बालविवाहको प्रयास, कानुन नहुँदा कार्वाही भएन


प्रकाशित मिति :2017-10-27 13:53:40

खेमा बस्नेत\महिला खबर

काठमाडौं । मुलुकी ऐनको नयाँ व्यवस्थामा महिला तथा पुरुष दुवैको लागि विवाह गर्ने उमेर २० वर्ष हुनुपर्ने उल्लेख छ । तर, नेपालमा कानुनलाई नै चुनौती दिदै बालविवाह भइरहेका छन् ।

सिराहाको लाहानस्थित नयाँ बजारकी १४ वर्षीया बालिका सबिला खातुनको यसै हप्ता भारत बिहारका ३० वर्षिय मोहम्मद आशिफ एकवालसँग हुन लागेको विवाह प्रहरीले रोक्यो ।

स्थानीय मेरी चिल्ड्रेन एकेडेमीमा ७ कक्षामा अध्ययनरत बालिकाको आफ्नै अभिभावकले उनी भन्दा १६ वर्ष जेठा व्यक्तिसँग विवाह गर्दै थिए । विवाहको महत्व नै नबुझ्ने उमेरकी सबिलाको शिक्षा, स्वास्थ्य, रोजगार र स्वतन्त्रता हडपेर आफ्नै आमा अमिना खातुन र बुबा मोहम्मद ताहिर अन्सारी चुरा, पोते, सिन्दुर लगायतका लगाम उपहारको साथमा छोरीलाई पराइको हात सुम्पिन आतुर थिए । तर संयोग नै मान्नुपर्छ सबिला त्यो जंजिरमा फस्नबाट उम्किइन् । एक सचेत नागरिकले बालिकाको विवाह हुन लागेको सूचना गोप्य रुपमा प्रहरीलाई दिएपछि प्रहरीले विवाह हुन दिएन ।

सबिलाका आमा बुबा शिक्षित र राजनीतिज्ञ रहेको बुझिएको छ । बालविवाह अपराध  हो भन्ने चेतनाको बिगुल फुक्नुपर्ने व्यक्ति उल्टै आफ्नै छोरीमाथि अपराध गर्न तयार रहेको घटना यतिबेला सर्वत्र आलोचनाको विषय बनिरहेको छ ।

सामाजिक सुधार ऐनलाई पनि चुनौती

यतिमात्र होइन अमिना खातुन र मोहम्मद ताहिर अन्सारीले सामाजिक सुधार ऐनलाई पनि चुनौती दिए । उनीहरू ५० लाख भन्दा बढी खर्च गर्दै आफू सम्पन्न भएको कुरा समाजमा प्रदर्शन गर्न समेत पछि हटेनन् । लाखौ खर्च गरेर बालिका छोरीलाई विवाह गरिदिने दुस्साहस गरेका शिक्षित बुबाआमाले एक रत्ती पनि सोचेनन् छोरीको विवाहमा लाग्ने त्यो पैसा छोरीको भविष्यको लागि खर्च गर्नुपर्छ भनेर ।

सामाजिक व्यवहार सुधार ऐनमा दुलहीको शरीरमा लगाएको बाहेक बढीमा १० हजारसम्म मात्र दाइजो दिन सकिने व्यवस्था छ ।

स्थानीय तह निर्वाचनमा लाहान नगरपालिकाबाट उपमेयरकी उम्मेदवार समेत रहेकी बालिकाकी आमा अमिना समाजमा विद्यमान दाईजो प्रथा र बालविवाह रोक्ने एजेण्डा लिएर भोट माग्दै हिडेकी थिईन् । तर आफ्नै बालिका छोरीको विवाह गर्न उनले लाखौ रुपियाँ खर्च गरिन् । उनको यो दोहोरो चरित्रले समाज सुधारका लागि राम्रो काम गरिरहेका मान्छेहरू प्रति समेत अविश्वास जन्माइदिएको छ ।

सोमबार राती प्रहरीले ति बालिकाको बिहे त रोक्यो । तर कानुनलाई चुनौती दिदै समाजमा शिक्षित र प्रतिष्ठित मानिने अभिभावक र भोज खान आउने जन्तीहरूलाई कुनै कानुनी कार्वाही हुन सकेको छैन । विवाह रोकिएपछि भारतबाट सयौंको संख्यामा आएका जन्ती त फिर्ता भए तर विवाहको समर्थन दिने, सहभागि हुने, ऐक्यवद्धता जनाउनेहरू भने खुलेआम हिडिरहेका छन् । यसले कानुनकै धज्जी उडेको आभास आम नागरिकले गरिरहेका छन् ।

एउटा बालिकाको बाल अधिकार हनन् गर्न तयार अभिभावकलाई सामान्य छलफल गरेर प्रहरीले छोडिदियो । किनभने उनीहरू माथि थप कार्वाहीको व्यवस्था बारे नेपालको कानुन मौन छ ।

यसबारे इलाका प्रहरी कार्यालय लाहानका प्रमुख नरेशराज सुवेदी विवाह नै नभएको हुनाले सामान्य छलफलपछि बालिकाको बुबालाई छाडिदिएको बताउछन् । बेहुला जन्ती लिएर फर्किएको उनले बताए । विवाह भैसकेको भए मात्र अभिभावलाई कानुनी कार्वाही हुने तर विवाह नै नभएको घटनामा भने कुनै कार्वाही गर्न नमिल्ने उनले बताए ।

बालविवाह सम्बन्धी बनेको नयाँ ऐनले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाह कानुनी रुपमा दण्डनीय मानेको छ । साथै यस्तो विवाह गरेमा गैरकानुनी हुने भएकोले स्वत वदर हुने र कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था गरेको अधिवक्ता शशी बस्नेतले बताइन् ।

अधिवक्ता बस्नेतका अनुसार कानुनले बालविवाह प्रयास गर्नेलाई सजाय बारे नबोल्दा बालविवाह प्रयास गर्ने व्यक्तिलाई कुनै कानुनी कार्वाही हुन नसकेको बताइन् । ‘बालविवाहको प्रयास गर्ने व्यक्तिलाई के कार्वाही हुन्छ त ? भन्ने कुरा कानुनले नै बोलेको छैन’ उनले प्रष्ट्याइन् । त्यसकारण पनि सबिलाको जस्तो घटनामा अपराध गर्न तम्सिने अभिभावकहरूले उन्मुक्ति पाइरहेका छन् ।

वि.स. २०६८ को जनगणना अनुसार नेपालमा एक लाख ३८ हजार मध्ये १५ जना बालबालिकाको १० वर्ष नपुग्दै विवाह भएको देखिन्छ । त्यसमध्ये पनि एक लाख १५ हजार १ सय ५० बालिका रहेको तथ्यांकले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११ (ल्म्ज्क्–द्दण्ज्ञज्ञ) ले नेपालमा २० वर्षदेखि २४ वर्ष उमेर समुहका ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष पुग्न अगाडि नै हुने गरेकोे उल्लेख गरेको छ ।

युनिसेफले प्रकाशित गरेको सन् २०१६ को तथ्यांक अनुसार नेपालमा ३७ प्रतिशत बालिका १८ वर्षभन्दा कम उमेरमा विवाह गर्छन् । यसैगरी १० प्रतिशत बालिका १५ वर्ष भन्दा कम उमेरमा विवाह गर्छन् ।

३ वर्षमा ७१ बालविवाह

नेपाल प्रहरीका अनुसार नेपालमा तीन वर्षको अवधिका ७१ बालविवाह भएका छन् । प्रहरीका अनुसार आ.व ०७१÷७२ मा २३, ०७२÷७३ मा १८ र ०७३÷७४ मा २५ बालविवाह भएको बताएको छ । प्रहरीको यो तथ्यांकले बालविवाह हुने क्रम बढ्दो अवस्थामा देखिन्छ । यसमा पनि प्रहरीसम्म नपुग्ने धेरै बालविवाह समाजमा छन् ।

नेपाल बाल विवाह गर्ने दक्षिण एशियाली मुलुकका प्रमुख देशहरू मध्ये बंगलादेश र भारत पछि तेस्रो स्थानमा पर्दछ । नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्न राष्ट्रिय रणनीति बनाई कार्यान्वयनमा पनि ल्याएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: