सर्मिला बुढाथोकी\महिला खबर
दोलखा । दोलखा मेलुङ गाउँपालिका वडा नम्बर १ मेलुङकी रजिता नगरकोटी १५ बर्ष पुगिन् । महिनावारी बारे जानकारी नराख्दा उनले झण्डै ज्यान गुमाउनु परेन ।
अत्यधिक रक्तश्राव भएपछि बुधबार सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पताल भर्ना गरिएकी रजिताले भनिन् ‘महिनावारी हुँदा ठुलै समस्या पनि हुन सक्छ भन्ने ज्ञान नहुदा यस्तो पीडा खेप्नु प¥यो ।’ उनले थपिन् ‘पहिलो पटक महिनावारी हुँदा दाइ, भाइ, बुवाको मुख हेर्नु हुदैन, आफु जन्मेको घरको धुरी पनि हेर्नु हुदैन भनेर मलाई आमाले हजुरबुबाकोमा बस भनेर पठाउनुभयो । मलार्ई धेरै पेट दुखेर रगत बगेको थियो, अरुको घरमा केही पनि छुन हुदैन भने, धेरै गाह्रो भयो ।’ त्यतिबेला भोक लाग्दा बारीको बदाम खोतलेर खाएको उनले सुनाईन् ।
पहिलो पटक रजस्वला भएर अरुको घरमा पाँच दिन बिताएकी रजितालाई महिनावारी सामान्य हो भन्ने लाग्यो । यसपालिको भाइटिकाको दिन महिनावारी भएकी उनी पाँच दिनपछि घर फर्किन् । घर फर्किएकै दिनदेखि अत्यधिक रक्तश्राव भएपनि कसैले वास्ता गरेनन् । उनले पनि लाजले आफ्नो समस्या सुनाइनन् ।
‘महिनावारी हुँदा रगत बग्नुलाई सामान्य मानेर वास्ता गरेनौं’ रजिताकी आमा रिताले भनिन् ‘अचेत (फिट) भएर ढलेपछिमात्र समस्या थाहा पाएर स्वास्थ्य चौकी लग्यौ ।’ उनी भन्छिन् ‘गाउँको स्वास्थ्यकर्मीले रगत धेरै बगेकाले रगत दिनुपर्छ भनेपछि सदरमुकाम आएका हौँ । स्वास्थ्य चौकी लान केही समय ढिला भएको भए छोरीको ज्यान जान सक्नेरहेछ भन्दै उनी सुरुमै वास्ता नगरेकोमा पछुताइन् ।
आफुले परम्परागत संस्कारलाई आधार मानेर छोरीलाई अरुको घर पठाएकोले यस्तो समस्या भोग्नु परेको उनी बताउछिन् । महिनावारी हुँदा बार्नु पर्ने चलन गलत हो भन्ने थाहा पाए पनि समाजका सबैले नबारेको थाहा पायो भने घृणा गर्छन् भन्ने डरले छोरीलाई आफन्तको घरमा पठाएको उनको भनाई छ ।
रजितालाई अस्पतालले अझैं तिन दिन अस्पतालमै बस्नुपर्ने सल्लाह दिएको उनकी आमाले बताइन् ।
पोसिबल हेल्थ नेपालकी पार्टनरशीप म्यानेजर तथा लैङ्गिक समानता समितिकी सदस्य शुभेच्छा पौडेल महिनावारी हुँदा छुट्टै बस्ने गोठ नभए पनि दोलखा लगायत केही ठाउँमा मानसिक छाउ प्रथा प्रचलनमा रहेको बतउँछिन् ।

अस्पतालमा आमा रितासंग रजिता
पश्चिमतिर देखिने गरी छाउ गोठ हुन्छ तर कतिपय ठाउँमा किशोरीहरूले कोठाभित्र छाउगोठ भन्दा कठिन दिन बिताउनु पर्ने बाध्यता रहेको पौडेलको भनाई छ । पौडेल भन्छिन् ‘संस्कारको नाममा जुनसुकै बर्गका महिलाहरूले महिनावारी वार्नुपर्ने अवस्थाले महिला माथि हिंसा भएको छ ।’
प्रस्तावित चरिकोट अस्पतालका मेडिकल डाईरेक्टर विनोद दंगाल चेतनाको अभावले महिनावारी हुँदा ख्याल नगर्ने समस्या रहेको बताउँछन् । डा. दंगालका अनुसार महिनावारी नियमित प्रक्रिया भएपनि कतिपयलाई समस्या हुने बताउछन् ।
महिनावारी भएको बेला फोहोर रगत बग्छ, धार्मिक कार्य गर्नु हुदैन भन्ने मानव निर्मित संस्कारको अन्त्य गर्नु आवश्यक रहेको डाक्टर दंगालको भनाइ छ ।
Comment Here!