विदुर आचार्य\महिला खबर
हेलम्वु (सिन्धुपाल्चोक) । इचोककी गंगा तामाङ आफ्ना छ जना भाईवहिनीसँगै गाउँकै नारायण आधारभूत विद्यालयमा पढ्छिन् । सामान्य आर्थिक अवस्था रहेको उनका आमाबुबालाई ६ जना छोराछोरी विद्यालय पढाउनै धौ–धौ थियो । भर्खर ८ कक्षा उत्रिण गरेकी गंगालाई अब आफ्नो पढाई अगाडी बढाउन केही राहत मिलेको छ ।
विद्यालय छोड्ने दर अत्यधिक रहेको यो ठाउँमा गंगाले भने अब आफ्नो पढाई निरन्तर अगाडी बढाउने हिम्मत जुटाएकी छन् । उनलाई यो हिम्मत छात्रवृत्ति रकम र शैक्षिक सामग्री पाएपछि जुटेको हो ।
टीम नेपालको सहयोगमा परिवर्तका लागि सहकार्य नेपालले जिल्लाको विकट तथा दुर्गम क्षेत्र मानिने इचोकका ४२ जना स्कुले बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने कार्यक्रममा छात्रवृत्ति बुझ्दै गंगाले नियमित स्कुल पढ्न प्रतिवद्धता गरिन् ।
बुधवार एक कार्यक्रमकाबिच छात्रवृत्तिको शैक्षिक सामग्री वितरण गरिएको थियो । हेलम्वु गाउँपालिका ६ को नारायण आधारभूत विद्याालयका ४२ बालबालिकालाई प्रति व्यक्ति ३ हजारको शैक्षिक सामग्री वितरण गरिएको हो ।
इचोकमा विद्यालय छोडी वैदेशिक रोजगारीमा जाने बालबालिकाको संख्या धेरै भएको खबर पाएपछि उनीहरुलाई पढ्न प्रोत्साहित गर्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको संस्थाले जनाएको छ ।
‘यो क्षेत्रका बालबालिकाले आफ्नो अध्ययन पुरा गरुन् भन्ने उद्देश्यले सहयोग सुरु गरेका हौँ’ परिवर्तका लागि सहकार्य नेपालकी अध्यक्ष इन्दिरा घलेले भनिन्, ‘स्नातक तहसम्मको अध्ययन गरुन्जेल निरन्तर सहयोग जुटाउने छौँ ।’ अध्यक्ष घलले हरेक महिना प्रति विद्यार्थी एक हजारका दरले सहयोग गर्दै आएको पनि महिला खबरलाई जानकारी दिइन् ।
यस अघिसम्म मासिक रुपमा नगद र विद्यालय पोसाक दिदै आएको संस्थाले बुधवार १२ औँ पटकमा छात्रवृत्ति स्वरुप शैक्षिक सामाग्री वितरण गरेको पनि अध्यक्ष घलेको भनाइ छ ।
छात्रवृत्ति वितरण कार्यक्रममा संस्थाले विद्यालयलाई एक थान ल्याप्टप र खेलकुद सामग्री सहयोग समेत प्रदान गरेको छ । उक्त कार्यक्रममा सहयोगी संस्थाका प्रतिनिधी तथा अमेरिकी नागरिक करुणाले विद्यालयलाई थप १५ वटा कम्यूटर दिने प्रतिवद्धता व्यक्त गरिन् ।
Comment Here!