारको महिलाको पहुँच पुगे पनि नियन्त्रणको अवस्थामा अझ पुग्न सकेको छैन भने गरीव परिवारका महिलाले उपयोग गर्न त के देख्नसम्म पनि पाउदैनन् ।

पर्याप्त भौतिक सेवा सुविधाले मानव जीवनलाई सहज बनाउँछ । खानेपानी, शौचालय, चुलो, भान्सा कोठा, अन्न कुटानी पिसानीसँग सम्बन्धित सेवा, आधुनिक मेसिन, सामग्री, औजारहरूले खासगरी महिलाहरूले गर्दै अएको दैनिक कामहरूमा सहजता, स्तरीयता र समयको बचतका साथै कार्य बोझमा कमि ल्याउँछ । बल परिश्रम र धेरै समय लाग्ने कामहरू क्षणभरमा नै राम्रोसँग पूरा गर्न सकिन्छ । तर यि सेवा सुविधा पाउनका लागि पनि राम्रो आय आर्जन त चाहियो नै । तसर्थ यस्ता सेवा सुविधा त्यस्ता महिलाहरूले उपभोग गर्न पाउँदछन्, जोसँग उपयुक्त आय आर्जनका बाटाहरू छन् । सामान्य रिबन, धागो, चिम्टी जस्ता सामान किन्नसम्म श्रीमान्को आदेशले मात्र किन्न पाउने गरेका महिलाहरूले त यस्ता सुविधाजनक सामानहरू सम्झिने मात्र हो ।

देवी मध्ये धनकी देवी लक्ष्मीलाई पूजा गर्ने पर्व लक्ष्मी पूजाको अर्को पक्ष भनेको मनोरञ्जन हो । घर आँगन कोठा झिलिमिली र साँझ पखको दिपावलीले लक्ष्मी पूजाको दिनको झन् महत्व थपेको छ । यी चाडहरूले मनोरञ्जन त दिन्छ तर समाजको कुन पक्ष यस्तो मनोरञ्जनको बढि हकदार बन्छ ? चाडबाडको मनोरञ्जनात्मक पक्षलाई जोड दिइरहँदा महिलाले यसलाई कसरी आत्मसात गर्न पाएका हुन्छन् ? यस प्रश्नबाट आउने जवाफ भने महिलामैत्री हुन सकेको छैन । जुनसुकै चाड हुन ती प्रत्यक्ष रुपले महिलाको ढाड दुखाइको विषय बन्न पुग्दछ । चाडबाड आयो कि महिलाको जिम्मेवारी दोबर बढ्न जान्छ । घरभित्र वा बाहिर दुबैतिर उनीहरू व्यस्त रहन्छन् । थोरै पैसामा कसरी किफायत गर्ने, मिठो खानाको परिकार तयार गर्ने र परिवारलाई रमाइलो वातावरण प्रदान गर्ने भन्ने विषयमा उनीहरूको सुझबुझ रहन्छ र यसैको व्यवस्थापनमा व्यस्त हुन्छन् महिलाहरू ।

यसरी परिवारलाई रमणीय वातावरण बनाइरहँदा के उनीहरू पनि रमाउन पाएका हुन्छन ? के यो दृष्टिकोणबाट हेरिने गरिएको छ ? यसरी बिरलै हेरिन्छ । अवश्य पनि महिला परिवार भित्र खुसी दिने र सुख बाँड्ने कोटीमा पर्दछन् । उनीहरू आफूले लिने र पाउने भन्दा अरुलाई दिने कुरामा ध्यान केन्द्रित रहन्छन् । परिवारजन खुसी हुनु नै आफू खुसी हुनुमा समर्पित हुन्छिन् । आफ्नै घरका छोरी, बुहारी, आमाको व्यस्ततालाई बुझेर उनीहरूको दुःखलाई सजिलो बनाउने प्रयास गरिएमा हामीले मनाउने जुनसुकै चाड र त्यसबाट पाइने खुसीयालीको मात्रा दोब्बर बनाउन सकिन्थ्यो । हामीले आफ्नै घरबाट महिलाका कार्य बोझलाई घटाउने र कामलाई सरलीकरण गर्ने उपायहरू अवलम्बनगर्न सक्नुपर्छ । यस कुरामा ध्यान पु¥याउन सकेमा पनि चाडबाडको रौनक बढ्छ र विभिन्न विसंगतिहरू पनि कम हुन्छ ।

वैदिक कालदेखि नै धनकी देवीका रुपमा लक्ष्मीलाई पुज्ने गरिएता पनि नेपाली महिलाहरू अझ पनि गरिबीको भुमरीमा रुमल्ली रहेका छन् । भएका स्रोत साधनहरूमा पनि पुरुषको स्वामित्व तथा नियन्त्रणमा रहिरहँदा महिला उपभोगको पात्र मात्र भएका छन् । दशै, तिहार जस्ता चाडले महिलामा बढेको कार्यबोझले महिलाको स्वास्थ्य तथा आत्म सम्मानमा आँच पु¥याएको छ । तसर्थ धनकी देवी लक्ष्मी जस्तै अब सम्पूर्ण नेपाली महिलाहरूलाई पनि समृद्धिकी देवी बनाउने तर्फ लाग्ने बेला भएको छ ।
लेखक जेण्डर मास्टर प्रशिक्षक हुनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: