-सर्मिला बुढाथोकी-
दोलखा । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि दोलखा जिल्लामा बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४० जनाले मनोनयन दर्ता गरेकोमा एक जनामात्र महिलाको उम्मेदवारी परेको छ ।
प्रदेश सभा निर्वाचनको लागि दोलखा क्षेत्र नम्बर १ मा बृहस्पती गोलेले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गरेकी छन् । दोलखा जिल्लामा प्रतिनिधि सभा तर्फ एक निर्वाचन क्षेत्रको लागि बिभिन्न १५ राजनीतिक दलको तर्फबाट १५ जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ मा बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १२ जना तथा क्षेत्र नम्बर २ मा १३ जनाले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश सभाको लागि स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको एकमात्र महिला उम्मेदवार बृहस्पती गोलेले प्रमुख राजनीतिक दलहरुले महिलालाई उपेक्षा गरेको कारण आफुले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको बताईन ।
आफ्नो उम्मेदवारीले महिलालाई राजनीतिमा सक्रिय रहन र राजनीतिक अधिकार खोज्न समेत बल मिल्ने गोलेको भनाई छ ।
दोलखा मेलुङ गाँउपालिका वडा नम्बर ४ भेड्पु निवासी ४० बर्षिय बृहस्पती गोले राजनीतिक रुपमा आफ्नो आस्था नेपाली कांग्रेसमा रहेको बताउछिन् । महिला विकास कार्यालय लगाएत बिभिन्न संघ संस्था मार्फत १७ बर्ष देखि महिला अधिकार को विषयमा प्रशिक्षण दिने, चेतना मूलक अभियान सञ्चालन गर्ने काममा सक्रिय गोलेले एसएलसीसम्मको अध्यन गर्नु भएको छ ।
कानुनले प्रदान गरेको महिला अधिकार बहाली गराउन राजनीतिक रुपमा समेत महिलाको सक्रियता आवश्यक हुने महसुस गरी आफुले प्रदेश सभामा मनोनयन दर्ता गरेको र आफ्नो पक्षमा जनमत रहने अपेक्षा आफुले गरेको गोलेको भनाई छ ।
Comment Here!