हजारौं दाजुभाइकी एक्ली दिदीबहिनी


प्रकाशित मिति :2017-10-20 10:51:01

-सन्दिप बिक-

काठमाडौं । दुई दिन अघि काठमाडौंको ताहचलमा रहेको अञ्जली देवी मास्केको घरमा पुग्दा उनी भाइटीकाको तयारीमा व्यस्त थिइन् ।

कुराकानीका क्रममा कतिबेला उनी मिठाइ मिलाउँथिन् त कहिले माला उन्न लाग्थिन् । उनको मुहार प्रशन्न थियो । कुराकानीमा कहिँ कतै कसैप्रति गुनासो थिएन । उनीसँग थियो त केवल खुसी अनि प्रशन्नता ।

प्रत्येक वर्ष दशैं सकिनेबित्तिकै उनलाई तिहारको चटारो पर्छ । ‘सबैभन्दा भाइटिकाका लागि चाहिने मुख्य टीका र माला त हो । त्यसमध्ये जजंका म आफै बनाउँछु । जुन धागोको मालामा ८ वटा कपडाका टुक्रा राखेर अष्ट भैरवको नाम बनाइन्छ । त्यो मेरो आफ्नै हातबाट बनाएर लगाइदिन्छु । अहिले त्यो पनि तयार गर्दैछु’ उनले भनिन् ।

७२ वर्षको पाको उमेरमा पनि उनमा तिहारको रौनक भने घटेको छैन् ।  मास्केको यो १९ औँ सामुहिक भाइटिका हो  । भाइटिका नै उनको सबैभन्दा खुसीको क्षण हो ।

मास्केले २०५५ सालदेखि सामूहिक भाइटीका लगाउन सुरु गरिन्  । अहिलेसम्म निरन्तरता दिइरहेकी छिन् । सुरुवातका वर्ष आएपनि नआएपनि निधार खाली भएका दाजुभाइलाई टीका लगाउँछु भन्ने संकल्प गरेकी थिइन् । दिदीबहिनी नभएका दाजुभाई आउँछन् भन्ने उनको विश्वास थियो । प्रचार प्रसार केही गरेकी थिइनन् । तर, धेरै दाजुभाइ आए, टीका लगाउनका लागि ।

यस वर्ष पनि विराटनगर लगायत देशका विभिन्न ठाउँबाट दाजुभाइले फोन गरिसकेको उनले बताइन् । प्रत्येक वर्ष भाइटिकाको दिन उनी टीका, माला र मिठाइ सहित काठमाडौंको काष्ठमण्डमा पुग्छिन् । र दिदीबहिनी नहुने दाजुभाइहरूलाई टीका लगाउछिन् । मास्केसँग टीका लगाउन दिदीबहिनी नहुने सबै बर्ग तथा समुदायका दाजुभाइ आउने गरेको बताइन् ।

उनको हातबाट टीका लगाउन पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका उच्च पदस्थ व्यक्तिहरू समेत आउने गरेका छन् ।

गत वर्ष २ सय ८ जनालाई टीका लगाएकी उनले यो वर्ष पनि त्यो  भन्दा बढीलाई टीका लगाउने योजना बनाएकी छिन् ।

२०७२ सालको भुकम्पपछि दुई वर्ष बितिसक्दा पनि काष्ठमण्डप पुन ःनिर्माण नभएकोमा भने उनलाई चिन्ता छ ।

उनी भन्छिन्, ‘अहिले काष्ठमण्डपभित्र टीका लगाउन सम्भव छैन । दाजुभाइहरू एक आपसमा नमिल्दा नै यस्तो भएको हो । काष्ठमण्डप नबन्दा धेरै दुःख भयो ।’

अञ्जली यो वर्ष पनि गत वर्ष झैँ पाल टाँगेरै मण्डप बनाउने तयारीमा छन् । उनले आठ वर्षअघि आफ्ना सहोदर एक मात्र दाजु गुमाइसकेकी छिन् । दाजु नहुँदाको पीडा त हुने नै भने तर, भावनाको सम्बन्धका हजारौं दाजुभाई बनाइसकेकी उनलाई भाइटिकाको दिन दाजुको अभाव महसुस हुन भने पाउदैन । ‘यतिका धेरै दाजुभाई हुनुहुन्छ । धेरै दाजुभाइकी चेली हुन पाउदा आफूलाई गर्व लाग्छ’ उनले भनिन्, ‘तिहार दाजुभाई दिदीबहिनीको महत्वपूर्ण चाड हो ।  अझ भाइटिकाको विशेष महत्व छ । सम्बन्ध बाँचुन्जेल सम्मका लागि मात्रै त हो नि’ उनले भावुक हुदै भनिन् ।

अञ्जलीका लागि टीका लगाउन आउने सबै दाजुभाइ सबैलाई समान छन् । ‘सबैप्रति मेरो सम्मान समान छ’ उनले भनिन्, ‘सबैलाई समान सोच्छु । मेरो लागि सबै बराबर छन् । पद र पैसामा कोही ठुलो सानो होलान् । मलाई त्यो कुराकोे मतलब छैन ।’

उनले कुनै पनि काम गर्दा मन फुकाएर यो काम गर्छु भनेर अठोट गर्नुपर्ने बताइन् ।  भनिन्, ‘सुरुवात देखि सामुहिक भाइटिका लगाउछु भन्ने नसोचेको भए र नगरेको भए आज हुँदैनन्थ्यो होला ।’ त्यसैले हरेक सकारात्मक काम सुरु गरिहाल्नुु पर्ने उनको धारणा रहेछ ।

भाइटिका परम्परादेखि मानिदै आएको र यस्तो सँस्कृतिलाई छोड्न नहुने भन्दै यसको संरक्षण गर्नुपर्ने अञ्जली बताउछिन् । भन्छिन्,‘यो पर्वले दाजुभाई र दिदीबहिनी हुनुको महत्व झल्काउछ । सम्बन्धको आवश्यकता महसुस गराउछ । मान्नु पर्छ यस्ता पर्व ।’

आफ्नो हातबाट टीका लगाउने दाजुभाइहरूले पछि भेटहुँदा पनि आफ्नै घरपरिवारको सदस्य जस्तो व्यवहार गर्ने गरेको बताइन् । कतिपयले घरमा आउनका लागि निम्तो पठाउछन् । कोही दशैंमा टीका लगाउन पनि आउछन् । फोनमा पनि कुरा हुन्छ ।

‘सम्बन्ध राख्नु नै एउटा माया त हो । मायामा नै यो संसार चलेको छ । बिना माया हामी संसारमा बाँच्न सक्दैनौ’ उनले भनिन् ।

१८ वर्षदेखि सामुहिक टीका लगाउँदै आएकी मास्केले टीका लगाएबापत कोहीसँग पनि दक्षिणा लिदिनन् । खर्चको सबै व्यवस्था आफैँ गर्छिन् ।
‘दाजुभाइलाई आर्शिवाद लिने र दिने हो । उहाँहरूको माया चाहन्छु । कोसेली लिएर मात्रै माया बढ्ने होइन्’ उनले भाइटिकामा दाजुभाइले दिदीबहिनीलाई दिनै पर्ने दक्षिणाको प्रसंगमा भनिन् ।

अहिले कति दाजुभाइ दिदीबहिनीमा घरायसी विवादले सम्बन्ध बिग्रेको अवस्था पनि छ । त्यसलाई बिर्सिएर सम्बन्धलाई मजबुद बनाउनुपर्ने उनले बताइन् ।

उनले आफूले यतिका दाजुभाइलाई टीका लगाउन पाउदा खुसी लाग्ने बताइन् । भनिन्, ‘यतिका दाजुभाइको दिदी बन्नु, बहिनी बन्न पाउनु अहोभाग्य हो । म आफूलाई भाग्यमानी ठान्छु ।’

उनी टीका लगाउन आउने सबै दाजुभाइलाई चिन्दिनन् । तर, नचिनेपनि मनैदेखि आर्शिवाद दिन्छिन् । दिदीबहिनीको महत्व बुझ्नेहरू मात्रै टीका लगाउन आउने हुन् भन्ने लाग्छ । अनि रगतको सम्बन्धमा दिदीबहिनी नहुने र भौतिक रुपमा दिदीबहिनीबाट टाढा हुने दाजुभाइहरू नै भावनाको सम्बन्ध बनाउन चाहन्छन र दिदीबहिनी बनाउन चाहन्छन । ‘त्यसैले सबैको राम्रो होस्, निरोगी रहुन् । कहिल्यै दुख कष्ट नपरोस् । यस्तै आर्शिवाद दिन्छु’ उनले भनिन् ।

मास्के अन्य सामाजिक कार्यमा समेत सकृय छिन् । आपत विपतमा परेका व्यक्तिलाई पनि उनी सहयोग गछिन् । २२ वर्ष पहिले वीर अस्पतालमा रहेका वेवारिसेहरूलाई सहयोग गरेको उनले सम्झिइन् ।

‘त्यो बेलाको वीर अस्पताल अहिलेको जस्तो कहाँ थियो र । धेरै वेवारिसे मान्छेहरू औषधि उपचार नपाएर अस्पतालमै मिल्किरहेका हुन्थ्ये । तिनीहरूको धेरै वर्ष सहयोग गरे’ उनले भनिन् ।

अञ्जलीले रेडक्रसमा पनि पहिलेदेखि काम गरिन् । अहिले पनि कहीँ कतै कसैलाई  पर्यो भने हरेक ठाउँमा लागिरहेकी हुन्छिन् । अरुलाई सहयोग गर्न पाउदा खुसी मिल्ने उनले बताइन्।

मान्छेले हाँसि खुसीका साथ जीवन बाँच्नुपर्ने उनको विचार छ । उनी भन्छिन्,  ‘हाँसेर बाँचु । कसैलाई दुःख नदिउँ । सेतो, पहेँलो लुगा लगाउँदैमा कोही पवित्र हुने होइन् । पवित्र मन हुनुपर्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: