सर्मिला बुढाथोकी\महिला खबर
दोलखा।भीमेश्वर नगरपालिका वडा नम्बर–२ कि माईली तमाङ (करिष्मा) प्रस्तावित चरिकोट अस्पतालको सर्जिकल वार्डको २ नम्बर बेडमा घर जान पाउने भएपछि खुसीका आँसु झार्दै थिईन् ।
उमेर २६ बर्ष भए पनि ८-९ बर्षको वालिकाको जस्तै व्यवहार देखाउने सुस्त मनस्थिति अवस्थाकी माईलीलाई पेट दुखेर अस्पतालमा उपचारका लागि ल्याएको र उनको पेटबाट २ किलोको ट्युमर निकालिएको माईलीकी आमा (संरक्षक) देवकी खड्काले बताईन् ।
१७ बर्ष अघि बेवारिसे अवस्थामा भीमेश्वर मन्दिर जाने बाटोमा भेटिएकी माईलीलाई पेट दुखिरहने समस्या थियो । उच्छृङखल काम गर्ने, धेरै मानिस भएको ठाउँमा नबस्ने गरेकी उनलाई ज्वरो आइरहने समस्या पनि थियो देवीले भनिन् ‘गएको मंगलबार पेट धेरै दुखेपछि अस्पताल ल्याएँ । डाक्टरले ट्युमर देखिएकोले शल्यक्रिया गर्नुपर्छ भनेपछि शल्यक्रियाबाट ट्युमर निकालियो । ‘यति ठुलो (दुई किलोको) ट्युमर पेटमा रहेछ र पो यसलाई सधै पेट दुख्दो रहेछ’ अप्रेशनपछि माईलीसंग खुसी देखिएकी देवकीले भनिन् ।
माईलीको तीन ओटा रोगलाई आधार मानेर उपचार गरेको प्रस्तावित चरिकोट अस्पतालका मेडिकल डाईरेक्टर विनोद दंगालले बताए । डाक्टर दंगालका अनुसार माईलीको मेन्टल रिटारर्डेशन (बृद्धि विकास नभएको), रक्तअल्पता र टुयुमरको समस्या थियो । पेट सुन्नेको अवस्थामा उपचार गराउन आएकी माईलीको पाठेघरको अण्डाशयमा पानी समेत भरिएको डाक्टर दंगालले बताए ।
‘यो एकदम जटिल शल्यक्रिया हो । माईलीको उमेर सानै भएकाले अण्डा जसरी पनि बचाउनु पर्ने भएकाले यसलाई विशेष शल्यक्रिया गरियो’ डा दंगालले भने । जटिल हुँदाहुदै पनि माईलीको अवस्थालाई हेरेर उपचार गरिएको उनले बताए । माइलीको अन्य धेरै समस्या रहेकोले थप उपचार गर्नुपर्ने भएकोले केहि समस्या रहेको देवकीको भनाई छ ।
Comment Here!