-महिला खबर-
काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाे लागि प्रदेश नम्बर ७ मा प्रमुख दलहरुले प्रत्यक्षतर्फ छ जना महिलालाई उम्मेदवार बनाएका छन् ।
प्रदेश नम्बर ७ मा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ सिट गरी ४८ रहेकाेमा दलहरुले छ जना महिलाहरुलाइ उम्मेदवार बनाउन नाम टुंगो लगाएका हुन् । यद्यपि, दलहरुले सबै क्षेत्रकाे उम्मेदवार छनाेट गर्न बाँकी छ । प्रत्यक्षतर्फ धेरै महिला आकांक्षी भएपनि कांग्रेस, एमालेले र माओवादी केन्द्रले प्रतिनिधि तीन र प्रदेशसभाको निर्वाचनमा तीन गरी छ जना महिलाको उम्मेदवारी घोषणा गरेका हुन् ।

डा.आरजु राणा, मदनकुमारी शाह (गरिमा) र बीना मगर
प्रतिनिधि सभाका लागि कांग्रेस कैलाली क्षेत्र नम्बर ५ मा डा.आरजु राणा,क्षेत्र नम्बर १ मा एमालेका केन्द्रीय सदस्य मदनकुमारी शाह (गरिमा)र कञ्चनपुरको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले बीना मगरलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी प्रदेश सभा तर्फ दलहरुले अहिलेसम्म तीन जना महिलालाई मात्रै उम्मेदवार बनाएका छन् ।
एमालेले कञ्चनपुर क्षेत्र नम्बर –१ को (क) क्षेत्रमा मर्यादा विष्ट उम्मेदवार बनाएको छ । पहिलो चरणमा हुने प्रदेशसभाका लागि कांग्रेसले बझाङ (क) क्षेत्रबाट चन्द्रादेवी जोशीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी वाम गठबन्धनको तर्फबाट बझाङ (ख) क्षेत्रबाट माओवादी केन्द्रले देवकी मल्ललाई उम्मेदवार वनाएको छ ।
प्रदेश नम्बर ७ मा धेरै महिला प्रत्यक्षतर्फ आकांक्षी भएपनि सिफारिसमा समेत नपरेको महिला नेताहरुले गुनासो गरेका छन् ।
कैलालीमा कमला ओली,कलावती जोशी र सानु साउद एमालेबाट प्रत्यक्ष तर्फ आकांक्षी महिला हुन् भने जयन्ती पौडेलको नाम जिल्लाबाट सिफारिसमा परेपनि केन्द्रले सिरफारिस गरेन ।
Comment Here!